विराटनगरमा अग्नि नियन्त्रण तथा उद्दार तालिम
विराटनगर : विराटनगर महानगरपालिकाको आधारभूत अग्नि नियन्त्रण तथा उद्दार कार्यको ६ दिने तालिम सम्पन्न भएको छ।
विभिन्न प्रकारका अग्नि नियन्त्रणको डेमोसहित मंगलबार महानगरको उक्त तालिम सम्पन्न भएको हो।
महानगरपालिका सहित आसपासका क्षेत्रहरूमा आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरणमा सघाउ पुग्ने उद्देश्यका साथ मंसिर ७ गतेदेखि तालिम सुरु भएको थियो।
महानगरको वारुणयन्त्र र नगर प्रहरीका कुल २० जना प्रशिक्षार्थीहरूलाई तालिम प्रदान गरिएको महानगरले जनाएको छ। महानगरका अनुसार वारुणयन्त्रका १३ र नगरप्रहरीका ७ जनालाई तालिम दिइएको हो।
विशेषगरी सीमित श्रोतसाधनको अधिकतम उपयोग र त्यसको प्रयोग लगायतका विषयमा विपदमा खटिने महानगरका कर्मचारीहरूलाई तालिम दिइएको महानगरका नगरप्रहरी प्रमुख राजन पौडेलले बताए।
आगोको प्रकार र नियन्त्रणका उपाय लगायतका बिषयलाई तालिमको मुख्य बिषयवस्तु बनाइएको महानगरले जनाएको छ। महानगरले मंगलबार तालिम अवधिमा प्रशिक्षार्थीहरूले सिकेका विषयको डेमो समेत गरेको छ। विराटनगरको पोखरिया, अर्पण र डन बोस्को स्कुलका विद्यार्थीहरूलाई डेमो देखाइएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !