हुलाकी राजमार्गको निर्माण कार्य अलपत्र
विराटनगर : तराईका जिल्लाहरू जोड्ने बहुप्रतिक्षित सडकखण्डको रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्य अलपत्र परेको छ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तराईका जिल्लाहरू जोड्ने लाइफलाइनका रूपमा हेरिएको हुलाकी राजमार्गको मोरङ जिल्लाअन्तर्गतको निमार्ण कार्य अलपत्र परेको हो। तराई-मधेशका २१ जिल्लाहरू जोड्ने हुलाकी राजमार्ग विस्तारको कार्य २०६२/०६३ बाट सुरु भएको थियो। राजमार्गको निमार्ण कार्य केही वर्षअघिसम्म द्रुत गतिमा भइरहेको भएपनि पछिल्लो केही समययता भने ठप्प भएको छ। राजमार्ग निमार्णको कार्यले कागजी रूपमा मात्र प्रगति हाँसिल गरेको स्थानीय बताउँछन्।
'निमार्णको नाममा ठाउँठाउँमा बाटो भत्काइएको छ। बाटो खनेर धुलाम्मे बनाएर छोडिएको छ। तर सडक विस्तार र निमार्ण कार्य भने अघि बढाइएको छैन,' मोरङको कटहरी बस्ने अजय साह भन्छन्, 'रङ्गेली खण्डमा द्रुत गतिमा काम भइरहँदा कटहरी खण्डको पनि काम चाँडै सम्पन्न हुने विषयमा हामी आशावादी थियौं। तर, लामो समयदेखि काम हुन सकेको छैन्।'
मोरङमा कुल ९९.५ किलोमिटर हुलाकी राजमार्ग निमार्ण गर्ने योजना छ। विभिन्न ७ प्याकेजमा ठेक्का सम्झौता भई विभिन्न निमार्ण कम्पनीहरूले सडक विस्तारको जिम्मा लिएका छन्। जसमा रतुवा-केशलिया सडकखण्डअन्तर्गत रतुवादेखि झुँगी टोलसम्म १६.५ किलोमिटरमा पिएस गजुरमुखी-मोतिदान जेभी, झुँगी टोलदेखि बेतौनासम्म ७.६ किलोमिटरमा कालिका मैनाचुली-वेदान्सी जेभी, बेतौनादेखि कटहरीको नयाँबजारसम्म ११.९ किलोमिटरमा गजुरमुखी-मोतिदान जेभी र कटहरीदेखि विराटनगरसम्म ६ किलोमिटरमा श्रेष्ठ कन्स्ट्रक्सनले सडक विस्तारको जिम्मा पाएका छन्।
यस्तै गाँधी मनमोहन मार्गअन्तर्गत मोरङको पथरीदेखि डाँस पुलहुँदै रङ्गेलीस्थित भारतको बोर्डरसम्म ३० किलोमिटरमा कान्छाराम कन्स्ट्रक्सन र विराटनगरको गणेश चोकदेखि केशलिया खोलासम्म ३.१९ किलोमिटरमा देव एण्ड सायर-भूमि जेभीले हुलाकी सडक निमार्णको जिम्मा लिएका छन्। तर, निमार्ण सम्झौता भएकामध्ये रङ्गेली-कानेपोखरीबाहेकको खण्डमा सडक विस्तारको कार्य अलपत्र परेको छ।
बनेको बाटो भत्काएर नयाँ निमार्ण नगरिदिँदा विशेष गरी रङ्गेली-कटहरी खण्डमा दुर्घटनाको जोखिमसमेत उच्च हुँदै गएको स्थानीयको गुनासो छ। स्थानीय प्रमोदकुमार साह भन्छन्, 'दिनभरी धुलो उड्छ। श्वास फेर्नसमेत गाह्रो छ। दुर्घटनाको जोखिम उत्तिकै छ। यो सडकको दुरावस्था हरेर विकासको अनुभूति गर्न छोडिसकेका छौं।'
४४ किलोमिटरको रतुवा-केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी-रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर-केशलिया सडक निमार्णको कार्य अघि बढाइएको छ। तर निमार्ण कम्पनीको ढिलासुस्तीका कारण प्रक्रिया अघि बढाइएका अधिकांश सडकहरू अलपत्र अवस्थामा छन्। निमार्ण कार्यप्रति ठेकेदार कम्पनीहरूको असंवेदनशीलताका कारण सडक विस्तारको कार्यले गति पाउन नपाउँदा जनताको गाली आफूहरूले खानुपरेको निर्वाचित जनप्रतिनिधीहरू बताउँछन्।
'सडक विस्तारको नाममा ठाउँठाउँमा खनेर छोडिएको छ। बनाउनु नै थिएन भने भत्काउनु किन ?,' कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी भन्छन्, 'बनेको बाटो भत्काएर नयाँ नबनाउँदा आवागमन प्रभावित भएको छ। गाउँपालिका आवश्यक समन्वयका लागि तयार छ। निमार्ण प्रक्रिया नरोकियोस।'
