दोहोरो कर सङ्कलनको विरोधमा प्रदर्शन
विराटनगर : कवाडी व्यवसायीहरूसँग दोहोर कर सङ्कलन गर्न खोजिएको भन्दै उनीहरूले विराटनगर महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन्।
कवाडी व्यवसायीहरूसँग लिइँदै आएको दोहोर करको अन्त्य हुनुपर्ने मागसहित आइतबार उनीहरूले प्रदर्शन गरेका हुन्।
नियम विपरीत टेण्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत् घुमाउरो शैलीमा महानगरले दोहोर कर असुल्न खोजेको उनीहरूले बताएका छन्।
राजश्व सङ्कलनको नाम दिएर महानगरले कवाडी व्यवसायीहरूलाई विस्थापित बनाउने प्रयत्न गरेको उनीहरूको आरोप छ।
आर्थिक वर्ष २०७८/७९ मा महानगरले ३२ लाख रुपैयाँमा कवाडी कर सङ्कलनको ठेक्का लगाएको थियो। तर, चालु आर्थिक वर्षमा त्यसमा १० प्रतिशतले वृद्धि गर्दै महानगरले ३५ लाख रुपैयाँमा कर सङ्कलन ठेक्का लगाएको छ।
सोही करको दर घटाउनुपर्ने माग कवाडी व्यवसायीहरूको छ। महानगरले वृद्धि गरेको करका कारण पसल व्यावसाय बन्द गर्नुपर्ने अवस्था आईपरेको मोरङ कवाडी व्यवसायी संघका अध्यक्ष नुरुल हकले बताए।
'महानगरको करको चपेटामा परेर व्यवसाय डुब्न आँटेको छ,' उनले भने, 'माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिन्छौं।'
निर्वाचनका बेला नगरप्रमुख नागेश कोइरालाले करको दर घटाउने प्रतिबद्धता गरेका थिए। तर, हाल उक्त प्रतिबद्धता विपरीत करको दर बढाइएपछि कवाडी व्यवसायीहरू सन्तुष्ट छैनन्।
कारोबार पहिले जस्तो नाफामूलक नरहेपछि कर मात्र तिरेर पेट पाल्न नसकिने उनीहरू बताउँछन्। मेयर र उप-मेयरलाई पटकपटक ज्ञापनपत्र बुझाएर उनीहरूले करको दर घटाउने विषयमा ध्यानाकर्षण समेत गराइसकेका छन्।
तर, हालसम्म माग सुनुवाइ नभएको कवाडी व्यवसायी संघ विराटनगरका सह-सचिव सन्तोष साह बताउँछन्।
'महानगरपालिका भित्रको फोहोरको व्यवस्थापनमा कवाडी व्यवसायीहरूको ठूलो भूमिका छ। तर, कर बढाएर हामीलाई हतोत्साहित पार्ने प्रयास गरिएको छ,' उनले भने, 'स्थानीय सरकारको अनुभूति गर्न छाडिसकेका छौं।'
कवाडी व्यवसायीले महानगरमा व्यवसाय नवीकरण शुल्कबापत पाँच हजार, आन्तरिक राजश्वमा १३ प्रतिशत आयकर र सात हजार पाँच सय वाणिज्य कर बुझाउने गरेका छन्।
कारोबार गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर सहितको बिलसमेत उनीहरूले काट्ने गर्दछन्। तर, हाल सोही व्यवसायीलाई महानगरले दोहोरो करको चपेटामा पारिदिएको उनीहरूको गुनासो छ।
तर, महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नै करको दर निर्धारण गरेको तर्क गर्दै आएको छ।
'हामीले कवाडी कर लगाउने विषयमा राजश्व परामर्श समितिसँग आवश्यक सल्लाह गरेका छौं। सुझाव लिएका छौं,' महानगरकी उप-प्रमुख शिल्पा निराला कार्कीले भनिन्, 'नियम विपरीत केही गरिएको होइन्।'
विराटनगरमा करिब एक सयको हाराहारीमा कवाडीको कारोबार गर्ने व्यवसायी छन्। सहरका सडकमा फ्याँकिएका नकुहिने फोहोरजन्य वस्तु (कवाडी) सङ्कलनपश्चात् कवाडी व्यवसायीलाई बिक्री गरिन्छ। औद्योगिक क्षेत्रमा उत्पादन भएका कवाडीको समेत खरिदबिक्री हुने गर्दछ।
प्रतिक्रिया दिनुहोस !