मिटरब्याजी रामदेवका छोरापछि छोरी पनि पक्राउ

मिटरब्याजी रामदेवका छोरापछि छोरी पनि पक्राउ

राजविराज : सप्तरीका मिटरब्याजी रामदेव साहको छोरा पक्राउ परेको दुई दिनपछि शनिबार उनकी छोरी पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट रामदेवकी छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरेको जनाएको छ।

ठगी तथा अपराधिक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई पक्राउ गरी सप्तरी ल्याउन लागिएको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले जानकारी दिएको छ। प्रहरीले अनुराधालाई काठमाडौंबाट नियन्त्रणमा लिई सप्तरी प्रस्थान गरिसकेको र बाटोमा आउँदै गरेको जनाएको छ। सुनसरीको धरान–१९ मा भव्य घर बनाइ बसेका रामदेवका छोरा ४४ वर्षीय नन्दकिशोर साह बिहीबार घर नजिकै घोपा क्याम्पको गेट अगाडिबाट समातिएका थिए।

प्रधानमन्त्रीले निर्देशन दिएपछि आरोपितहरुलाई पक्राउ गर्न नेपाल प्रहरी सकृय भएको छ। सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर घर भएका रामदेव भने पक्राउ पर्न सकेका छैनन्। घर व्यवहार खर्च प्रयोजनका लागि ऋण दिँदा चर्को व्याज असुल्ने साह परिवारविरुद्ध ठगी तथा विश्वासघात मुद्दा दर्ता भएपछि उनी फरार छन्।

ऋणीको जग्गा आफ्नो परिवारको नाममा रजिष्ट्ररी गरेर मात्र ऋण दिने गरेका साहले मिटरब्याजमा चर्को रकम असुल्नुका साथै जग्गासमेत कब्जा गरेका छन्। परिबन्धमा परेका विपन्नलाई ऋण दिएर जग्गा आफ्नो नाममा ल्याउने गरेका साहले चर्को व्याज असुले पनि फिर्ता नगरेको भन्दै नौं जनाले उजुरी दिएका छन्। यो कार्यमा साहको पूरै परिवार संलग्न छन्।

पीडितहरूले रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाती चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साहविरुद्ध ठगी तथा अपराधिक विश्वासघात गरेको भन्दै कल्याणपुर प्रहरीमा उजुरी दर्ता गराएका छन्।

मिटरव्याजी रामदेवसहित उनका परिवारबाट बोदेबर्साईन नगरपालिका–५ का ६९ वर्षीय रामप्रसाद खत्वे, वडा नम्बर–७ का ५८ वर्षीय मो. तैयव अलि, वडा नम्बर–९ का ४३ वर्षीय शितल यादव, खडक नगरपालिका–६ का ५१ वर्षीय छेदीलाल पासवान, वडा नम्बर–७ का ५३ वर्षीय गुलावचन्द साह, वडा नम्बर–८ का ६० वर्षीय बच्चालाल साह पीडित छन्। साहले जग्गाफिर्ता नगर्दा शम्भुनाथ नगरपालिका–११ की ४० वर्षीया ललितादेवी मण्डल, सुरुङ्गा नगरपालिका–६ का ७२ वर्षीय गुलावचन्द साह तेली र वडा नम्बर–२ का ३३ वर्षीया सबुर देवी चौधरीलगायत पनि समस्यामा परेका छन्।

पीडितहरुका अनुसार घर खर्चसमेतको व्यवहारिक प्रयोजनको लागि आवश्यक परेको ऋण दिने साहले ऋणीहरुबाट धितोस्वरुप मालपोत कार्यालयबाट आफ्नो तथा परिवारको नाममा जग्गा राजिनामा लिखतबाट पास गर्ने गर्दथे। ऋण चुक्ता भएपछि जग्गा फिर्ता गर्ने गरी साहले मालपोत कार्यालय सप्तरीबाट राजीनामाको लिखित गरी पास गरेकोमा व्याजसहित साँवा रकम असुले पनि जग्गा फिर्ता नदिएको उनीहरुको आरोप छ।

उजुरी दिने ९ जनाले आरोपित साहसँग जम्मा १ करोड १७ लाख ४२ हजार २५६ रुपैयाँ ऋण लिएको प्रहरीले जनाएको छ। सो रकम तथा सोको व्याजसमेत तिरी चुक्ता गरी सके पश्चात पनि लामो समयदेखि जग्गा फिर्ता नगरेको उजुरी दर्ता गरी फरार रहेकाहरुको खोजीकार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.