बलत्कारपछि हत्या
बेंसीसहर : लमजुङमा २८ वर्षीया युवतीलाई करणी गरी हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। लमजुङको सुन्दरवजार नगरपालिका-१, कुन्छाकी २८ वर्षीया लिला अच्छामीलाई जबरजस्ती करणी गरी हत्या गर्ने सोही ठाउँका २४ वर्षीय राम सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
युवती साउन १० गते मंगलबार साँझदेखि हराएकी थिइन्। युवतीका बुबा डम्बरबहादुरले खोजिपाउँ भनी प्रहरीमा उजुरी दिएपछि खोजतलासको क्रममा बिहिबार दिउसो सुन्दरवजार-१, कुन्छास्थित खड्केपानी सामुदायिक वनमा उनको शव फेला परेको थियो।
अनुसन्धानको क्रममा मृतक अच्छामी र सुनारबीचको प्रेम सम्बन्धबारे रहस्य बाहिरिएपछि प्रहरीले मंगलबार नै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार युवक र युवतीबीच शारीरिक सम्बन्ध भएको र युवतीले विवाहको लागि प्रस्ताव गरेपछि हत्या गरेको युवकले स्वीकार गरेका छन।
शारीरिक सम्बन्ध भइसकेपछि युवतीले आफूलाई विवाह गर्न दवाव दिएको र विवाह नगरे सम्बन्धबारे सार्वजनिक गर्ने चेतावनी दिएपछि युवकले उनको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।
अभियुक्त सुनार आफू पहिल्यै विवाहित भएको र प्रेमिका शारीरिक अपांगसमेत भएकोले दोश्रो विवाह गर्न नसक्ने भन्दै विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
युवतीको हत्यापछि सुनारले उनको मोबाइल र गरगहनासमेत आफ्नो घरमा लगेको प्रहरीले जनाएको छ। उक्त गरगहनासमेत प्रहरीले बरामद गरेको छ।
प्रहरीले युवतीको शव जिल्ला अस्पतालमा ल्याई पोष्टमार्टमपश्चात् आफन्तलाई जिम्मा लगाएको छ। अभियुक्त सुनारलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस !