ओह ! मेरो ढाड

ओह ! मेरो ढाड

पवित्रा मगर, २६ वर्षीया विवाहित गृहिणी हुन्। विगत केही समयदेखि उनलाई तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्याले सताएको छ। ४० वर्षीया हेमा आलेको पनि उस्तै समस्या छ। उनलाई पनि तल्लो पेट दुख्ने, योनि मार्गबाट सेतो पानी जाने तथा चिलाउनेजस्ता समस्याले सताएको छ। लता शर्मा, १९ वर्षीया अविवाहित किशोरी हुन्। उनलाई विगत केही समयदेखि योनिमार्गबाट सेतो पानी जाने समस्या थियो। लाजका कारण धेरै दिनसम्म समस्यालाई लुकाएर राखे पनि समस्या बढ्दै गए पछि र चिलाउन पनि थालेपछि मात्र उनी परीरक्षणका लागि अस्पताल आइन्। स्त्रीरोग विभागमा आउने अधिकांश महिलामा यस्ता समस्याहरू रहने गरेको पाइन्छ। कतिलाई त ढाड मात्रै दुख्ने भएकाले हड्डी विभागमा परीक्षण गराएर स्त्रीरोग विभागमा आउने गरेको पाइन्छ।  

यी समस्याहरू फरकफरक देखिए पनि एउटै रोग (पीआईडी) का कारण भएको हुन सक्छ। बिरामीको लक्षण, पाठेघरको परीक्षण तथा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) लगायतका परीक्षणहरू गरेर पीआईडी अर्थात् (पेल्भिक इन्फल्मेटरी डिजिज) भएको वा नभएको पत्ता लगाउन सकिन्छ। १५ देखि ३९ वर्षका करिब १३ प्रतिशत महिलामा पीआईडी देखिने गरेको विभिन्न तथ्यांकहरूले देखाएको छ। २० देखि २४ वर्षको उमेरका महिलामा २० प्रतिशतसम्म देखिने यो समस्या यौन रोगहरूको संक्रमण रहेकाहरूमा यसले बढी सताउने गरेको पाइन्छ। हाम्रो देशमा यो समस्या ३ देखि १० प्रतिशत प्रजनन उमेरका महिलामा हुने गरेको अनुमान गर्न सकिन्छ। 

पीआईडी अर्थात् पेल्भिक इन्फल्मेटरी डिजिज मुख्य रूपमा महिलाको यौन अंगहरूको संक्रमण हो। यस अवस्थामा एउटा जीवाणुले मात्र संक्रमण नगरेर विभिन्न थरीका धेरै वटा जीवाणुहरूले यौनाङहरूलाई संक्रमण गरेको हुन्छ। अण्डबाहिनी नली, अण्डाशय, पाठेघर तथा यसका वरिपरिका जीवाणुहरूले संक्रमण गरेको अवस्थालाई नै पीआईडी भनिन्छ। समान्यतया विवाहित महिलाहरूमा अर्थात् यौनकार्यमा सक्रिय रहेका महिलामा यो समस्या आउने गर्छन्। तर अविवाहित तथा किशोरीहरूलाई पीआईडी नहुने चाहिँ होइन। नाइसेरिया गोनोरिया, क्लामेडिया ट्राइकोमाटिस्, माइकोप्लाज्मा, ई.कोलाई, स्ट्रेप्टोकोकस् आदि जीवाणुहरूले पेल्भिक इन्फल्मेटरी डिजिज गराउने हुन्छ।

तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनाङ चिलाउने, मन्द ज्वरो आउने तथा पिसाबको खराबी हुने यस रोगका लक्षणहरू हुन्। योनिमार्गबाट सेतो पानी तथा पिप बग्ने वा गन्हाउने पानी बग्ने यस रोगका प्रमुख लक्षण हुन्। पीआईडी भएका महिलामा मानसिक तनाव पनि हुन सक्छ। त्यसैले यस्तो बेला खानामा रुचि कम हुने, टाउको दुख्ने आदि पनि हुन सक्छ। एक पटक पीआईडी भएका महिलालाई पटकपटक यो दोहोरिने भएकाले यसले महिलाहरू बढी तनाव महसुस गरेको पाइन्छ। सबै महिलालाई सबै लक्षणहरू नदेखिएको हुन सक्छ। अधिकांशलाई सेतो पानी जाने वा गन्हाउने पानी बग्ने गरेको पाइन्छ। कतिलाई ढाड तथा कम्मरको दुखाइमात्रै पनि हुन सक्छ। करिब २० प्रतिशत पीआईडी भएका महिलालाई बाँझोपन अर्थात् गर्भ नरहने हुन सक्ने तथ्य विभिन्न अध्ययनहरूले देखाएको छ। त्यस्तै, यसैका कारण कति महिलालाई तल्लो पेट दुख्ने समस्याले जरो गाडेको हुन्छ। पीआईडीका कारणले नै इक्टोपिक प्रिग्नेन्सीसमेत हुन सक्ने हुन सक्छ।

पीआईडीलाई यौन रोगमा लिइँदैन। तर यौनसँग यस्को गहिरो सम्बन्ध छ। यो समान्यतयाः विवाहित महिलालाई हुने गर्छन् र प्रजनन उमेरमा हुन्छ। धेरै जना यौन साथीहरू भएका महिला तथा पुरुषका पत्नीहरूमा बढी मात्रामा पीआईडी हुने गरेको पाइन्छ। सामान्य अवस्थामा योनिमार्गमा रहेको जीवाणु पनि यौन सम्पर्कको अवस्थामा माथि अर्थात् पाठेघर संक्रमण गर्ने हुन्छ। राम्रोसँग र पूूर्ण अवधि उपचार नगर्नु अनि यौन साथीलाई उपचार नगर्नाले पटकपटक पीआईडी भइरहने हुन सक्छ।

पीआईडीबाट बच्न सरसफाइ तथा यौन व्यवहारमा सतर्कता अपनाउनु पर्छ। यो सामान्य जीवाणुहरूको संक्रमणले हुने र सजिलै उपचार गर्न सकिने भएकाले आत्तिनु पर्दैन। चिकित्सकको सल्लाहबमोजिम केही एन्टिबायोटिक्सको प्रयोगले पीआईडीबाट सजिलै मुक्त हुन सकिन्छ। तर कतिपय अवस्थामा योनिमार्गबाट बगेको पानीको परीक्षणलगायत अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन सक्छ। धेरै पटक श्रीमान् र श्रीमती दुवैले औषधिहरू प्रयोग गर्नुपर्ने हुन सक्छ। हुन त ढाड दुख्ने कारण धेरै हुन सक्छ। तर प्रजनन उमेरको महिलामा ढाड दुख्ने कारण पनि पीआईडी हुन सक्छ। र पीआईडीको उपचार गरे आराम हुन सक्छ। चिकित्सकले सुझाएको अवधिमा सही तरिकाले यसको उपचार गरे बाँझोपन तथा इक्टोपिक प्रेग्नेन्सीजस्ता जटिलताहरूबाट बच्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.