राष्ट्रपति भण्डारीकी मितिनी मञ्जु गुरुङ फेरि भइन् पोखराको उपमेयर
![राष्ट्रपति भण्डारीकी मितिनी मञ्जु गुरुङ फेरि भइन् पोखराको उपमेयर](https://annapurnapost.prixacdn.net/media/albums/Manju-Gurung_20220525075725_eX92b7nxJf.jpg)
पोखरा : मञ्जुदेवी गुरुङ पोखराको उपमेयरमा फेरि निर्वाचित भएकी छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमाले उम्मेदवार गुरुङ उपमेयर निर्वाचित भएकी हुन्।
यसपालि मञ्जुले निर्वाचन नलड्ने बताएकी थिइन्। तर पार्टीले उनलाई फेरि टिकट दियो। एमालेबाटै मेयरका उम्मेदवार कृष्ण थापा पराजित हुँदा उनका भन्दा १२ हजार ११ सय १० बढी मत ल्याएर मञ्जु फेरि उपमेयर निर्वाचित हुन सफल भएकी छन्। मञ्जुले ५६ हजार ४ सय ४८ मत ल्याएकी थिइन् भने सरस्वतीले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी थिइन्।
२०७४ सालमा पार्टीभित्रै भएको आन्तरिक निर्वाचनबाट चुनिएर उम्मेदवार सिफारिस भएकी थिइन्। यसपालि भने एमाले अध्यक्ष केपी ओली स्वयंले नै मञ्जुलाई उपमेयर बन्न आग्रह गरेका थिए। टिकट दिनुअघि सल्लाह नै नगरेको भन्ने उनको गुनासो थियो। आफूलाई चुनाव लड्ने इच्छा नभएको भन्ने उनको अभिव्यक्ति सार्वजनिक भएपछि ओलीले आग्रह गरेका थिए। चुनाव लड्ने इच्छा नभएकैले उम्मेदवार सिफारिसको सूचीमा नराख्न पनि उनले एमाले महानगरपालिका कमिटीलाई भनेकी थिइन्।
उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी पनि हुन्। महिला महिलाबीच गाँसिने मितिनी साइनोलाई गण्डकी र लुम्बिनी प्रदेशतिर सैनी भन्ने चलन छ। भोजपुरमा जन्मिएकी भण्डारी र स्याङ्जामा जन्मिएकी मञ्जुबीच सैनी लगाउनुका पछाडि उनीहरुबीचको एउटा समानता पहिलो कारण हो। भण्डारी र गुरुङ दुवैका श्रीमान्को निधन भइसकेको थियो। दुवै एकल महिला भए। त्यही समानता देखेर पोखरामा अरु नेता र मञ्जुका ठूलोबाबाले सैनी गाँस्न प्रस्ताव गरेका थिए।
भोजपुरमा जन्मिएकी विद्यालाई गण्डकी प्रदेशतिर छोरी मान्छेबीच गाँसिने सैनी सम्बन्धका बारेमा ऊ बेला थाहा नभएको पनि मानबहादुरलाई सम्झना छ। छोरा मान्छेहरुबीच मित लगाएजस्तो यता महिलाबीच सैनी लगाइन्छ। दुई कन्या राखेर, फूलपाती, चामल, अक्षता र पैसा राखेर, अनि एक अर्काको जुठो खाएर विधिपूर्वकै मञ्जु र विद्याले सैनी लगाएका थिए।
कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् । पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे। नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो। २०५४ मा पोखराको मेयर भएका थापा फेरि अहिले पनि मञ्जु जसरी दोहोरिन भने सकेनन्।
‘विद्याका श्रीमान मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मञ्जुका माइला बुवा मानबहादुरले सैनी लगाइदिँदाको क्षण केही समयअघि सुनाएका थिए, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखें।’ सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा उनी खुसी भए। मञ्जुका माइला बुवा पनि २०५४ मा पोखरा उपमहानगरपालिकाको उपमेयर भएका थिए। त्यसपछि भएको २०७४ को निर्वाचनबाट मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी भइन्। र, अहिले दोहोरिइन्।
मञ्जु ३१ वर्षमै एकल भएकी थिइन्। उनका श्रीमान् मेखबहादुर गुरुङको २०४९ सालमा नुवाकोटमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो। भण्डारीका श्रीमान् प्रतिष्ठित नेता मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी ज्यान गएको थियो।
साइनो गाँसिएपछि विद्या पोखरा आउँदा मञ्जुकहाँ बस्थिन् भने मञ्जु काठमाडौं जाँदा विद्याकहाँ। उनका अनुसार भेटघाटका बेला दुवैबीच पारिवारिक गफगाफ भइरहन्थ्यो। मञ्जु राजनीतिमा सानैदेखि संलग्न थिइन्। आफ्ना मामाको प्रेरणाले कम्युनिस्टप्रति आकर्षित भएकी थिइन्। अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष भइसकेकी उनीसँग निजी विद्यालयमा पढाएको अनुभव पनि छ। उनले साथीहरुसँग मिलेर अंग्रेजी माध्यमको स्कुल स्थापना गरेकी थिइन्।
उपमेयर भइसकेपछि न्यायिक समितिको संयोजक भइन्। बजेट निर्माण गरिन्। पहिलोचोटि निर्वाचित हुँदा उनले महिला हिंसाविरुद्ध लाग्ने प्रतिबद्धता जनाएकी थिइन्। लगत्तै उनले हेल्पडेस्क पनि स्थापना गरिन्। उनी संयोजकत्वको न्यायिक समिति निकै सक्रियमात्रै भएन, प्रभावकारी पनि भयो। महिलाहरुलाई उद्यमशील बनाउन उनले उपमेयरसँग महिला कार्यक्रमलाई प्रभावकारी रुपमा चलाइन्। विवादमा परिनन्। त्यसैले त शालीन स्वाभावकी उनले आफ्नै पार्टीका मेयर उम्मेदवार नयाँनयाँ खुलेको नेकपा एकीकृत समाजवादीका उम्मेदवारसँग हार्दा पनि ठूलो पार्टी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई पराजित गर्न सफल भइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)