जब गाउँमा कोशी पस्यो !

जब गाउँमा कोशी पस्यो !

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरा मल्हनिया गाउँमा बिहीबार बिहान एक्कासी सप्तकोशी नदीको भंगालो पस्यो। भिओसी कमाण्ड पोष्टले सन्देश प्रवाह गरेसँगै लगातार साइरनको आवाज बज्न थाल्यो।

एक्कासी बाढी आएको खबरसँगै स्थानीयबासिन्दाहरू नदीमा ‘बाढी आयो, मान्छे बगायो’ भनेर होहल्ला गर्न थाले। दुई दिनदेखि लगातार भएको वर्षाले कोशी नदीमा पानीको सतह बढिरहेको छ। बाढीले जमिन कटान गरिरहेको छ। घरहरू डुबानमा परेको छ। ठूलठूला रूखहरू बगाईरहेको छ। बाढीमा मानिसहरू बगेको देखेर गाउँलेहरू नदी किनारमा आत्तिएर गुहार मागिरहेका छन्। ‘बाढी आयो, मान्छे बगायो’ भन्दै चिच्चाउँदै छन्।

त्यसैबेला उद्दारका लागि सुरक्षाकर्मीहरूको टोली बाढी आएको नदी किनारको रम्परा गाउँ पुगे। रबर बोट र मोटर बोटमा हावा हाले। सुरक्षाकर्मी, प्रशासनसहितको टोली पुगेसँगै स्थानीयबासिन्दाहरू पनि जम्मा भए।

बाढीका कारण जनधनको क्षती नहोस् र तत्काल उद्दार गर्न सकियोस् भन्ने उद्देश्यसहित सप्तरीका सिडिओ जर्नादन गौतमको नेतृत्वमा गएको टोलीमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रस प्रमुखसहितको संयुक्त उद्दार टोली घटनास्थल पुगे। तत्कालै तीनै सुरक्षा निकायको गोताखोरसहितको रवर बोट नदीमा पस्यो।

लाइफ ज्याकेट लगाएर उद्धारका लागि नदी किनारमा पुगेको उद्धार टोलीले नदीमा दर्जनौ व्यक्ति बगिरेहको दृष्य देख्छ। बग्दै गरेका उनीहरू नदीकोबीच भागमा पुगेका हुन्छन्। उनीहरू सबै डराएको र आत्तिएको अवस्थामा हुन्छन्। नदीमा पसेको उद्धार टोलीको बोटहरू चारैतिर बाँडिन्छ।

उनीहरूले बगिरहेका व्यक्ती नजिक पुगेर डोरी र ट्युब फाले। कोही रबर बोटबाट हाम फाले। अनि नदीमा बगिरहेका मध्ये सबैलाई पालैपालो बोटमा चढाएर किनारामा पुर्याउन थाले। यत्तिकैमा पानीको बेगमा उद्धारमा खटिएको बोट पल्टियो। दुई जना सुरक्षाकर्मीहरूले संयम र बहादुरीका साथ बोटमाथि चढेर सुल्टाए र पुनः बोटमा चढेर उद्धारमा खटिए। यसरी आधा घण्टाको प्रयासमा उद्दारमा गएका सुरक्षा फौजको टोलीले सय भन्दा बढीलाई सकुशल उद्धार गरे।

नदी किनारमा बसेका तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले उनिहरूलाई प्राथमिक उपचार गरे। थप उपचारका लागि नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्समा हालेर केहीलाई अस्पताल तर्फ पठाए। पारीपट्टी एक घाइते फँसेका छन्। उनलाई रोपवेको माध्यमबाट नदीको पारी किनारमा ल्याए। नदीबाट उद्दार गरिएकालाई प्राथमिक उपचार पश्चात घर पठाए। बाँकी केहीलाई एम्बुलेन्समा राखेर थप उपचारका लागि राजविराजस्थित अस्पताल पठाए।

बाढी आउँदै गर्दा उनीहरू घरमा सुतिरहेका थिए। नदी किनारमा घर भएकाले बाढीले घरसहित बगाउँदा उनीहरू बगेका थिए। यो सबै दृश्य वास्तविक नभई काल्पनिक थियो। राजविराज–६ स्थित पूर्णी पोखरीलाई रम्पुरास्थित सप्तकोशी नदीको संज्ञा दिइएको थियो। पानीमा बगेका उनीहरू सबै जना अतिथीहरू आउनु अघि नै आफ्नो भूमिका निर्वाहका लागि तयारी अवस्थामा लुकेर बसेका थिए। कार्यक्रमको परिदृश्यबारे सहजिकरण गर्दै बजाइएको धुन र चित्रणले वास्तविक बाढी आए झै भान हुन्थ्यो।

जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले गरेको बाढीको कृतिम घटना अभ्यासमा सुरक्षाकर्मीहरू उद्धारमा खटिएका थिए। बाढीमा फसेकालाई उद्धार कसरी गर्ने भनेर पहिलेदेखि नै सुरक्षाकर्मीका लागि अभ्यास गर्न योजना बनाईएको थियो।

बाढीका बेला हुन सक्ने मानविय तथा भौतिक क्षति र खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझै यस बर्ष पनि मनसुन सुरु हुन लागेकोले कृतिम घटना अभ्यास आयोजना गरिएको सिडिओ गौतमले बताए।

कृतिम अभ्यासले सरोकारवाला निकायको समन्वयलाई घनिभूत बनाउने र काममा निखार ल्याउने उनले बताए। तत्काल सूचना सम्प्रेषण गर्ने, कमाण्ड पोष्टमा सूचना प्राप्त भएपछि छलफल गरेर परिचालन गर्ने अभ्यासले वास्तविक घटना हुँदा सफलता प्राप्त गर्न सकिने गौतमले विश्वास व्यक्त गरे।

यस्ता किसिमका अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने बताउँदै गौतमले यो वर्ष मनसुन बढी नै सकृय हुने भविष्यवाणीले बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको सन्देश मिलेको बताए। सप्तकोशी, त्रियुगा, खाँडो, महुली, जिता, बलानलगायत सप्तरीको दर्जनौ नदी खोलामा आउने बाढीले वर्षेनी जनधनको क्षति गर्दै आएको छ। सप्तरीमा बाढी सम्भावित ठाउँहरूका पालिकाले सामाग्रीसहित बाढी पूर्व तयारीको अभ्यास गर्नुपर्ने उनले बताए।

कार्यक्रममा श्री नम्बर २७ वाहिनीका बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ्गले विपद कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गरार्ईएको बताए। उनले वर्षाको मौसम नजिकिएकोले नदी आसपासका बस्तिहरूका बासिन्दाहरूलाई सतर्क रहन समेत आग्रह गरे।

विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि बनाईएको जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना मनसुन पूर्व तयारी कार्ययोजना अनुसार सोको प्रभावकारिताका लागि कृतिम अभ्यास गरिएको बरख दल गणका गणपति दुर्गाबहादुर थापाले जानकारी दिए।

बाढीको कृतिम घटना अभ्यास कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख इसरत परविन, सप्तरी एसपी अविनारायण काफ्ले, सशस्त्र एसपी प्रदिप खडका, नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति योगेन्द्र भगत, राजविराज ६ का वडा अध्यक्ष शशी चौधरीलगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.