विराटनगर विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने

विराटनगर विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने
सुन्नुहोस्

विराटनगर : आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानका लागि विराटनगर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण हुने भएको छ।

विमानस्थलको मौजुदा ६.४८ बिगाहा क्षेत्रफलमा अत्यधुनिक सुविधासहितको नयाँ टर्मिनल भवन निर्माण हुने भएको हो। 

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोमबार भवनको शिलान्यास गरेका छन्। 

कुल १६ हजार २७७ वर्गमिटर क्षेत्रफलमा निर्माण हुन लागेको विमानस्थलको टर्मिनल भवन विशिष्टीकृत सुविधासहितको हुने जनाइएको छ। भवनमा १७ वटा टिकट काउण्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, ३ वटा भिआईपी कोठा र एउटा मिडिया कन्फरेन्स रुम रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। 

भवनमा धूमपान कक्ष, बालबालिकाका लागि खेल क्षेत्र, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राईभेट रुम र चालक दलहरूका लागि समेत छुट्टै कोठाको व्यवस्था गरिएको उनले जानकारी दिए।

‘हामीले अत्याधुनिक प्रविधियुक्त टर्मिनल भवन निर्माण गर्न लागिरहेका छौं। पोखरा र भैरहवा विमानस्थलको तुलनामा ठुलो टर्मिनल भवन विराटनगरमा हुँदैछ,’ उनले भने, ‘अहिले आन्तरिक हवाई यात्रुका लागि मात्र डिजाइन गरिएपनि भविष्यमा अन्तर्राष्ट्रिय हवाई यात्रुलाई पनि यहीबाट सेवा प्रवाह गर्ने अवधारणा छ।’

सुरक्षाका दृष्टिकोणले विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनमा सीसीटीभी क्यामेरा, फायर अर्लाम र हाइड्रेन्ट एण्ड स्प्रिङक्लर सिस्टम समेत जडान गरिने बताइएको छ। 

हवाई यात्रुहरूलाई स्वच्छ पानी खुवाउन वाटर ट्रिटमेन्ट प्लान्ट र चौबिसै घण्टा विद्युत आपूर्तिका निम्ति ब्याकअप जेनेरेनटर तथा युपिएसको पनि व्यवस्था गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार नयाँ निर्माण हुने टर्मिनल भवनबाट दैनिक १ हजार ८०० हवाई यात्रुहरूले सहज सेवा प्राप्त गर्नेछन्। 

भवन निर्माणका लागि २०७९ माघ ११ गते नै नागरिक उड्डयन प्राधिकरणले केसी डाँफे जेभी निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ। 

भ्याटबाहेक कुल २ अर्ब ४२ करोड ८ लाख ५६ हजार १७१ रूपैयाँको लागतमा भवनको निर्माण सम्झौता गरिएको विराटनगर विमानस्थलका प्रमुख रिन्जी शेर्पाले बताए। आगामी ३ वर्षभित्र भवनको निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए।

नयाँ टर्मिनल भवन निर्माणका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलको धावनमार्ग पनि विस्तार गर्ने भएको छ। 

हालको १५०० मिटरको रनवेलाई १७७० मिटरमा विस्तार गर्ने योजना प्राधिकरणले अघि सारेको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणाबमोजिम तीन हजार मिटरको रनवे बनाउने योजना भए पनि मुआब्जा विवादका कारण सो योजना अघि बढाउन नसकिएकाले तत्काल मौजुदा जग्गामै रनवे विस्तार गर्न लागिएको जनाइएको छ।

टर्मिनल भवनको शिलान्यास गर्दै सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नयाँ बन्ने टर्मिनल भवन प्रदेश १ का लागि कोशेढुंगा साबित हुने बताए। 

उनले सम्भाव्यता अध्ययन र आवश्यकता बुझेर भवनको निर्माण कार्य अघि बढाउन लागिएको जानकारी दिए। सम्झौता अनुसार समयमै निर्माण कार्य सम्पन्न गर्न उनले ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए।

विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि भने २०७६ असोज १९ गते नागरिक उड्डयन प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच त्रिपक्षीय लागत साझेदारीमा पत्रमा हस्ताक्षर समेत भइसकेको छ। 

उक्त सम्झौताकै आधारमा मन्त्रिपरिषदको २०७७ कात्तिक २७ गतेको बैठकले विमानस्थल विस्तारका लागि १२६ दशमलव ४६ बिगाहा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो। 

तर, बजेट अभावको कारण देखाउँदै सरकारले नै गत भदौ ३१ गतेदेखि जग्गा अधिग्रहणको काममा रोक लगाएको छ।

विराटनगर विमानस्थलबाट हाल भने बुद्ध एअर ७, यती एअरको ४, सौर्य एअरको २ र श्री एयरलाइन्सको ३ गरी दैनिक १६ वटा उडान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.