डिजिटल प्रिन्टिङ कार्पेट भित्र्याउने लक्ष्य छ
३५ वर्षअघि वितरक कम्पनीका रूपमा सुरु भएको फेसन फर्निसिङ ट्रेडिङ कम्पनीले अहिले आफ्नै उत्पादन सुरु गरिसकेको छ। आन्तरिक कम्पनीमा कार्पेट र गलैंचा उत्पादनमा प्रेस्टिजले छुट्टै पहिचान बनाउन सफल भएको छ। उत्पादनलाई उपभोक्तामाझ पुर्याउनका लागि नै कम्पनीले आगामी फर्निचर तथा फर्निसिङ एक्स्पोमा टाइटल स्पोन्सर पनि गरेको छ। कम्पनीका सञ्चालक अनिल महेश्वरीसँग अन्नपूर्णकर्मी सुनिता कार्कीले गरेको कुराकानी।
यस फेसन फर्निसिङ ट्रेडिङ कम्पनीले के कसरी काम गर्दै आइरहेको छ ?
फेसन फर्निसिङ ट्रेडिङ कम्पनी ३५ वर्षअघि स्थापना भएको हो। सुरुवात गर्दा भारतबाट सामान ल्याएर नेपाली बजारमा बेच्ने वितरकको रूपमा कम्पनी चलेको थियो। नेपालमा उद्योग कलकारखाना खुल्न थालेपछि यहाँको स्थानीय उद्योगको वितरक बन्यौं। सबैभन्दा पहिला नेपाली उत्पादन एसटी कार्पेटको वितरक बन्यौं।
त्यसपछिका वर्षमा क्रमशः प्रेसटिज म्याट, त्रिवेणी गु्रपको डल्फिन चेयर, हेरिटेज कार्पेटलगायतको एकमात्र वितरकको भूमिकामा काम गर्यौं। भारतबाट पनि किंगक्वाल म्याट्रेस, क्वायटप म्याट्रेसको वितरक रूपमा रह्यौं। पछि, भारतकै ग्रिनप्यानल भन्ने ल्यामिनट पार्केटिङ नेपालमा भित्र्याउने हामी नै हौं। यो गर्दा गर्दा हामीले सन् २००२ देखि तेस्रो मुलुकबाट गलैंचा र कार्पेट आयात सुरुगर्यौं। बेल्जियम, दुबईलगायतका तेस्रो मुलुकबाट सेन्थेटिक कार्पेट आयात गर्न सुरु गरेका हौं। कार्पेट र गलैंचा आयात गर्न थालेको पनि २० वर्ष भइसक्यो।
प्रेस्टिज कार्पेटको उदय कसरी भयो ?
विभिन्न अन्य कम्पनीका उत्पादनको वितरकको रूपमा काम गर्दै गयौं। यसले हामीलाई ती उत्पादनको ज्ञान र बजारका बारेमा जानकारी हुँदै गयो। बजार जसोजसो बढ्दै गयो। सोही अनुरूप सन् २०१८ मा हामीले आफ्नै उद्योग सञ्चालन गर्नुपर्छ भनेर प्रेस्टिज कार्पेट सुरुगर्यौं। हाम्रो उद्योगले अहिले बनाइरहेको कार्पेट पहिला युरोपबाट आयात गर्ने गथ्र्यौं। अहिले हामीले युरोपले प्रयोग गर्ने प्रविधिको नै प्रयोग गरी आन्तरिक रूपमा कार्पेट उत्पादन सुरु गर्न थालेका छौं। कोभिड आएपछि व्यवसायमा अलिकति मन्दी आएको थियो। पछिल्लो डेढ वर्षयता पुनः पूर्ण क्षमतामा नै सञ्चालन भइरहेको छ।
हाम्रो उद्योग वीरगन्जको परवानीपुरमा अवस्थित छ। अहिले कार्पेटको आयात घट्दै गइरहेको छ। नेपालमा प्रयोग हुने कार्पेटको ७५ प्रतिशत हिस्सा आन्तरिक उत्पादनले नै धानिरहेको छ।
कम्पनीले आगामी दिनमा कस्ता उत्पादन ल्याउँदै छ ?
हाम्रो लक्ष्य भनेको डिजिटल प्रिन्टिङ कार्पेट नेपालमा भिœयाउने हो। करिब तीन महिनामा यसको उत्पादन सुरु गर्छौं। नेपालमा बनिरहेको कार्पेट भनेको धागोले बुनेको हो। अहिले एउटा नयाँ प्रविधि आएको छ जसमा प्लेन कार्पेटमा प्रिन्ट गर्न मिल्ने हुन्छ। यसलाई होटलहरूको बैक्वट हलमा हाल्ने करिडोर कार्पेट अब हामी उत्पादन गर्न सक्छौं। हामीले आवश्यक मेसिनहरू अर्डर गरिसकेका छौं।
कार्पेट तथा गलैंचाको बजार कस्तो छ ?
अहिलेको बजार आर्थिक संकटले गर्दा गतिशून्य भएको छ। तर, होटल थपिँदै छन्। यस्ता संरचनाको रिनोभेसन गर्दा पनि हाम्रा उत्पादन प्रयोग हुने गरेको छ। कार्पेटको मार्केट हामीले ठूलै देखेका छौं। सरकारले केही सहयोग गर्ने हो भने हामी निर्यात पनि गर्न सक्छौं।
निर्यात गर्न सरकारले के गर्नुपर्ने हो ?
भारत, मलेसिया, इन्डोनेसिया, बंगलादेशजस्ता देशमा निर्यात गर्न सक्ने सम्भावना छ। तर यसका लागि सरकारले अनुदान दिनुपर्र्यो। हाम्रो वस्तु उत्पादनका लागि सबै कच्चापदार्थ बाहिरबाट आउँछन्। यसले खर्च बढाउँछ। यस्तोमा निर्यात गर्दा पनि सरकारले अनुदान नदिने हो भने हामी दुबईको, युरोपको कम्पनीसँग प्रतिस्पर्धा गर्नै सक्दैनांै।
चाइनिज उत्पादनसँग हाम्रो उत्पादनको प्रतिस्पर्धा कस्तो छ ?
चाइनामा कार्पेट बाहिर बेच्ने गरी बढी उत्पादन हँुदैन। उनीहरूले निर्यातका लागि नै उत्पादन गर्ने गर्छन्। हाम्रो बढी आउने भनेको युरोपबाट हो। तीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता छ। तर सरकारले हामीलाई हेर्दिनुपर्र्यो।
निर्यातका लागि यहाँबाट कोलकाता कन्टेनरमा बोडिङ गर्दाको खर्च नै बढी छ। प्रतिकन्टेनर २५ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। त्यहाँबाट दुवै वा अन्य मुलुक लैजाँदा थप भन्सार तिर्नुपर्छ। त्यसले गर्दा ५ देखि ७ प्रतिशतले हाम्रो लगानी बढी पर्छ। यसमा सरकारले अनुदान दिन जरुरी छ। सरकारले हाम्रो कस्टिङलाई घटाउने हो भने विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छौं।
हाम्रा उत्पादन अरू भन्दा भिन्न कसरी छन् ?
हामीले नेपालमा बनाइरहेको प्रेस्टिजको कार्पेट भनेको अमेरिकन र अस्ट्रेलियन प्रविधिबाट बनाइरहेका छौं। जुन कार्पेट उद्योगमा विश्वकै वेस्ट प्रविधि हो। हाम्रा मेसिन इन्डियन वा चाइनिज छैनन्। प्रविधिमा हामीले सम्झौता नगरेको हुनाले उच्चस्तरीय गुणस्तर र फिनिसिङ कार्पेट उत्पादन गर्दै आइरहेका छौं। हाम्रा उत्पादनमा मूल्य प्रतिस्पर्धी पनि छन्। आयातितभन्दा १५ देखि २० प्रतिशतले हाम्रो उत्पादन सस्तो छ।
हाम्रा कार्पेट ९ सय रुपैयाँ मिटरदेखि ३ हजार रुपैयाँ मिटरसम्मका छन्। अहिले हामीले आईएसओ गुणस्तर पाउनका लागि पनि कसरत गरिरहेका छौं। यो भयो भने गुणस्तरको प्रत्याभूतिसँगै सरकारी टेन्डरमा प्रतिस्पर्धा पनि गर्न सक्छौं। ४० करोडको लगानीमा स्थापनाको भएको यो कम्पनीले करिब ५५ जनालाई रोजगारी दिइरहेको छ। ६ वितरक कम्पनीबाट बिक्री वितरण गर्दै आइरहेका छौं।
आन्तरिक उत्पादनलाई बढावा दिन के हुनुपर्छ जस्तो लाग्छ ?
