प्रेमका हत्याराहरूलाई जन्मकैद

प्रेमका हत्याराहरूलाई जन्मकैद
सुन्नुहोस्

राजविराज नगरपालिका-१ का २१ वर्षीय प्रेमको हत्या गरेको साढे चार वर्षपछि अदालतले जन्मकैदको फैसला सुनाएको छ।

राजविराज: वाइसिएल नेपाल राजविराजका सहसंयोजक प्रेमकुमार यादवको हत्या घटनामा तीन जनालाई जन्मकैदको सजाय भएको छ।

राजविराज नगरपालिका-१ का २१ वर्षीय प्रेमको हत्या गरेको साढे चार वर्षपछि अदालतले जन्मकैदको फैसला सुनाएको छ। राजविराज नगरपालिका-१२ का २५ वर्षीय मिथलेशकुमार यादव, राजविराज नगरपालिका-११ का २० वर्षीय आनन्दकुमार यादव र २९ वर्षीय जयप्रकाश यादवलाई जन्मकैदको सजाय भएको हो। राजविराज नगरपालिका-११ का १७ वर्ष १० महिना २१ दिनका किशोर र उदित भनिने बुधितनारायण यादवले सफाइ पाएका छन्।

आरोपितहरूले २०७५ असोज २३ गते विहान नौ बजे प्रेममाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते प्रेमको असोज २४ गते राति उपचारका क्रममा बिराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो। राजविराज नगरपालिका-२ स्थित पिस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा प्रेमलाई घेरा हाली आरोपितहरूले धारिलो हतियारले प्रहार गरी हत्या गरेको मृतकका बुवा भन्नालाल यादवले बताए।

मृतकको टोलवासी र परिवारका सदस्यहरूले राजविराजमा लाशसहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए। युवा समूहका बीच पटक–पटक झडप भएको र पुरानो रिसइवीका कारण प्रेमको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयले सबैभन्दा पहिले राजविराज नगरपालिका-११ का १७ वर्षीय बालकलाई असोज २८ गते पक्राउ गर्‍यो। अर्का आरोपित मिथलेशलाई असोज ३१ गते पक्राउ गर्‍यो । जिल्ला अदालतको मङसिर ४ गतेको आदेशमा मिथिलेश पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । पक्राउ परेका किशोर संरक्षक आमाको जिम्मामा तारेखमा रिहा भए । 

फरार रहेका राजविराज नगरपालिका-११ का २० वर्षीय आनन्दलाई प्रहरीले ०७५ मङसिर २२ गते सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट पक्राउ ग¥यो । जिल्ला अदालतको आदेशले आरोपित आनन्द मङसिर २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 

जिल्ला अदालतमा हाजिर भएका जयप्रकाश ०७८ असार १६ गते चार लाख रुपियाँ धरौटी राखि पुर्पक्षका लागि रिहा भए । उच्च अदालत जनकपुर राजविराज इजलाशले ०७९ जेठ ५ गते जिल्ला अदालतको आदेश बदर गर्दै जयप्रकाशलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश गर्‍यो । आदेशपछि जयप्रकाश फरार रहेको मृतकका बुवा भन्नालालले बताए।

अन्य १० जना आरोपित हालसम्म फरार रहेका छन् । उनीहरूका हकमा मुद्दा मुल्तबीमा राख्ने अन्तिम फैसला भएको छ । पक्राउ परेपछि फरार रहेकाहरूको हकमा कारवाही प्रकृया अगाडि बढने अदालतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.