एमाले सप्तरी अध्यक्षमा चौधरी
राजविराज : नेकपा (एमाले)सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी चयन भएका छन्। नवौं जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा सर्वसम्मत १३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष चौधरी दोस्रो संविधानसभामा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित संविधान सभा सदस्य हुन्। नेकपा विभाजित भएपछि ०७८ वैशाख २२ गतेदेखि चौधरीलाई जिल्ला कमिटीको संयोजक बनाइएको थियो।
सप्तरीको राजविराजमा उद्घाटन र अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित ग्रिन गार्डेन होटल सीतापुरमा सम्पन्न बन्दसत्रले आठ महिना अघि गठित जिल्ला समन्वय समितिकै अधिकांश अनुहारलाई दोहोर्याएको छ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य रहेका छन् । उनीहरु यसअघि गठन गरिएको समन्वय समितिमा पनि सोही पदमा थिए। सचिव यादव रामबहादुर थापासँगै माओवादीबाट एमाले बनेका हुन् ।
सदस्यहरुमा एमाले आठौ जिल्ला अधिवेशनबाट निर्वाचित भई एमालेमा टिकिरहेकाहरुले प्राथमिकता पाएका छन्। बृजनारायण साह, बिन्दी मोची, कर्णदेव चौधरी, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, जसोमती साह, चन्द्रमान विक, चौठीलाल खंग, डम्बरप्रसाद महतो, दुर्गानन्द ठाकुर, लक्ष्मी मण्डल, शोभानन्द राय, विल्टु दास, प्रदिप मण्डल, रामलगन सरदार, महेन्द्र विराजी, बिन्दु सदा, हरीशंकर इशर, विर बहादुर मर्र्साङ्गदी मगरलगायत सदस्य रहेका छन् ।
जिल्ला कमिटीमा पत्रकारबाट उत्तम आचार्य र डम्बर राई, अनेरास्ववियुबाट ललीतनारायण रजक, नेपाल राष्ट्रिय युवा संघबाट चितरञ्जन यादव, दिपककुमार झा, मनिष श्रेष्ठ र संजय पासवान समेटिएका छन् ।
बन्दसत्रकै अवधिमा बसेका केन्द्रीय नेता, जिल्ला कमिटीका पदाधिकारीसमेतको टोलीले गाउँ र नगर कमिटीसँग छलफल गरी तय गरेर ल्याएको नाम एमाले केन्द्रीय सदस्य एवम् बन्दसत्रका अध्यक्ष दिवाकर देवकोटाले पढेर सुनाएका थिए। त्यसमा केहीले टिप्पणी राखे पनि अधिकांशले समर्थन गरेपछि नाम अनुमोदन भएको बन्दसत्रमा सहभागी अरबिन्द झाले बताए।
अधिवेशनले २३ जना रहेको सल्लाहकार समितिमा २ नाम थप गर्दै अनुमोदन गरेको सहभागीहरुले जानकारी दिए।
नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले शपथ ग्रहण गराए। त्यसअघि बन्द सत्रले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको थियो।
बन्दसत्रलाई एमाले सचिव महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभामा एमाले संसदिय दलका नेता सुमनराज प्याकुरेलले सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !