विद्युत् प्रयोगमा लापर्बाही : तीन सातामा चारको मृत्यु

विद्युत् प्रयोगमा लापर्बाही : तीन सातामा चारको मृत्यु

राजविराज : घरमा बिहानको खानाको तयारी चलिरहेको थियो। परिवारका सदस्यहरू आ-आफ्नो नियमित काममा थिए। कञ्चनरुप नगरपालिका-६ घोघनपुरकी नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई पनि बुधबार खाना बनाउने हतारो थियो। सजिलो र छिटोका लागि घरकै आँगनमा रहेको ट्युवेलमा जडान गरिएको पानी तान्ने मोटर खोलिन्। मोटर खोल्नासाथ उनी छट्पटाउन थालिन्।   

सात महिने गर्भवती अञ्जलीलाई सम्हाल्न पुगेका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारसमेत छटपटिन थाले। करेन्ट लागेको अञ्जलीलाई समाउँदा सौदानन्दलाई समेत करेन्ट लागेको थियो। घाइते दुवै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी कञ्चनरुपमा लगियो। स्वास्थ्य चौकीमा परीक्षण गर्दै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरे।

राजगढ गाउँपालिका-२ कमलपुर बस्ने दुखी साहको छोरा ५६ वर्षीय शिवशंकर साह मङ्गलबार बिहानै उठे। हातमुख धुन आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटर खोले। पानी तान्ने क्रममा उनको करेन्ट लागि मृत्यु भयो। 

कञ्चनरूप नगरपालिका-७ आदर्श टोलका विष्णुप्रसाद पौडेल सधैं झैं असार १० गते झिसमिसे अध्यारोमै उठे। नुहाईधुवाई गरेर पूजा गर्न फूल टिपे। 

भगवानलाई चोखो जल चढाउन भनेर माथिल्लो तलाबाट तल ओर्लेर मोटर खोले। ठूलो आवाजका साथ पछारिएको आवाज सुनेर वरिपरिका छिमेकीसमेत भेला भए। तत्काल उनको मृत्यु भयो। खडक नगरपालिका-११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो। 
हिजोआज गाउँघरमा सजिलोका लागि धारामा विद्युतीय मोटर जडान गरी पानी निकाल्ने नुहाउने, लुगा धुनेलगायतका काम बढ्दै गएको छ। विद्युत सेवा नियमित भएपछि सुविधाका लागि ट्युवेल, चापाकलमा मोटर जोड्न थालिएकोले सजिलो पनि भएको छ।

सुविधाका लागि धारामा जडान गरिएको विद्युतीय मोटर सञ्चालनमा भने लापर्बाही हुन थालेपछि मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। साउनको तेस्रो साता नबित्दै सप्तरीमा करेन्ट लागेर ४ जनाको मृत्यु भइसकेको छ। सप्तरीमा गत आर्थिक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन्। 

आर्थिक वर्ष २०७८/०७९ को प्रहरी तथ्यांकअनुसार करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ज्यान गुमाउनेमा ४ महिला, ६ जना पुरुष र २ बालक छन्। करेन्टका ४० घटनामा १२ महिला, ८ पुरुष र ६ बालक घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताए। 

काफ्लेका अनुसार घटनामा ३ चौपायाको समेत मृत्यु भएको छ। धान खान कञ्चनरूप नगरपालिका-५ परेमारास्थित धानखेतमा पसेको एक भाले हात्तीको ०७७ मङ्सिर ७ गते ११ केभी (किलो भोल्टेज)को विद्युत् प्रसारण लाइनको तारमा करेन्ट लागेर मृत्यु भएको थियो। कम उचाइबाट बिजुलीको तार लगेको कारण लत्रिएको तारमा छोइएर घटना भएको स्थानीयले बताए। 

यसरी ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको र विद्युत प्राधिकरणको लापर्बाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ। नाङ्गो तारको प्रयोग, बिजुलीको पोलबाट चोरी गरेर सोझै जोड्ने, नाङ्गो खुट्टा र भिजेको हातले स्विच छुने, चार्जरमै लगाएर मोबाइल प्रयोग गर्ने, बेलाबेलामा चेकजाँच नगर्ने र हतार गर्ने जस्ता मानवीय लापर्बाहीका साथै विद्युत प्राधिकरणको समेत चरम लापर्बाही हुने गरेको कञ्चनरुप नगरपालिका-६ का वडा अध्यक्ष बच्चुलाल चौधरीले बताए। 

होचो र लतारिएका तार, ढलेको पोल र चुँडिएको तार समयमै मर्मत नगर्ने, प्रसारणलाइनमा छोइएका रुख नकाट्ने, विद्युत चुहावट रोकथाम नगर्ने र चेकजाँच, मर्मत नगरेका कारण पनि घटना बढेको चौधरीले बताए।
'घटना कमी ल्याउन व्यक्ति र प्राधिकरणले ध्यान दिन जरुरी छ।' कञ्चनरुपका तिर्थराज पोखरेलले भने 'मानिसहरूले 
सावधानीपूर्वक बिजुली प्रयोग गर्न र विद्युत प्राधिकरणले प्रसारण लाइनका पोल तथा तारलाई तत्काल सुधार गर्न जरुरी छ।' लापर्बाहीका कारण करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दै गएकाले यसतर्फ गम्भीर बन्नुपर्ने पोखरेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.