हुलाकी राजमार्गमा ठेकेदार कम्पनीहरूले कार्ययोजना विपरीत आफूखुशी काम गर्दा त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकले व्यहोर्नुपरेको जनप्रतिनिधिको गुनासो छ। संशोधित मितिमा पनि काम सम्पन्न गर्न नसक्नु लज्जास्पद भएको उनीहरू बताउँछन्। तर, निमार्ण कम्पनीहरूले भने २०७७ सालभित्र सक्ने लक्ष्य लिइएको सडक निमार्ण मुआब्जा विवाद तथा साइट क्लियरिङका कारण केही ढिलाइ भएको बताउँदै आएका छन्।
यसबाहेक कोभिड महामारी र बढ्दो मुल्यवृद्धिका कारण पनि निमार्ण कार्य प्रभावित भएको पिएस गजुरमुखी मोतिदान जेभीका प्रतिनिधी दिपक गौतम बताउँछन्।
'कोभिड महामारीका कारण झण्डै १ वर्ष लस भयो। त्यसपछि पेट्रोलियम पदार्थ र विभिन्न निमार्ण सामग्रीमा बढेको मूल्यले पनि प्रभावित बनायो,' उनले भने, 'यद्यपि, हामी भदौ सुरुदेखि नै निमार्ण कार्यलाई गति दिन्छौं। संशोधित मितिमै निमार्ण कार्य सक्नेगरी अघि बढ्छौं।'
मोरङको रतुवा-केशलिया सडकखण्डअन्तर्गत रतुवामाईदेखि झुँगी टोलसम्मको १६.५ किलोमिटर सडकखण्डको निमार्ण सम्झौता भएको अढाई वर्ष भएको छ। २०७६ कात्तिक २४ मा सम्झौता भएको सो सडक २०७९ कात्तिक २३ सम्म सक्नुपर्ने लक्ष्य छ। तर हाल सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र छ। ७९ करोड ११ लाख ३५ हजार मा सम्झौता भएको सो सडकको प्रगति योजनाको तुलनामा एकदमै न्यून रहेको सुनसरीको इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मोरङ जिल्ला अन्तर्गतका अन्य हुलाकी सडकहरूको अवस्था पनि यस्तै छ।
कार्यालयका अनुसार पि.एस/गजुरमुखी/मोतिदान जेभीले ठेक्का लिएको सो सडकमा पछिल्लो अढाई वर्षमा टेवापर्खाल तथा कल्भर्ट निमार्ण र आंशिक रूपमा माटो पुर्ने कार्य मात्र भएको छ। निमार्ण कम्पनीलाई बारम्बार स्पष्टीकरण सोधिएको भएपनि निमार्ण कार्यले गति समात्न नसकेको कार्यालयका योजना प्रमुख इन्जिनियर विजय कुमार थापाले बताए। उनले यो समस्या रतुवा केशलिया सडकखण्डअन्तर्गतको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डमा पनि रहेको जानकारी दिए।
'०७६ कात्तिक २४ मा सम्झौता भएको सो बेतौनादेखि कटहरीसम्मको सडकको भौतिक प्रगति पनि २० प्रतिशतमा सीमित छ। यो वर्ष सक्नुपर्ने योजनामा हाल सडक संरचना र केही चेनेज निमार्ण कार्यको कार्य मात्र भएको छ,' उनले भने, 'करिब ७८ करोडको लागतमा निमार्ण सम्झौता भएको कम्पनीलाई १४ करोड बढी भुक्तानीसमेत भइसकेको छ। तर प्रगति भने निराशाजनक छ।'
मोरङमा निमार्ण कार्य जारी रतुवा केशलिया सडकखण्डअन्तर्गत झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्डको भौतिक प्रगति मात्र आशलाग्दो देखिएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सो खण्डको ७.५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। सडकमा आवश्यक संरचना निमार्णको कार्य समेत सम्पन्न भइसकेको जनाइएको छ।
यसबाहेक रतुवा केशलिया सडकखण्डअन्तर्गत नै कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरको १५ प्रतिशत, गान्धी मनमोहन मार्ग अन्तर्गत पथरीदेखि डाँस पुल र डाँसपुलदेखि रङ्गेलीसम्मको ३० किलोमिटरको ३० प्रतिशत तथा विराटनगरको गणेशचोकदेखि केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति ५ प्रतिशत देखिएको कार्यालयले दिएको तथ्याङ्कले देखाएको छ।
नेपालमा भने आर्थिक वर्ष २०६२/६३ सालबाट हुलाकी राजमार्ग विस्तारको कार्य सुरु भएको हो। नेपालको पूर्व-पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित राजमार्ग विस्तारको कार्य थालिएको थियो। राजमार्गले पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू-भागलाई समेटने भनिएको छ।
प्रतिक्रिया दिनुहोस !