बाजुरामा घर भत्किँदा एकको मृत्यु
बाजुरा : जगन्नाथ गाउँपालिका-१ मा अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ। एक जना महिला घाइते भएकी छन्।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका-१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन्। घाइते हुनेमा उनकी आमा रहेकी छन्। घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रभुालाल गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारीपछि प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाइतेको उद्दार गरिएको छ। सोही गाउँमा पहिरोमा परी ३ परिवार बिस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए।
लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढेसँगै जगन्नाथ गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीले कटान गर्दा जोखिममा परेको छ। प्रहरी चौकी उच्च जोखिममा रहेको हुँदा चौकीको टोली सोही स्थानमा निर्माणाधीन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
त्यसैगरी हिमाली गाउँपालिकाको कवाडीमा रहेको प्रहरी चौकीसमेत कर्णाली नदी र कवाडी खोलामा पानीको बहाब बढ्न गई अस्थायी प्रहरी पोष्ट कवाडीसमेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अविरल वर्षाका कारण स्वामीकार्तिक खापर गापा-४ फैतास्थित कालिका आधारभूत विद्यालयको भुँइतले ३ कोठे पक्की भवनमा माथिबाट पहिरो आई भवन पुरिएको जिल्ला प्रहरी कार्याययका प्रहरी प्रमुख सूर्यबहादुर थापाले बताए।
हिमाली गाउपालिका-५ कवाडी बजारको माथिबाट पहिरो आउदा कवाडी बजारमा रहेका ७ वटा घरहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विस्थापित परिवारहरूलाई प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारेको प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !