हामीले गठबन्धनलाई १०–१५ वर्षसम्मै लग्ने भनिसकेका छौं : प्रचण्ड
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतन्त्र, प्रतिगमन र प्रतिक्रान्तिको तानाशाही प्रवृतिबाट रोक्न गठबन्धन आवश्यक रहेको बताए।
उनले तानाशाही प्रवृतिलाई जनताको तागतबाट परारस्त गर्न संकल्प गरेर ठूलो मेहनत र संघर्षपछि अहिले गठबन्धनको सरकार बनेको बताए। उनले भने, ‘प्रतिगामीलाई विजयी हुन नदिने संकल्पका साथ लोकतन्त्रको सुदृढिकरणका लागि स्थानीय निर्वाचन मात्र हैन, संघ र प्रदेशको निर्वाचनमा समेत गठबन्धनको संस्कृतिलाई अघि लगिन्छ। अझ हामीले त गठबन्धनलाई १०–१५ वर्षसम्मै संगसंगै लग्ने भनिसकेको छौं।’
विचार र राजनीतिको आधारमा गठबन्धनले राजनीतिक समस्यालाई साझा समस्या सम्बोधन गर्न अहिलेको आवश्यकता छ। उनले भने, ‘मधेशको भूमि ठूलो संघर्षको साझा भूमि हो। संघीय लोकतन्त्र र गणतन्त्रका लागि सधै अगाडि रहने भूमि हो। तर यहाँका नागरिकले नागरिकताबाट बञ्चित हुनुपरेको विषय समाधान खोजिनेछ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एमालेकै कारण नागरिकताको समस्या सम्बोधन हुन नसकेको दाबी गरे। धनुषाको जनकपुरधाममा आयोजित संयुक्त चुनावी सभामा बोल्दै प्रचण्डले मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताए। उनले भने, ‘संसद् गैर संवैधानिक ढंगले केपी ओलीले भंग गरे। नागरिकताको समस्याको हल नहुनुमा एमाले प्रमुख कारक तत्व हो। एमालेले निरंकुशवादी तानाशाही चरित्र देखाएको छ। नाराबाजी गरिरहे पनि नागरिकताको समस्या सम्बोधन गरिनेछ।’
यस्तै अध्यक्ष प्रचण्डले मधेशी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि संघर्ष गरिरहने बताएका छन्।