उत्पादनका लागि सरकारको नीति सजिलो हुन पर्र्यो। कच्चा पदार्थ आयातमा भन्सार छुट भयो भने राम्रो उत्पादन बजारमा आउन सक्छ। मूल्य समायोजन हुन सक्छ। निर्यात हुन नसक्दा हाम्रो उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन।
मासिक ३ लाख वर्गमिटरसम्म उत्पादन गर्न सक्ने क्षमता भए पनि ५० प्रतिशत मात्रै उत्पादन हुँदै आइरहेको छ। निर्यात गर्न नसकेर पूर्ण क्षमतामा चल्न सकेको छैन। नेपालमा भएको मागको पूर्ति भइरहेको छ। उच्चस्तरीय प्रविधि भएकोले बिजुली खपत पनि कम छ। अटोमेटिक मेसिन छ। निर्यात गर्न पाए हुन्थ्यो। कच्चा पदार्थका लागि धागो पनि बाहिरबाट ल्याउनुपर्छ भने त्यसलाई बाँध्ने केमिकलहरू पनि बाहिरबाट नै ल्याउनुपर्छ।
एक्स्पोको टाइटल स्पोन्सर नै गर्नुको कारण के होला ?
अब हुन गइरहेको एक्स्पोमा आन्तरिक रूपमा कार्पेट र गलैंचा उत्पादनमा हामी सक्षम छौं, भन्ने उपभोक्तालाई देखाउन चाहन्छौं। आयातीत कार्पेटभन्दा नेपाली कार्पेट कमका छैन भन्ने देखाउन पनि यो एक्स्पोमा भाग लिन लागेका हौं।
अहिले पनि उपभोक्ताको धारणा नै नेपाली उत्पादन राम्रो हुँदैन भन्ने छ। तर, हामीले गुणस्तरलाई प्रमाणीकरण गरेपछि विदेशी उत्पादनलाई किन महँगो तिर्ने ? उपभोक्तालाई नेपाली उत्पादन पनि विदेशीभन्दा भन्ने कम छैन भन्ने बुझाउनका लागि यो मेलाले सहयोग गर्ने अपेक्षा छ।
अहिले आर्थिक संक्रमणको बेलामा यस्तो आयातलाई झन् निरुत्साहित गर्नुपर्छ भन्ने हेतुले नै फर्निचर एक्स्पोको टाइटल स्पोन्सर लिइएको हो। प्रेस्टिज कार्पेट, विदेशीभन्दा पनि राम्रो भन्ने नाराका साथ आगामी फर्निचर तथा फर्निसिङ सामग्रीको बृहत् प्रदर्शनीको स्पोन्सर गरेका हौं।
हामीले लगातार यो तेस्रो पटक टाइटल स्पोन्सर गरेका हौं। योभन्दा अघिका दुई वटा एक्स्पोमा आयातित वस्तु जेम्स फ्लोरिङका साथ टाइटल स्पोन्सर गरेका थियौं। पहिलोपटक आफ्नै र स्वदेशी उत्पादनलाई चिनाउनका लागि प्रेस्टिज कार्पेटका नाममा टाइटल स्पोन्सर गरेका हौं। नेपाली भन्दैमा नराम्रो हुँदैन भन्ने वस्तुको पहिचान दिलाउने यो मेलाको मुख्य उद्देश्य रहेको छ।