पोखरीमा डुबेर दुई जनाको मृत्यु

पोखरीमा  डुबेर दुई जनाको मृत्यु

राजविराज : पोखरीधनी र अभिभावकको लापर्बाहीका कारण पोखरीमा डुबेर मङ्गलबार सप्तरीमा दुई जनाको मृत्यु भएको छ। सप्तरीमा मंगलबार दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ लालापट्टीस्थित आफन्तको घर पाहुना आएका झापाको घैलाडुब्वा-६ घर भएका संजय पण्डितका छोरा दुई वर्षीय दिप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको छ। उनी परिवारसहित मामाली हजुरबुवा देवनारायण पण्डितको घर आएका थिए।

गाउँको डिहबार थानको पूर्वमा रहेको पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर डुबेको बालकको मृत्यु भएको हो। गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताए।

यसैगरी विष्णुपुर गाउँपालिका-३ बस्ने सिताराम सदाको छोरा ३५ वर्षीय लल्कु भनिने शिवशंकर सदाको पोखरीमा डुबेर मृत्यु भएको छ। विष्णुपुर गाउँपालिका १ र ३ को सीमामा रहेको कट्टी मुसहरीस्थित सार्वजनिक पोखरीमा फुलेको कमलको फुल टिप्न गएका सदाको डुवेर मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

घट्नास्थलमा पुगेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र बरख दल गणका नेपाली सेनाको २० जनाको टोलीले सदालाई उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको थियो। उपचारका क्रममा सदाको मंगलबार दिउँसो मृत्यु भयो।

पोखरीहरूमा डुबेर निरन्तर मृत्यु हुँदासमेत राज्य बेखबर र पोखरी धनी लापरवाह देखिएको लालापट्टीका राजेन्द्र सदाले बताए। तराई मधेसमा नदी, खोला, पोखरी, नाला, खाल्डोमा डुबेर मृत्यु हुनेको संख्यामा कमी आउन नसकेको सप्तरीका डिएसपी माधव काफ्लेले बताए।

मादक पदार्थ खाएका, छारे रोग लागेका, पानीको गहिराइको वेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ। तर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी रहेको छ। गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेको संख्यामा वृद्धि, पोखरीधनी र अभिभावकको लापर्बाहीका कारण बर्सेनि पानीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ छ। 

सप्तरीका डिएसपी काफ्लेका अनुसार अभिभावकबाट निगरानी हुन नसक्दा घटनामा वृद्धि भएको छ। कामको व्यस्तता र बालबालिका के गर्दैछन भनेर अभिभावकहरूले ध्यान पुर्‍याउन नसक्दा डुबेर मृत्यु हुनेमा बालबालिका बढी रहेको भन्दै डिएसपी काफ्लेले घरनजिकै पर्याप्त मात्रामा पोखरीहरू हुनु र पानीको निकास नहुनु घटनाको कारण रहेको बताए।

पोखरी धनी र अभिभावकको लापरवाहीसँगै अशिक्षा, गरिबी, विपन्नताका कारण समेत पानीमा डुबेर मृत्यु हुने गरेको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.