नाटकीय सत्तारोहणका परिदृश्य

नेपाली राजनीतिमा पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला तीन दशक संशय, आशा र विचलनको इपिसेन्टरमा रहेका पात्र हुन्।

नाटकीय सत्तारोहणका परिदृश्य

समसामयिक नेपाली राजनीतिमा अनपेक्षित र नाटकीय परिदृश्यहरू देखिएका छन्। १ सय ६९ सांसदको समर्थन लिएर प्रधानमन्त्रीको दाबी गर्न शीतल निवास पुगेका पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट भने असाधारण रूपमा विश्वासको मत पाए। कांग्रेससँग सत्ता सहकार्य गरेर निर्वाचनमा होमिएका प्रचण्ड अन्त्यमा कांग्रेसलाई नै पाखा लगाउँदै एमालेसँग सत्ता साझेदारमा पुगे। सत्ता साझेदारीका लागि चामत्कारिक कदम लिएका प्रचण्ड संसद्बाट विश्वासको मत लिने क्रममा पनि उस्तै नाटकीय रूपमा २ सय ६८ सांसदको मतसहित बहुमतमा उभिए। कांग्रेसले पनि उनलाई विश्वासको मत दिएपछि नेपाली राजनीतिमा अझै नाटकीय परिदृश्यहरू बाँकी नै रहेका हुन् कि भन्ने संकेत देखाएको छ।

नेपाली राजनीतिमा प्रचण्ड पछिल्ला तीन दशक संशय, आशा र विचलनको इपिसेन्टरमा रहेका पात्र हुन्। उनको एकातिर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका सूत्रधारको ओजिलो पहिचान छ भने अर्कातर्फ विग्रह, विस्मात र वितृष्णाको विगत छ। उनको राजनीतिक सुरुआत सनसनीपूर्ण थियो। ती चमकहरू हराएका छन्। यतिबेला परिपक्वता र शासकीय अनुभवले निखारिँदै गएको प्रतीत हुन्छ। विश्लेषण गर्नेहरूले विभिन्न आयाममा दृष्टिकोण दर्ज गर्लान्। पंक्तिकार भने प्रचण्डका राजनीतिक आरोह अवरोहले नेपालको राजनीतिलाई संक्रमणमुक्त हुन नसकेका पक्षमा निःसंकोच उभिन्छ।

माओवादी अध्यक्ष प्रचण्ड देशको ४४औं प्रधानमन्त्रीमा नियुक्त भए। त्यसपछिको योे तेस्रो पटकको सत्तारोहण अवसर र चुनौती हो उनको। सत्ता साझेदारीको प्रमुख दल नेकपा एमालेका नेतृत्वसँग विगतको तितो अनुभूति छ। सरकारको नेतृत्वमा प्रचण्ड आसीन रहे पनि शक्तिको केन्द्र भने केपी ओलीकै हातमा छ। उनले चाहँदा र नचाहँदा जुनसुकै राजनीतिक चाल चल्न सक्ने प्रशस्त आधार छन्। राजनीतिको निकै सम्भावनाको मोडमा प्रचण्ड उभिए पनि यो सत्तारोहण उनका लागि सहज र सरल भने छैन। अहिले प्रधानमन्त्रीको पदका लागि प्रचण्ड कांग्रेस र एमालेसँग बार्गेनिङ गर्न मिल्ने उपयुक्त परिवेशमा थिए। तर सत्ताको भोग, मोह र मर्ममा भने उनले कांग्रेसलाई पाठ र नेकपा एमालेलाई लाज, नैतिकता र नियतिको नीतिकथा प्रस्तुत गरेका छन्।

