गोबरगाढाको मतपेटिका यसपटक हेलिकोप्टरबाट

गोबरगाढाको मतपेटिका यसपटक हेलिकोप्टरबाट

राजविराज : सप्तकोशी नदीको भंगालो क्षेत्रभित्र रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाको मतपेटिका हेलिकप्टरबाट ढुवानी हुने भएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मतदान सकिँदा साँझ अध्याँरो भइसक्ने र ढुंगा (नाउ)बाट मतपेटिका ल्याउन असुरक्षित भएकाले हेलिकोप्टरको माग गरिएको बताए। हेलिकोप्टरको व्यवस्थाका लागि माग गरिएकोमा निर्वाचन आयोग सकारात्मक देखिएको प्रजिअ थापाले बताए।

गत साउनमा सप्तकोसीको बाढीले गोबरगाढास्थित विद्यालय भवन र स्वास्थ्य चौकी क्षेत्र कटान गरेर बगाएपछि नयाँ मतदानस्थल निर्माणका लागि जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले स्थलगत अनुगमन गरेर हेलिकप्टरको आवश्यक्ता बोध गरेका हुन्। 

आगामी निर्वाचन, शान्ति सुरक्षा तथा सेवा प्रवाह लगायतका विषयमा सुरक्षा समितिको टोलीले स्थानीय जनप्रतिनिधि र समुदायसँग छलफल समेत गरेको वडाअध्यक्ष कुशेश्वर यादवले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी थापाले सुरक्षा निकायलाई मतदान गरेर सकाउने मात्रै नभई मतदानपछि निर्वाचन कार्यालयमा मतपेटिका पुर्‍याउने, मतगणना गरेर अन्तिम नतिजा सार्वजनिक गर्ने जिम्मेवारी रहेको बताए। 

सो कार्यका लागि सुरक्षा प्रवन्धका विषयमा जिल्ला सुरक्षा समितिले स्पष्ट योजना बनाएको उनले बताए। सुरक्षा संवेदनशीलता भएपनि स्वच्छ, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाइएको भन्दै थापाले कानुनको परिधिभित्र रहेर जस्तो सुकै बल प्रयोग हुन सक्ने बताए।

सप्तरीमा २९५ मतदान स्थलमध्ये २०८ मतदान स्थल अति संवेदनशील, ८३ मतदान स्थल संवेदनशील र चार मतदान स्थल सामान्य रहेका छन्। 

सप्तरीका एसपी अविनारायण काफ्लेले निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपश्चात् गरेर सुरक्षा प्रबन्धलाई तीन चरणमा वर्गीकरण गरेर काम गरिरहेको बताए। 

'बिहान ७ बजेदेखि राति १० बजेसम्म पनि मतदान स्थलको अनुगमन निरीक्षणको कार्य भइरहेको छ।' उनले भने 'मतदान स्थलको अवस्था र सुधार गर्नुपर्ने विषयमा छलफल र साधनस्रोत जुटाउने काम भइरहेको छ।' 

प्रहरीका अनुसार मतदान अधिकृत, उम्मेदवारको सुरक्षा तथा प्रचार प्रसारका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच दोहोरो झडप नहोस् भन्नेतर्फ पहिलो ध्यान केन्द्रित गरिएको छ। 

सुरक्षा व्यवस्थाका लागि ७ सय ६६ नेपाल प्रहरीसँगै ३ हजार २७८ म्यादी प्रहरीलाई जिल्लाभरी खटाइएको र व्यापक चेकजाँच भइरहेको एसपी काफ्लेले बताए। मतदानका लागि ८७१ प्रहरी थपिने उनले जानकारी दिए।

सप्तरीमा निर्वाचन सम्पन्न गर्न प्रहरी र म्यादी प्रहरी बाहेक साढे पाँच सय सशस्त्र प्रहरी, साढे चार सय नेपाली सेना, २१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र ४ हजार ७९८ कर्मचारीको प्रत्यक्ष सहयोग रहने छ।   

हाल भारतबाट नेपाल प्रवेश गर्नेहरूको रेकर्ड राख्ने काम भइरहेको छ। यो अवधिमा निर्वाचन अवधिका लागि सात जनाले साना हतियार बुझाएका छन्। 

सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका लागि सीमा सुरक्षा व्यवस्थापन लगायतका विषयमा बिहार प्रान्तको सुपौल जिल्ला अधिकारीसँग हालै सप्तरी र सुनसरीका सुरक्षा पदाधिकारीको संयुक्त बैठक सम्पन्न भएको छ। 

मधुबनी जिल्ला अधिकारीसँग पनि छिटै नै नेपाल भारत सीमा जिल्ला समन्वय समितिको बैठक गरेर आवश्यक छलफल तथा निर्णय गर्न लागिएको प्रजिअ थापाले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.