किन बढ्दैछ सवारी दुर्घटना ?
काठमाडौं : काभ्रेको बेथानचोकमा मंगलवार बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए। सोही दुर्घटनामा एकै घरमा ६ जनाको ज्यान गयो। ओरालोमा ब्रेक फेल हुदा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। मंसिर २६ गते जाजरकोटको छेडागाड गाउँपालीकामा जिप दुर्घटना भयो। उक्त दुर्घटनामा १२ जनाको ज्यान गयो। जन्ती बोकेको उक्त जिप दुर्घटनामा एकै परिवारका ५ जना परेका थिए।
हालै भएका ठुला दुर्घटनाका यी केही उदाहरण मात्रै हुन्। मुलुकमा हरेक दिन सवारी दुर्घटना भइरहेका छन्। दर्जनौंको ज्यान जान्छ। घाइते र अपांगता बढदै गएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को एक प्रतिवेदनले नेपालमा हुने अकाल मृत्युको पहिलो कारण नै सवारी दुर्घटना भएको औंल्याएको छ। अपांगता हुनुको पहिलो कारण पनि सवारी दुर्घटना नै भएको प्रतिवेदनको ठहर छ।
नेपाल प्रहरीका अनुसार सडक दुर्घटनामा परी पछिल्लो ५ वर्षमा १३ हजार ८१ जनाले ज्यान गुमाएका छन्। १ लाख बढी मानिस घाइते भए। तीमध्ये ३५ हजार बढी व्यक्ति गम्भीर घाइते भए। पछिल्लो समय सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। सवाारी दुर्घटनाकै कारण बर्सेनी हजारौं मानिसको ज्यान जोखिममा परे पनि दुर्घटना न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन।
प्रहरीको तथ्यांकअनुसार देशभर भएका दुर्घटनामा आव २०७५/७६ मा २२ हजार ८७ वटा सवारी दुर्घटना भएका थिए। जसमा २ हजार ७ सय ८९ जना मानिसले ज्यान गुमाए। ४ हजार ३७६ जना गम्भीर घाइते भए भने १० हजार ३६० जना सामान्य घाइते भएका थिए। यस्तै, आव २०७६/७७ मा २५ हजार ७८८ वटा सवारी दुर्घटना भए। जसमा २ हजार २५१ जनाले ज्यान गुमाए। ४ हजार ६१५ जना गम्भीर घाइते भए। आव २०७७/७८ मा ३३ हजार १३५ वटा सवारी दुर्घटना भए। जसमा २५ सय जनाको मृत्यु भयो। ६४ सय ४८ जना गम्भीर घाइते भए। आव २०७८/७९ मा ३९ हजार ३७९ वटा सवारी दुर्घटनामा २ हजार ८८३ जनाले ज्यान गुमाए भने ७ हजार २८२ जना गम्भिर घाइते भए।
यस्तै, उपत्यका ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा उपत्यकामा ४१ हजार ४७९ वटा साना ठूला सवारी दुर्घटना भए। जसमध्ये ५ हजार ९८७ सवारी दुर्घटना तीव्र गतिकै कारण भए। पछिल्लो तीन वर्षमा तीव्र गतिमा सवारी कुदाउने ३३ हजार ९६४ जना सवारी चालक कारबाहीमा परेका छन्।
किन हुन्छ सवारी दुर्घटना ?
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार ८० प्रतिशत दुर्घटना चालकको लापरवाहीबाट हुने गरेको छ। १० प्रतिशत सडक र वातावरणका कारण तथा १० प्रतिशत यान्त्रिक गडबडी वा प्राविधिक कारणले दुर्घटना हुने गरेका छन्। उपत्यका ट्राफिक महाशाखाका सह प्रवक्ता अवदेश विष्ट सवारी चालक संवेदनशील नहुँदा दुर्घटना बढ्ने गरेको बताउँछन्। ‘सडकमा अत्यन्तै लापरबाही छ,’ विष्टले भने, ‘ट्राफिक कन्टोल रूममा बसेर उपत्यकाको सीसीटीभी फुटेज हेर्नुभयो भने चालकहरूले ज्यानसँग कति लापरबाही गरेका हुन्छन् भन्ने देखिन्छ। ’
सडकमा ट्राफिक प्रहरी देखिएन भने ठूला सवारीसाधन मात्रै होइन दुई पांग्रे र साइकल यात्रीले समेत लेन अनुशासन उल्लंघन गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार यू टर्न गर्ने, जथाभावी पार्किङ गर्ने, ओभरस्पिडमा चलाउने र लाइसेन्स नभई सवारी कुदाउनेलगायतका नियमको उल्लंघन हुने गरेको छ। लागूपदार्थ र मापसे सेवन गर्नेबाट लेन अनुशासन धेरै नै उल्लंघन हुने गरेको उनले बताए।
