राउटेमा हराउँदै सीप
दैलेख : कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउने राउटे लोपोन्मुख आदीबासीमा पर्छन्। राउटे समुदाय एकै ठाउँमा बस्दैनन्। उनीहरू जंगल, पहाडको खोंच तथा नदी किनारमा बसाइ सरिरहन्छन्। आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएको राउटे समुदायमा विभेद छैन। राउटेमा कल्याल, रास्कोटी र सोमबंशी गरी तीन जाति छन्।
काठका भाडाकुँडा र सामग्री बनाउनु राउटेको मुख्य सीप हो। जंगलमा काठका भाँडा बनाएर खाद्यान्नसँग साँटेर राउटेले आफ्नौ दैनिक जीवन गुर्जादै आएका छन्। हाल दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघर चौरमा बसोबास गरिरहेका उनीहरूको काठका भाँडाकुडा बनाउने सीप र पेशा भने संकटमा पर्न थालेको छ। पहिले राष्ट्रिय वनमा निस्फिक्री राउटेले कु–काठ काट्न पाउँथे। काठका भाँडाकुडा बनाउँथे। तर, पछिल्लो समय राष्ट्रिय वन समुदायमा हस्तान्तरण भएपछि राउटेले काठ काट्न पाउँदैनन्।
त्यसैले राउटेको पेशा नै संकटमा पर्न थालेको हो। काठको अभाव, बिक्री नहुने समस्या र बजारमा प्रतिस्पर्धाका कारण राउटेले बनाउने काठका भाँडाकुडाले स्थान लिन नसक्दा राउटेको सीप नै संकटमा पर्न थालेको हो। अहिले राउटेको जीविकोपार्जनको मुख्य स्रोत सामाजिक सुरक्षा भत्ता र सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सहयोग मात्रै छ। राउटेका महामुखिया महिनबहादुर शाहीले पहिले जस्तो आफूहरूले काठका भाँडाकुडा बनाउन छाडेको बताए।
राउटे युवा प्रकाश शाहीले आफूले सामान बनाएर गाउँमा गए पनि पहिलेजस्तै सामान बिक्री हुन छाडेको दुखेसो पोखे। ‘पहिले गाउँमा पुग्नेबित्तिकै हामीले बनाएका काठका भाँडाकुडा राखिहाल्थे, अन्न पनि भनेजति दिन्थे, अहिले त मान्छेलै लिनै छोडे’ उनले भने। एकसय ४४ जना जनसंख्या रहेको यो समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ।