चुकेका दल, झुकेको लौरो

चुकेका दल, झुकेको लौरो

राणाशासन फाल्यौं तर त्यसबेला विकास भएको कला, कौशल जोगाउन सकेनौं। पञ्चायत फाल्यौं तर त्यसभित्रको निष्ठा र एकताको पाठ कहिल्यै सिकेनौं। राजतन्त्र फाल्यौं तर त्यसले बोकेको संस्कृति र राष्ट्रवादलाई अँगाल्न चाहेनौं। प्रजातन्त्र फालेर गणतन्त्र ल्यायौं तर राजा र दल पनि मिलेर जान सकिन्छ भन्ने कुरा महसुस गरेनौं। गणतन्त्रलाई पनि संघीयताको रूप दियौं, आपसी सद्भाव र सम्बन्धलाई अधिकारको निहुँमा तोड्यौं। जनयुद्धमा देशलाई दशकौं होम्यौं। दशौं हजारलाई बलिदानीका लागि बाध्य बनायौं तर तिनको रगतको मूल्य बुझेनौं। नारामा सबै ल्याऔं तर पारामा सबै लत्यायौं। राज्य प्रणाली र शासन व्यवस्थालाई सत्ता लिप्सामा प्रयोग गर्‍र्यौं। दलीय भागबन्डा र सेन्डिकेटमा देश चलायौं। विकासलाई ठेक्कापट्टामा जोडेर हेर्‍र्यौं। जनजीविका र जनताको जीवनको आधारभूत आवश्यकतालाई भन्दा आफ्नै विलासिता र भाइभारदार अनि आफन्तको ढुकुटी भर्न देशको ढुकुटी रित्यायौं।

दलदल मिलेर अघि बढ्नुभन्दा आपसी साँठगाँठ र मिलेमतोमा सत्ता जोगाउन गोटी चाल्यौं। जुट्नुपर्ने बेला फुट्यौं। आफ्नो दम्भ देखाउन, अरूको अस्तित्व कहिल्यै स्विकार्न जानेनौं। जनताका विचारलाई तिरस्कार गर्‍र्यौैं। गालीगलौज र आरोप प्रत्यारोपका छुद्र भाषण लाद्यौं। संस्कार, नैतिकता, सभ्यता, धर्म, संस्कृति र राष्ट्रियतालाई कुल्चिएर निर्लज्ज भई कार्यकर्तामाझ कुर्लियौं। तालिम प्राप्त तालीको तालमा हांैसियौं। वर्णन गरेर साध्ये नहुने यस्ता हर्कत हदै गर्‍र्यौैं। जसका कारण अहिले देश भ्रष्टाचार र महँगीको मारमा छ। जनता एक छाक खान र एक सरो लाउन नपाई छटपटिएका छन्। गाँस, बास, कपास, स्वास्थ, शिक्षा र सुरक्षाजस्ता आधारभूत आवश्यकताको अभावमा अधिकांश ग्रामीण जनता गुज्रिरहेका छन्। सीप, योग्यता र पौरख भएका लाखौं युवा विदेश पलायन छन्। तर, दलका अधिकांश नेतामा यो कुराले कुनै पीडाबोध भएको देखिँदैन। आफ्नो स्वार्थपूर्ति गर्न, जनता रिझाउन गोहीका दुई÷चार थोपा आँसु चुहाउनबाहेक अन्तरमनमा यो कुराले कुनै असर पारेको अनुभूती गर्न पाएका छैनौं।

हिजोका जोगी नेता आजका सुविधाभोगी भएका छन्। वृद्ध, अशक्त र रोगी नेताहरू यन्त्र जोडेर तंग्रिएको ज्यान लिएर भए पनि सत्ताको बागडोर आफैंमा निहित राख्न लालायित देखिन्छन्। नयाँ पुस्तालाई प्रोत्साहन र अगुवाइ दिलाउन कहिल्यै अघि सरेको देखिँदैन। यी कुराको हद नाघेर होला अब जनतामा भित्रभित्रै विद्रोहको आगो सल्किएको देखिन्छ। मुस्लो बनेर बिस्फोट हुन मात्र बाँकी देखिन्छ। जनतामा सुझबुझ र चेतनाको स्तर दिनप्रतिदिन बढ्दो छ। अहिलेको शासन व्यवस्थामा देखिएको यो विकृतिका कारण अहिलेभन्दा पहिले ठीक भन्न थालेका छन्। कुनै समय राजनीति दलका ढाल बनेर हिँडेका युवा बीचमा वितृष्णा र विरक्त 

