स्थानीय तह निर्वाचन :धरानको मेयरमा चुनाव लड्न उपमेयर मन्जु भण्डारीले दिइन् राजीनामा
धरान : धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले पदबाट राजीनामा दिएकी छिन् । आगामी स्थानीय तह निर्वाचनमा एमालेले उनलाई मेयरको टिकट दिएपछि आइतबार राजीनामा दिएकी हुन् । भण्डारीले धरानका मेयर तिलक राइलाई राजीनामा पत्र बुझाएकी हुन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान भएपछि आफूले पदबाट राजीनामा दिएको बताइन् । एमालेले भण्डारीलाई मेयरको टिकट दिएपछि एमालेमा विवाद सुरु भएको छ । एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा धरानका पूर्वमेयर मनोज मेन्याङ्बोले पार्टीको निर्णयप्रति असहमति जनाएका छ्न् ।
धरान ९ का वडाअध्यक्ष रत्न कट्वालले एमालेमा विवादित बनेकी भण्डारीलाई टिकट दिएको भन्दै उनीविरुद्ध वागी उम्मेदवारी दिने घोषणा गरेका छ्न् । सुनसरीमा एमालेले सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसलगायत गठबन्धनले उम्मेदवार टुंगो नलगाएका कारण ठूला दलले सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने बताएका छ्न् ।