धारा निर्माण भएको चार वर्ष बित्यो, पानी आएन
डडेल्धुरा : अमरगढी नगरपालिका-६ मा खानेपानीका लागि धारा निर्माण गरेको पनि चार वर्ष बित्यो।
तर पानी आउँदैन। खानेपानीका लागि भनेर अमरगढी नगरपालिकाको आर्थिक सहयोगमा धारा निर्माण भए। तर पानी नआउँदै जीर्ण हुन थालेको छ।
हिउँद नसकिँदै जिल्लाका अधिकांस बस्तीहरूमा खानपानीको अभाव हुन थालेको छ। पुराना जीर्ण खानेपानी योजनामर्मत नहुनु र लामो समयसम्म वर्षा नहुँदा सुख्खा मौसमका कारण खानेपानीको चरम अभाव खेप्नु परिरहेको स्थानीय बताउँछन्।
करिब अढाई सय घरधुरी रहेको यस गाउँमा खानेपानीमाको चरम अभाव जहिले पनि रहन्छ। अन्य दलित बस्तीमा समेत खानेपानी समस्या छ।
यस गाउँमा २०४८ सालमा खानेपानी योजना पुगेको थियो। तर मर्मत नभएको धेरै भयो। त्यसपछि करिव चार वर्षअघि पनि खानेपानीका लागि घरघरमा धाराहरू निर्माण भएका थिए।
तर पुराना योजना जीर्ण हुँदै जानु र नयाँमा बजेट अभावका कारण योजना सम्पन्न नहुँदै सकिनुले समस्या भएको वडा नम्बर ६ का वडाध्यक्ष केवि ताम्राकारले बताए।
छचोडागाउँमा आउने खानेपानी योजना दुमडा, सिमल भजनेउटा, गाउँभएर ल्याउनु पर्छ। योजना छचोडा नपुग्दै बाटोमै अल्पत्र हुन्छन।
२०७६ सालमा अमरगढी नगरपालिकाको करिब पाँच लाख रुपैयाँ लागतमा गाउँमा १० वटा धारा बनाइएका थिए।
२०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन, ट्यांकीहरू मर्मत गरी पानी सञ्चालन गरिएको पूर्व वडाध्यक्ष गोबिन्दराज भट्टले जानकारी दिए।
स्थानीयहरूले आफूलाई पायक पर्ने ठाउँमा पाइप काट्ने गरेको र लाइनको मर्मत नहुँदा धारामा जान नसकेको बताए।
प्रतिक्रिया दिनुहोस !