सत्ता, शक्ति र सम्मानका लागि प्रचण्डले जस्तोसुकै चाल चल्न सक्छन् भन्ने उदाहरण पछिल्ला राजनीतिक प्रयोगहरूले देखाएका छन्। नेपाली राजनीतिमा सबैभन्दा धेरै नरम र उस्तै कडा रूपमा पनि उपस्थित हुने र हरेक राजनीतिक मोडलाई आफू अनुकूल प्रयोग गर्न माहिर मानिन्छन् उनी। झन्डै डेढ दशक अगाडि नयाँ जोस र दृष्टिकोणसहित पहिलो पटक सत्तारोहण गरेका थिए उनले। उनकै शब्दमा ‘अहंकार’का कारण सत्ताबाट विमुख भए। जनताको अपार विश्वास पनि क्रमिक रूपमा गुमाए। शान्ति सम्झौताको प्रक्रियापश्चात सुरु भएको माओवादीको सत्तारोहण अहिलेसम्म विमुख छैन। सबैभन्दा धेरै समय सत्तामा बस्ने पार्टी हुँदा पनि जनमतमा भने निरन्तर कमजोर हुँँदै गएको दृष्टान्त भने खस्किँदो परिणामले देखाइरहेको छ। त्यो गुमेको विश्वासलाई जीवित बनाउन सायद यो माओवादी र प्रचण्डका लागि अन्तिम अवसर हो।

एकातिर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका सूत्रधारको ओजिलो पहिचान बनाएका प्रचण्डको अर्कातर्फ विग्रह, विस्मात र वितृष्णाको विगत छ।

पछिल्लो समय नेपाली राजनीतिक परिवेश बदलिएको छ। समाजले हरेक पटक विकल्पको चाहना मतमार्फत प्रस्तुत गरेका छन्। तर, ती विकल्पहरू सार्थक रूपमा भने उत्रिन सकिरहेका छैनन्। हुन त राजनीतिमा विकल्पको ढोका सधैं खुल्ला हुन्छ। आधुनिक राजनीतिशास्त्रका अनुसार, राजनीतिक विकल्प अपेक्षा र अभ्यास निरन्तर चल्ने प्रक्रिया हो। प्रचण्डको यो सत्तारोहणबाट पनि अपेक्षा राख्नु सही नहोला। उनले आफू अनुकूल राजनीतिक प्रयोगवादी अभ्यासहरू गर्नु पनि सामान्य मानिएला। उनीसामु भने अहिले उभिएको धरातलबाट एक कदम अगाडि फड्किएर छलाङ मार्ने विकल्प भने छैन। विश्वासको मत कायम गर्न सके सत्ता जोगिएला तर उनले भनेजस्तो रूपान्तरणकारी परिर्वतनका लागि भने सम्भावना कमजोर छन्।

प्रचण्डको पहिलो सत्तारोहण उत्साह, अपेक्षा र अहंकारको भरिभराउ थियो। दोस्रोमा सामान्य रूपमै सत्ता विमुख भए पनि तेस्रो सत्तारोहण भने निकै सकशपूर्ण छ। जीवनको उत्तराद्र्धमा सुखद राजनीतिक सन्देश प्रवाह गर्न प्रचण्ड सन्तुलित, संयम र कौशल शासकीय नेतृत्वदायी भूमिका प्रस्तुत गर्नुपर्ने संघीन घडीमा छन्। तर, सत्ता साझेदारी दलका मन्त्रीहरू विगतका प्रकरण, प्रशासनिक संयन्त्रमा तीव्र असन्तुष्टि, राजनीतिक नैतिकताका प्रश्नहरूले उनलाई खेदिरहेको हुनेछ। यद्यपि नयाँ र भर्खरै उदयमान पार्टी र युवा पुस्तासँगको जोस, जाँगर र कार्यसम्पादनको तालमेल पनि उस्तै चुनौतीपूर्ण हुन सक्छ। पार्टीभित्रको मर्यादाक्रम, पदीय जिम्मेवारी र शक्ति बाँडफाँटमा पनि उस्तै संघर्षपूर्ण परिस्थिति उनमा देखिन्छ।

