पोखरामा बस्नै लाग्दा खस्यो जहाज : ६९ को निधन, ३ को खोजी जारी

आन्तरिक उडानको ठूलो दुर्घटना

पोखरामा बस्नै लाग्दा खस्यो जहाज : ६९ को निधन, ३ को खोजी जारी

पोखरा : पोखरामा आइतबारको मौसम उडान योग्न नै थियो। ६८ यात्रु र चालक दलका ४ सदस्यसहित काठमाडौंबाट उडेको यती एयरलाइन्सको कल साइन नाइन एन–एएनसी (एटीआर ७२) विमानले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमाथिको आकाश पार गरिसकेको थियो। विमानस्थलको टावरसँग पनि सम्पर्क भयो। टावरका प्राविधिक र पाइलटबीच जहाज पश्चिमतिर फन्को मारेर फर्कने जानकारी साटासाट भयो। सोहीअनुसार जहाज अगाडि बढ्यो। १० बजेर ५० मिनेटपछि टावरसँग जहाजको सम्पर्क टुट्यो। तत्काल जहाज सेती नदीको खोचमा खसेको खबर आयो। 

काठमाडौंबाट पोखरा आउने जहाज नयाँ विमानस्थलमा अवतरण गर्नुअघि पुरानो विमानस्थलको आकाश पुगेर फन्को मार्छन्। आइतबार यती एयरलाइन्सको नाइन एन– एएनसी जहाज त्यसै गर्ने गरी पुरानो एयरपोर्टतिर जाँदै थियो। ‘टावरसँग कन्ट्याक्ट गरेरै उता गएको हो,’ नयाँ एयरपोर्टका एक कर्मचारीले अन्नपूर्णसँग भने। पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नलाग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खस्यो।  

जहाज दायाँ घुमेर फेरि नयाँ एयरपोर्टमा अवतरण पुग्नुपर्नेमा सेती नदी पार गर्नुअघि नै बायाँ कोल्टिएर खसेको प्रत्यक्षदर्शी बताउँछन्। त्यस्तै भिडियो सामाजिक सञ्जालमा पनि आएका छन्। जहाज खस्नुअघि नै जहाज आकाशमै कोल्टिएको दुर्घटनास्थल वरिपरिको घरका बासिन्दा बताउँछन्। ‘धन्न जहाज सेतीमा खस्यो, हाम्रो घरतिर ठोक्किएन,’ एक स्थानीयले भने, ‘घरहरूतिर ठोक्किएको थियो भने अझै धेरै क्षति हुनसक्थ्यो।’ जहाज आकाशमै देब्रेतिर कोल्टिएको एक प्रत्यक्षदर्शीले खिचेको भिडिओमा पनि देखिन्छ। 

दुर्घटना भएको जहाजमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्चालनमा आएको हो। नेपाली हवाई इतिहासमा यति धेरैजना दुर्घटनामा परी ज्यान गएको यो नै पहिलो आन्तरिक उडान हो। नेपाल नागरिक उड्डयन प्राधिकरणको रेकर्डअनुसार मुलुकमा अहिलेसम्म १ सयभन्दा धेरै जहाज दुर्घटना भएका छन्। 

विमान अवतरणको तयारीमा रहँदासम्म सम्पर्कमै रहेको अवस्थामा सेतीमा दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। चालक दलका चार सदस्यसहित ७२ जना सवार विमान पोखराको पुरानो विमानस्थलदेखि करिब २ सय मिटरभित्रै सेती नदीको गल्छीमा दुर्घटना भएको हो। ७२ मध्ये ६८ जनाको शव दुर्घटनास्थलबाट सुरक्षाकर्मीले निकालेका छन्। ४ जनाको आइतबार राति अबेरसम्म खोजी भइरहेको थियो। समाचार तयार पार्दासम्म फेला पर्न सकेन।

सेती खोंचमा दुर्घटना भएपछि उद्धार गर्न सुरक्षाकर्मीलाई निकै समस्या परेको थियो। दुर्घटना भएको २० मिनेटभित्रै दमकल, खानेपानीको ट्यांकरलगायत मद्दतले जलिरहेको जहाजको आगो निभाइएको प्रत्यक्षदर्शीले बताएका छन्। गहिरिएर बगेको सेतीको करिब २ देखि ३ सय मिटरसम्म पुगेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले शवहरू निकालेका थिए। 

दुर्घटना भएको जहाजमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

दुर्घटनास्थलनजिकै घर भएकी प्रत्यक्षदर्शी कमला गुरुङका अनुसार पुरानो विमानस्थल हुँदै घुमेर नयाँ विमानस्थलतर्फ (पूर्वतर्फ) अवतरणका लागि उड्दै गरेको विमान घरहरूनजिकै भएर उडेको थियो। विमान एक्कासि सेतीको खोंचमा बजारिएको उनले सुनाइन्। विमान चालकले बस्ती जोगाउने गरी खोंचमा खसालेको जस्तो गरी सेतीमा विमान बजारिएको उनले बताइन्। विमान दुर्घटना अघि विमानको आवाज नै फरक र डरलाग्दो आएको अर्का प्रत्यक्ष दर्सी ८७ वर्षीय बबरजंग गुरुङले सुनाए। 

विमान दुर्घटना भएसँगै ठूलो आवाजसहित आगो लागेको र धुवाँ आएको पनि उनले जानकारी दिए। विमान दुर्घटनापछि उछिट्टिएर विमानको टुक्रा आफ्नो घर परिसरमा खसेको र विमानबाट प्लास्टिकको कप आफ्नो घरको छतमा खसेको पनि गुरुङले बताए। जीवनमै यस्तो डरलाग्दो र भयभित हुने दुर्घटना पहिलो पटक देख्नु पर्दा सारै दुःख लागेको उनले सुनाए। दुर्घटनास्थलबाट ६८ जनाको शव निकाली पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। राति बत्ती बालेर पनि शव निकाल्ने काम भएको थियो। 

उद्धार निकै चुनौतीपूर्ण

प्रहरी वरिष्ठ हवलदार श्याम श्रीवास्ताव र उनको टोली आइतबार जहाज दुर्घटना भएको थाहा पाउनेबित्तिकै सेती खोंच पुगेको थियो। टोली डोरीबाट तल झरेर उद्धारमा खटिएको उनले सुनाए। दुर्घटना भएको जहाजको आधा डिलमा रहेको र आधा नदीको खोंचसम्म पुगेको उनले बताए। ‘जहाज पूरै टुक्राटुक्रा भएको थियो,’ उनले भने, ‘जहाजमा सवार मान्छेहरूको कोहीको टाउको, कोही खुट्टा त कोहीको हात जलेको थियो।’ कुनैको भने चोटपटक लागेर रक्ताम्य भएको अवस्थामा पनि भेटिएको उनले सुनाए। 

सेती खोंच गहिरो भएको हुँदा क्रेनसमेत लगाएर उद्धार गरिएको थियो। सेती २ सयदेखि साढे दुई सय मिटरसम्मको गहिराइ भएकाले निकै सकस भएको श्रीवास्तवले सुनाए। भित्र ठूला खोल्सा, पहरो, ढुंगाहरू रहेको पनि उनले बताए। भिरमा तीनजनाको शव अड्केको र रात परेकाले निकाल्न नसकिएको उनको भनाइ थियो। गहिरो गल्छीमा सास फेर्न पनि गाह्रो हुने उनले सुनाए। क्रेनका कारण एकैपटक ४/५ वटा शव बाँधेरै निकाल्न सकिएको जानकारी उनले दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.