नेपालभर हरेक दिन ४८ देखि ६० वटा दुर्घटना हुने बताउँदै प्रहरी प्रवक्ता राईले प्रत्येक दिन सरदरमा ७ देखि १५ जनाको मृत्यु सवारी दुर्घटनाबाट हुने गरेको तथ्यांक सुनाए। उनका अनुसार दुर्घटनाबाट हरेक दिन ४८ देखि ५५ जना घाइते हुन्छन्। सबैभन्दा बढी दुर्घटना दुईपाङग्रे सवारीको हुन्छ। राई भन्छन्, ‘सडकमा गल्ती गर्नेलाई लाग्ने जरिवाना र सजाय पनि कमी भयो। सडकको खाल्डाखुल्डी टाल्ने, दुरुस्तै बनाउने, जोखिम स्थानमा संकेत राख्नेलगायतका कार्यमा सरोकार निकाय नै एक भएको देखिन्न। यातायात मन्त्रालयले विभागको कमजोरी, विभागले ट्राफिकलाई दोष दिएर पन्छिएको देखिन्छ।
दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम ल्याएको बताउँदै राईले प्रहरीले सडकका सबै समस्या समाधान गर्न नसक्ने बताए। सडक भत्कनु, चिह्नहरू नहुनु, सवारी चालक अनुमतिपत्रलगायतको कार्यहरूमा सवै निकायले समन्वयकारी भूमिका खेल्नुपर्छ।
सुरक्षित यात्राको अधिकार सार्वजनिक बहसमा परेन
सडक सुरक्षामा कार्यरत संस्था नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई सडक दुर्घटनाबाट हुने मृत्युलाई मृत्युको रुपमा हैन सरकारले अप्रत्यक्ष तरिकाले गरेको हत्याको रुपमा लिनुपर्ने तर्क गर्छन् ।
उनका अनुसार सडकको कमजोर संरचनाका कारण दुर्घटना बढ्छ।। चालक अनिदो, मापसे, लापसे, गरेर तथा थाकेर सवारी कुदाउनु, ट्राफिक प्रहरीले रेगुलर चेक नगर्नु, सडक विभागले समयमै सडक नबनाउनु, भत्किएको सडकमा सवारी कुद्नु, सडक र सवारीलाई चुस्त दुस्त बनाउन आवश्यक ऐन नियम नपुगेको भट्टराईको तर्क छ। उनी भन्छन्, ‘गाडीको इन्जिन क्षमता कस्तो छ ? बढी यात्रु बोक्ने, सम्बन्धित सरकारी निकायले लेन अनुशासन कार्यान्वयनमा लापरवाही। यात्रुहरुको उपस्थिति कस्तो, सडकको अवस्था कस्तो हो ? विचार गर्नुपर्ने हुन्छ।’
उनी भन्छन्, ‘भर्खरै मात्रै प्रदेश तथा प्रतिनिधि सभा सदस्यको चुनाव सक्यौ। विभिन्न माग गर्यौ। युवा नेतालाई विजयी गरायौं। तर सार्वजनिक सवारी सुरक्षाका विषयमा कसैले उठाएनौं। हामी सबैको प्राथमिकतामा पर्ने विषय हो दीगो सडक र सडक सुरक्षा। तर सडक सुरक्षा, भयरहित तबरले यात्रा गर्ने व्यवस्था हुनुपर्ने माग कहिल्यै गरेनौं। हामीलाई अत्यन्तै आवश्यक तर सम्बन्धित पक्षले सम्बोधन गर्न छुटेको विषय हामीले पनि उठाउन किन सकेनौं ?’
क्षमता नभएका चालकले सवारी कुदाएपनि केहि नभन्ने सरकार हत्यारा नै भएको भट्टराईको भनाई छ। उनले भने, ‘यहाँ निरन्तर चेकजाँच नै छैन, सवारीको प्राविधिक परीक्षण नै छैन। हाम्रो ऐन नियम नै कमजोर छ।’
दुर्घटना हुनुमा नागरिकको केहि दोष नभएको भन्दै भट्टराईले सुरक्षित यात्राको अधिकार सार्वजनिक बहसको विषय बन्न आवश्यक रहेको बताए। ‘राजनीतिक पार्टीको प्राथमिकतामा पर्न पर्यो। संसदमा छलफल हुनुपर्यो। सरकार यतिको मृत्यु भयो, यति घाइते भए भनेर टाउको गनेर बसेर हुन्छ र ? ’ उनले प्रश्न गरे।
नीति निर्माता र पहुँचवाला व्यक्ति जबसम्म सार्वजनिक सवारीमा यात्रा गर्दैनन् तबसम्म दुर्घटनाको अवस्था नसुध्रने उनको दाबी छ। ‘सडक लामोभन्दा पनि सडक व्यवस्थित, ढल, पेटिसहितको चौडा भएकोगुणस्तरको सडक बनाउनपर्छ। ड्राइभिङ स्कुलको गुणस्तर सुध्रनुपर्छ। सुरक्षाको मापदण्ड पालना गर्नुका साथै सवारीको पनि प्राविधिक पक्षको गुणस्तर हेरिनुपर्छ। तबमात्र दुर्घटना कम हुन्छ।’