सप्तरीमा मिटरब्याजी आतंक : प्रधानमन्त्रीको निर्देशनपछि फरार रामदेवसहित ८ जनाको खोजी तीव्र

सप्तरीमा मिटरब्याजी आतंक : प्रधानमन्त्रीको निर्देशनपछि फरार रामदेवसहित ८ जनाको खोजी तीव्र

राजविराज : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि सप्तरी प्रहरी सक्रिय भएको छ।

गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री देउवाले मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि सप्तरी प्रहरी र प्रशासन गम्भीर बनेको हो। धन सम्पत्ति आर्जन गर्न पहिले लुटपाट र डकैती हुने गरेकोमा अहिले चर्को व्याज असुलेर जग्गा फिर्ता नगर्ने मिटर व्याजी कारोबारीका रुपमा देखिएको सप्तरीका सीडीओ जर्नादन गौतमले बताए।

प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजको कारोबार गर्दै उठिवास गर्ने मुख्य आरोपी सप्तरीको खडक नगरपालिका कल्याणपुरका रामदेव साह तेलीका छोरा ४४ वर्षीय नन्दकिशोर साह पक्राउ परेका छन्। रामदेवको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट पक्राउ गरेको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए। फरार रहेका रामदेवसहित ८ जना आरोपितको खोजीकार्य तीव्रताका साथ भइरहेको उनले बताए।

छोटो समयमा उल्लेख्य आर्थिक प्रगति गरेका तेली मिटरब्याजमा लगानी गर्ने र जबर्जस्ती रकम असुल गर्ने गिरोहका नाइके हुन्। कर्जा दिएको चार गुणा असुले पनि जग्गा फिर्ता नगरेर नौ जनालाई उठिवास लगाएको सप्तरी प्रहरीको अनुसन्धानले देखाएको छ। मिटरब्याजी साहुकार तेलीले विपन्न ९ जना नागरिकमाथि ज्यादती गरेको घटना पत्ता लागेको सप्तरी प्रहरीले जनाएको छ। मिटरब्याजी तेलीबाट पीडित नौ जना सम्पर्कमा आएको र उनीहरूले साहुकार तेलीलाई कडा कारबाही गर्न माग गरेको एसपी काफ्लेले बताए।

रामदेवले रकम लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र यौन शोषण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्ने कार्य गर्दै आएको पत्ता लागेको छ। उनीहरुविरुद्ध ठगी मुद्दामा कारवाही थालिएको छ।

पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहलगायतविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिना अघि उजुरी दिएका थिए। मिटरब्याजी रामदेवबाट १० लाख ऋण लिएकी शम्भुनाथ नगरपालिका–२ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौन शोषणको शिकारसमेत भएको भन्दै उजुरी दिएकी छन्।

पीडितकाअनुसार १० लाख ऋणको साहुकार रामदेवले ३२ लाख रुपैयाँ असुलेर यौन शोषणसमेत गरेका छन्। ऋण चुक्ता गरेपछि फिर्ता गर्नेगरी आफ्नो नाममा रजिष्ट्ररी गरेको १५ कट्ठा १५ धुर जग्गासमेत तेलीले फिर्ता गरेका छैनन्। रामपुर–जमुवाको कित्ता नम्बर १८९ को १७ धुर, कित्ता नम्बर १८१ र १८७ को एक–एक कट्ठा, कित्ता नम्बर ४३ को सात कट्ठा ११ धुर र कित्ता नम्बर ५७३ को पाँच कट्ठा सात धुर जग्गा साहुकार तेलीले फिर्ता नगरेको पीडितले बताइन्।

पीडितका श्रीमान् रोजगारीका लागि १२ वर्ष अघि मलेसिया गएका थिए। घरनजिकै जग्गा किन्ने विषयमा श्रीमानको सहमतिअनुसार साहुकार रामदेवसँग १० लाख रुपैयाँ ऋण लिएर पीडितले सात कट्ठा ११ धुर जग्गा किनेका थिए। नयाँ किनेको जमिनसहित उनको नाममा रहेको सबै जग्गा साहुकारले ऋण तिरेपछि फिर्ता हुने गरी आफ्नो नाममा राखेर फिर्ता गरेका छैनन्।

वैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएको पैसा साहुकार तेलीलाई तिर्दै गए पनि जग्गा फिर्ता नपाएको पीडितले बताएकी छन्। ऋण तिरेपछि सबै जग्गा फिर्ता गर्ने भनेका तेलीले १० लाखको ३२ लाख रुपैयाँ असुले पनि जग्गा फिर्ता नगरेको पीडितले बताइन्। ब्याज धेरै भयो भन्दै मिनाहा गर्ने नाममा पटक पटक जबर्जस्तीकरणी गरेको पीडितले बताइन्।

न्यायका लागि गत मंसिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितले बताइन्। प्रहरीले उजुरी नलिएपछि उनले मंसिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकी थिइन्। प्रहरीले कारवाही अगाडि नबढेपछि पीडितले पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएकी थिइन्।

उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिएको छ। न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोखरेलको संयुक्त इजलासले पीडितको जाहेरी सनाखत गराई निकासा दिनू भनेर प्रहरीका नाममा परमादेश गरेको छ।

ऋण लिएकाबाट चर्को व्याजसहित ऋण चुक्ता भएपछि पनि जग्गा फिर्ता नगर्ने रामदेवजस्ता धेरै कुपात्रको खोजी गर्नुपर्ने सिडिओ गौतमले बताए। ऋण लिएभन्दा दुई गुणा बढीको तमसुक गराउने, आफ्नो नाममा जग्गा रजिष्ट्ररी गराउने र चर्को व्याज असुलेर पनि जग्गा फिर्ता नगर्ने रामदेवजस्ता धेरै पात्र सप्तरीमा हुन सक्ने उनले बताए। विज्ञान तथा प्रविधिको विकाससँगै भएको नयाँ अपराधको शैलीलाई पहिचान गर्न र निवारण गर्न सरकार तथा प्रहरी प्रशासनले सजगता अपनाउन जरुरी रहेको भन्दै गौतमले राज्यका निकायहरु यस्ता अपराधको पहिचान गर्न र जनतालाई लुटिनबाट जोगाउन गम्भीर बन्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.