विगतको कार्यकालमा नातावाद, कृपावाद, पारिवारिक र पार्टीका संकुचित घेराबाट बाहिर निस्किन नसकेको आरोपलाई यसपटक प्रचण्डले उपलब्धिमूलक कार्यसम्पादनबाट प्रमाणित गर्नु पर्ने हुन्छ। जुन कुरा उनका विश्वासिला पात्रहरूका सचिवालयबाट प्रभावकारी कार्यसम्पादनमा नवीनता देखाउनु पर्नेछ। नेपालको आमुल परिर्वतनको एजेन्डासहित जनयुद्धमा होमिएका थिए प्रचण्ड। जसले अब शान्ति प्रक्रियाको टुंगो, समयानुकूूल कानुन निर्माण, नीतिगत सुधार, सुशासन र समृद्धिको मनोकांक्षालाई सम्बोधन गर्नु पर्नेछ। वैज्ञानिक समाजवाद र आधुनिक साम्यवादका सिद्धान्तका बारेमा पार्टीका प्रशिक्षणमा निकै माहिर ढंगले प्रस्तुति दिनेमा पर्छन् प्रचण्ड। सरकारको निश्चित स्रोत र साधनबाट वर्तमान जनअपेक्षालाई पुष्टि गर्ने अहम् दायित्व उनमा छ। वैचारिक रूपमा भने प्रचण्ड यसपटक निखारिएका छन्। माक्र्सवाद र कम्युनिस्टलाई फ्यूजन 
गरी प्रचण्ड पथको सूत्रधार गरेका उनी आफ्नै विगतका नीतिहरूबाट भने विचलित हुँदैछन्।

राजतन्त्र, हिन्दू धर्म, धार्मिक–सांस्कृतिक, जातीय पहिचान र संघीयताका पक्षहरूका बारेमा फरक दृष्टिकोण राख्थे प्रचण्ड। तर आज तिनै परम्परावादी दलसँगको सहकार्यमा सत्ताको नेतृत्व गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा छन्। संसद् विघटनपछि संविधानको रक्षा गर्न सडकबाट आन्दोलन चर्काएका प्रचण्ड फेरि सूर्यको रापतापमा परेका छन्। यो कदमलाई प्रतिगमनको संज्ञा उनैले दिएका थिए। फेरि त्यही पश्चगमनकारी कदमको वरिपरि रहेर आदेश पालनामा सरिक भएका परिदृश्य देखिन्छन्। यसले उनलाई अहिले झन् बढी विचलनमा पुर्‍याएको राजनीतिक विश्लेषकहरूको धारणा छ। अहिले संसद्मा समेत संसद् विघटनको सार्थकता कायम गर्ने र त्यसविरुद्ध संविधानको रक्षा र कानुनी शासनका पक्षधरबीचको आरोप प्रत्यारोपसमेत चर्किरहेको छ। यो सन्दर्भमा प्रचण्डका आगामी कदम कस्ता हुन्छन् भन्ने निकै संशय देखिन्छ।
प्रचण्डले बेलाबेलाका भाषणमा भन्ने गिरिजाबाबुले सुम्पिएको कार्यभारलाई जनताका लाभमा परिणत गर्ने विषय साँच्चिकै सोच हो भने प्रमाणित गर्ने मौका आएको छ। विगत कार्यकाललाई पुष्टि गर्ने अन्तिम अवसर पनि हो यो। संसदीय गणितमा तेस्रो स्थान जम्मा ३२ सांसदको संख्यामा रहेर पनि सत्ताको नेतृत्व गर्नु प्रचण्डको चातुर्यता प्रशंसनीय नै हो। निर्वाचनबाट कुनै पनि दलले बहुमत नपाएपछिका विडम्बना संसदीय गणितले सत्ताको बागडोरलाई खुल्ला राखेको हो। 

प्रचण्ड ‘डायनामिक पर्सनालिटी’ भएका नेता भए पनि पछिल्ला राजनीतिक कदमहरूले विदेशी शक्तिकेन्द्रलाई भने ‘पर्ख र हेर’को स्थितिमा पुर्‍याएको छ। चीनसँग नजिकिँदो सम्बन्ध भए पनि भारत र अमेरिकासँगको सम्बन्धलाई सुमधुर गराउन भने उनलाई फलामका च्युरा चपाउन जस्तै गाह्रो हुन सक्ने भूराजनीतिक र विदेश नीतिका जानकारहरूको बुझाइ छ। नेपालसँगको कूटनीतिक सन्तुलन, अन्तर्राष्ट्रिय निकायसँग समधुर सम्बन्ध कायम राखेर राष्ट्रिय हितमा प्रयोग गरी सार्थक कार्यकालका रूपमा उत्रन प्रचण्डले विश्वासका आधारमा सहकार्यको यात्रा तय गर्नुको विकल्प छैन।

विगतमा एमसीसीमा देखिएको द्वन्द्व, चीनसँगको सुरक्षा मामिलामा उब्जिएका प्रश्न र बीआरआई परियोजनाका द्विविधा, भारतसँगको बढ्दो दूरी, सीमा सुरक्षा र ईपीजीको प्रतिवेदनमाथि छलफल गर्ने प्रयत्न सजिलो छैन। अमेरिकी आँखामा देखिएको संशयको घेरालाई चिर्न प्रचण्डले धेरै मेहनत गर्नुपर्ने देखिन्छ। युरोपमा नजिकिँदै गरेको आर्थिक संकटबाट नेपाललाई त्राण दिन पनि प्रचण्डका प्रभावकारी कदमहरूको अपेक्षा बढ्दो छ। मानव अधिकार र दण्डहीनताका सन्दर्भमा अन्तर्राष्ट्रिय निकायहरूले गरिरहने प्रतिप्रश्नहरूको सामना गर्न पनि सहज छैन।

नेपालले भूराजनीतिक जटिलतालाई हेरेर भारत, चीन वा अमेरिकासँग असंलग्नताको नीतिमा अडिग हुन जरुरी छ। आर्थिक सहायता र विकासका सन्दर्भलाई भने दूरदर्शिताका आधारमा अघि बढाउने रचनात्मक भूमिका प्रचण्डले देखाउन पर्ने समय आएको छ। यसका लागि भने उनले कति प्रभावकारी कदम लिन सक्छन् त्यो परीक्षणको दायरामा छ। प्रचण्ड क्रमभंगताको मोह, नाटकीय प्रस्तुति, आइस ब्रेकको सूत्रधारका पहिचानले होइन कि विश्वासका साथ नेतृत्वमा सबैको मन जित्नुपर्ने अवस्थामा छन्। जनयुद्धका घाइते, पीडित र बेपत्ता परिवारलाई सामाजिक न्याय र सामाजिक सुरक्षामा अनुभूति दिलाउनुपर्ने मोडमा उनी छन्। सत्य निरूपण तथा बेपत्ता आयोगको कार्य सम्पन्न गर्दै मानव अधिकार र मौलिक हकको कार्यान्वयन जोड दिनु उनको कर्तव्य बनेको छ।

सरकार चलाउने नीति तथा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले साझा कार्यक्रमहरूमार्फत शासकीय नवीनता दिन चाहे पनि राजनीति समीकरण र शक्ति सन्तुलनमा भने सकस देखिन्छ। भविष्यमा एमाले, साना र नयाँ पार्टीहरूको अतिरिक्त दबाब थेग्न नपरोस् भनेर प्रचण्डले संसद्को ठूलो दल कांग्रेससँग हात अगाडि बढाए। यसले निकट भविष्यमा एमाले र कांग्रेसबीच राजनीतिक टकराव हुने अवस्था पैदा हुन सक्छ। जुन सत्ता राजनीतिको दाउपेच उनकै लागि असहज हुने देखिन्छ। त्यसको असर सरकारको भविष्य र कार्यसम्पादनमा पनि पर्न सक्ने खतरा छ। सरकारलाई समर्थन गर्ने दलहरूका सर्तैसर्तले प्रधानमन्त्री सुरुदेखि दबाबमा देखिन्छन्।

संसद्बाट विश्वासको मत लिने क्रममा प्रचण्डले बिनापूर्वाग्रह सबै राजनीतिक दलसँग सहकार्य गर्ने बताए पनि कांग्रेस र एमालेसँग एकसाथ सन्तुलित सम्बन्ध बनाउन सजिलो छैन। प्रतिद्वन्द्वी दल एमालेको प्रमुख साथ र अन्य साना नयाँ दलको साथ लिएका प्रचण्डको सत्तायात्रा कतिञ्जेल जान्छ भन्ने निश्चित छैन। किनकि विग्रह, आरोप प्रत्यारोप र अस्थिरता नेपाली राजनीतिको स्थायी चरित्र रहँदै आएको छ। यद्यपि, शासकीय नविनता, रूपान्तरणकारी इतिहासलाई जोगाएर र जनकेन्द्रित अपेक्षालाई सम्बोधन गर्न भने प्रचण्डले फेरि नाटकीय शैलीमै कार्यसम्पादन गरेर देखाउनु परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.