बनेका थिए। पुनः वैकल्पिक राजनीतिक धारबाट आफ्नो पहिचान बोकेर अघि बढ्न थालेका छन्।

फुत्तफुत्त स्वतन्त्र र स्वतःस्फूर्त रूपमा अग्रसर हुँदैछन् युवा। यसले विकल्पको राम्रो उदय हुने हो कि भन्ने आस पलाएको छ। यसको राष्ट्रिय नमुनाकै रूपमा बालेनको उदयलाई लिन सकिन्छ। मकैको घोगो तयार हुन सुरुमा एउटा दाना मकै नै काफी हुन सक्छ। उनी यस स्थानीय निर्वाचनबाट दलदलमा फसेका दलको विकल्पको घोगाहरू जन्माउने दल अर्थात् बिउका रूपमा छोटो समयमै स्थापित बन्दैछन्। माथि चर्चा गरिएका दलका नेताहरूको विद्यमान कमजोरीलाई मिहिन र गहन अध्ययन गरी त्यही मानसिकता चिर्न सिपालु भएर उदय हुँदैछन्। मुखमा एक थोक पेटमा एक थोक बोकेका नेताहरूको बोली र व्यवहारलाई चिर्न सत्य, तथ्य, चोटिलो, रसिलो र कसिलो अभिव्यक्तिका साथ विनम्रता र झुक्ने संस्कार र प्रवृत्तिको खडेरीलाई उनले चिर्दै छन्। साँच्चै भन्ने हो भने उनी र उनले बोकेको सिद्धान्तजस्तै चुनाव चिह्न पाएर त्यसमै लोकप्रियताको मत बटुलिरहेका छन्।

झन्डामा डन्डा र डन्डालाई झन्डा बनाएर विकृत व्यक्ति उतार्ने राजनीति दलका लागि उनी जस्तै शिर झुकाएको डन्डा अर्थात् लौरो विनम्रता र शिष्टताको प्रतीक बन्दै गएको छ। समय र सन्दर्भलाई चिनेर फुत्त उदाएका बालेन नेपालकै केन्द्र काठमाडौंको मियो बन्ने क्रममा छन्। समग्रमा, कुरोको चुरो खोल्ने हो भने अब बालेन जस्ता पात्र र प्रवृत्तिको उदय हुनैपर्छ। अबको नेतृत्वका लागि हजारौं यस्तै युवा अन्मिनुपर्छ। अक्षम्य हजारौं हजार गल्ती गर्ने नेताहरूले यसअघि चुकाएका गल्ती आमजनतालाई महसुस गराउन काठमाडौंवासीले सुरु गरेको अभियानलाई देशैभर दृढतापूर्वक स्थापित गराउनु पर्छ।

काम, कर्तव्य र जिम्मेवारीमा बालेन चुक्नु हुन्न, जनतासामु लौरोको शिर झुकेझैं झुक्नु पर्छ। जीर्ण बनेको देशलाई अड्याउन बालेनको लौरो तोक्मा नै बन्नुपर्छ। चुकेका दलहरूले चिढ्याएका जनताका लागि झुकेको लौरो साँच्चै सहारा बन्नै पर्छ। एउटै कुरो– बाटो बिराएर र धरातल बिर्सिएर अघि बढ्न खोज्ने हो आजको जित भोलिका लागि प्रत्युत्पादक बन्न सक्छ। त्यसो त, यही घुम्रिएको लौरो बालेनका लागि खुट्टा तानेर लडाउने अंकुशे नबन्ला भन्न सकिन्न। लौरो टेकौं, घुँडा नटेकौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.