सात वर्षमै राष्ट्रिय खेलाडी

सात वर्षमै राष्ट्रिय खेलाडी

पोखरा : राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने सबैभन्दा ठूलो र महत्वपूर्ण प्रतियोगिता हो, राष्ट्रिय खेलकुद। देशभर छरिएर र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिन्छ।

राष्ट्रिय खेलकुदको यही मर्म, भावना र उद्देश्य अनुरुप नै नवौं राष्ट्रिय खेलकुदमा होमिएका छन्, सात वर्षीय संस्कार न्यौपाने। नेपालगन्जका संस्कार नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। उनी पौडीको ५० मिटर फ्रिस्टायलमा देशका चर्चित खेलाडीसँगै पौडी पोखरीमा उत्रिँदै छन्। 

उनले सुरुमा ५० मिटर फ्रिस्ट्याल र ब्रेथस्टोकमा प्रतिस्पर्धा गर्ने तय भएपनि एउटा प्रदेशबाट एउटा इभेन्टमा दुई जना खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउने नियमका कारण उनले फ्रिस्ट्यालमा मात्रै प्रतिस्पर्धा गर्न लागेको लुम्बिनी प्रदेशका पौडी प्रशिक्षक चन्द्रराम चौधरीले बताए।

ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाइसकेका खेलाडीसँग सानो उमेरका खेलाडीले प्रतिस्पर्धा गर्न गाह्रो भएपनि संस्कारले राम्रो प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरे। ‘सात वर्षीय बालकलाई सिनियर तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ। तर, उसले आफ्नो टाइमिङमा सुधार गर्नेछ भन्ने विश्वास छ’, प्रशिक्षक चौधरी भन्छन्, ‘उसको पनि राम्रो गर्नुपर्छ भन्ने सोच छ।’

संस्कार नेपालगन्जको आदर्श सेकेन्डरी स्कुलमा कक्षा तीनमा अध्ययनरत छन्। उनी जिल्ला, प्रदेश छनोट पार गर्दै नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हुन्। सोमबार हुने आफ्नो प्रतिस्पर्धामा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य उनले राखेका छन्। ‘जिल्ला र प्रदेशमा भन्दा पनि राम्रो प्रदर्शन गर्छु’, संस्कार भन्छन्।

संस्कार चार वर्षको उमेरदेखि पौडीमा रमाउन थालेका हुन्। उनले होटल सिद्धार्थको पोखरीबाट पौडीको प्रारम्भिक शिक्षा सुरु गरेका हुन्। उनलाई सोही होटलका प्रशिक्षक दीपक परियारले प्रशिक्षण दिँदै आएका छन्। पानीमा खेल्न रमाउने संस्कार अरुले खेलेको हेरेर पौडीमा आकर्षित भएको उनका बुवा केशव न्यौपानेले बताए। सुरुमा रहरले पौडी खेल्दै आएका संस्कारले अहिले भने राष्ट्रिय खेलाडी नै बन्ने लक्ष्य बोकेका छन्। उनी गर्मी मौसममा हरेक दिन बेलुका दुई घण्टा प्रशिक्षण गर्छन्। 

संस्कारका बुवा केशव पनि छोराको इच्छालाई पूरा गर्न लागिपर्ने बताउँछन्। ‘संस्कार पौडी र साइक्लिङमा रुची राख्छ। जाडो मौसममा साइकल चलाउँछ भने गर्मीमा पौडी खेल्छ। उसले जुन खेल खेल्छु भन्छ, त्यसमा हामीले सहयोग गछौं’, केशव भन्छन्, ‘संस्कार खेलकुदसँगै पढाइमा पनि तेज छन्। हरेक परीक्षामा राम्रै गर्दै आएका छन्।’ 

लुम्बिनी प्रदेशका पौडी प्रशिक्षक चौधरी परिवारको साथ र सहयोगका कारण पनि संस्कार भविष्यमा राम्रो खेलाडी बन्नसक्ने बताउँछन्। ‘संस्कारलाई परिवारको पनि राम्रो सपोर्ट छ। छोराको इच्छा र चाहनालाई परिवारले पनि बुझ्नु भएको छ’, उनी भन्छन्, ‘त्यसैले संस्कार भविष्यमा देशको राम्रो खेलाडी बन्ने छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.