शिवरात्रिको रौनकमा रमाउँदै भक्तजन

शिवरात्रिको रौनकमा रमाउँदै भक्तजन
महाशिवरात्रिको पूर्वसन्ध्यामा सिंगारिएको पशुपतिनाथ मन्दिर क्षेत्र र दर्शनका लागि पुगेका दर्शनार्थी । महाशिवरात्रिका पर्वका अवसरमा पशुपतिनाथको लाखौं भक्तजनले दर्शन गर्छन् ।

पशुपतिनाथ मन्दिर प्रवेश गर्नेतर्फको शंकराचार्य मठछेउमा फूलैफूलले सजाएका विभिन्न आकृतिमा तस्बिर खिच्नेहरूको दृश्यले महाशिवरात्रिको रौनक बढाएको छ।

काठमाडौं : बागमती वारि होस् वा पारि, हजारौं भक्तालुको भीड छ। पशुपतिनाथ मन्दिर प्रवेश गर्नेतर्फको शंकराचार्य मठछेउमा फूलैफूलले सजाएका विभिन्न आकृतिमा तस्बिर खिच्नेहरूको दृश्यले महाशिवरात्रिको रौनक बढाएको छ। अर्कोतिर, गुह्येश्वरी मन्दिर जाने उकालोमा गाँजा तानिरहेका साधु, सन्त र जोगीहरूसँग रमाउने युवकयुवतीको हुलले गर्ने हुटिङको मज्जा बेग्लै छ। ‘ओम् नमः शिवाय’, ‘जय शम्भो’, ‘हर हर महादेव’जस्ता आवाजहरूमा रमाउँदै युवाका केही समूह पटकपटक भगवान् शिव अर्थात् पशुपतिनाथलाई पुकारिरहेको माहोल झनै पृथक् थियो।

लहानबाट महाशिवरात्रि हेर्न पहिलोपटक पशुपतिनाथ परिसरमा आएका मोहन महतोलाई भने यी कुनै दृश्यले तानिरहेको थिएन। उनी भने कहिले जोगीको भेषमा रहेका त कहिले परिपक्व लाग्ने वृद्धहरूसँग गफिन्थे। ‘महाशिवरात्रिमा आउने हजारौंलाई हेर्दा सबैलाई होहल्ला र रमाइलो गर्न पाए पुग्ने देखें तर मेरो मनको हुटहुटी अर्कै छ’, स्नातक तह अध्ययन उनले अन्नपूर्णसँग भने, ‘मलाई महाशिवरात्रिबारे धेरै कुरा जान्नु छ। धेरैलाई सोधें तर थोरैले थोरैमात्र त्यो पनि बोक्रो कुरो दिए। पशुपति क्षेत्र विकास कोषले मजस्ताको जिज्ञासा मेट्ने एउटा ठाउँ बनाइदिएको भए के बिग्रन्थ्यो ?’

महतोले पशुपति आउनुअघि लहानमै गुगलबाट केही सूचना पाएकै हुन् तर पशुपति र महाशिवरात्रिबारेको इतिहासदेखि गहिरा कुरा जान्नेबुझ्ने अभिलाषा पूरा हुन नपाएको उनको गुनासो छ। भन्छन्, ‘युवा पुस्ता किन विश्वको एकमात्र र विशेष सम्पदाको गहि¥याईं खोज्दैन ? मैले बुझेअनुसार पशुपतिनाथले विश्वलाई नेपाल भनेर चिनाएको छ तर त्यसरी महाशिवरात्रिमा पशुपतिनाथको महŒव बुझेर भक्तजन आएजस्तो लागेन।’

भारतको कलकत्ताबाट आएका ललितमोहनजी मोहराज महाशिवरात्रि दुईवटा कारणले खुसी भएको भेटिए। विश्वका १२ ज्योतिर्लिंगमध्ये महाज्योतिर्लिंग मानिएका पशुपतिनाथको दर्शन त्यो पनि महाशिवरात्रिको अवसरमा र अर्को नेपालीहरूको हाँसेर मीठो बोल्ने बानी। तेस्रो पटक नेपाल आएको बताउने उनले हिन्दी भाषामा भने, ‘केही देश घुमेको छु तर नेपालीको बानीव्यहोरा, मुस्कान र बोल्ने शैलीले मेरो मन जितेको छ। यो मनभरि भयो।’ विश्वका सनातनीहरूको सम्बन्ध एउटै खुनको भएकाले पनि शिवका भक्तबीच सुमधुर सम्बन्ध रहेको हुन सक्ने उनको भनाइ छ। उनले थपे, ‘नेपाली भाषा बोल्न र बुझ्न त सक्दिनँ तर यति मजा आएको छ कि के भनुँ ?’महाशिवरात्रिको पूर्वसन्धामा सिँगारिएको पशुपतिनाथ मन्दिरको मूल प्रवेश द्वारमा पुगेका दर्शनार्थी।  तस्बिर : अभिशेक महर्जन

ललितसँगै पूरै सेतो वस्त्रमा सजिएका पंकज शुक्ल सुरुमा ‘मिडिया’सँग नबोल्ने भनेर पन्छिए। ललितले खुलेर सबै कुरा बताएपछि उनले पनि हिन्दी भाषमा भने, ‘म पनि बोल्छु। मेरो अनुभव पनि लेखिदिनोस्।’ नयाँ दिल्ली, भारतबाटै आएका उनले एक वर्षअघि ललितलाई ऋषिकेशमा भेटेर चिनजान गरेका रहेछन्। दुवैको योजना त्यतिबेलै शिवरात्रिमा पशुपति जाने भनेर बनेको रहेछ। शुक्रबार झन्डै पाँच घण्टा पाशुपत क्षेत्रमा पंकजले राम नाम जप्दै १२० चक्कर काटेर खोजे पनि ललितलाई नभेट्टाएको बताए। आफू ब्रह्मकुमार रहेको बताउँदै उनले भने, ‘हरेकको अनुहारमा उहाँलाई खोजें तर भेटिनँ। केही नेपालीले ओम नमः शिवाय जप्दै हिँडेको सुनें। त्यसपछि मैले पनि ओम नमः शिवाय र जय शम्भो जप्दै हिँडें। त्यसको आधा घण्टामै ललितज्यूलाई भेटें। महाशिवरात्रिमा भगवान् शिवको आशिर्वाद मिलेको महसुस गरें।’

६५ वर्षे विदेशी नागरिक बागमती पुलछेउमा भेटिए। अर्जेन्टिनाका नागरिक एलेजन्द्रो स्लोबोबियानिक्सीले भेट्नासाथ भने, ‘जय शिव ! यस, गड शिव इज फादर अफ गड गणेश।’ उनले आफ्नो धर्म बताएनन् तर हिन्दू धर्मावलम्बीको विशेष पर्व महाशिवरात्रिमा पाशुपत क्षेत्रमा फूल र बिजुलीबत्तीको रंगीविरंगीका साथै हजारौं मानिसको भीडले मनभरि उमंग छाएको बताए। अंग्रेजी भाषा बोल्ने उनले थपे, ‘भारत १६ पटक पुगें, घुमे र उतै हुँदा नेपालको पशुपतिनाथ र महाशिवरात्रिबारे सुनेको थिएँ। नेपालको काठमाडौं पाँचौं पटक हो तर पशुपतिनाथ आएको पहिलोपटक।’

हजारौंको भीडमा हरेक मानिस आआफ्नो ढंगले रमाएको र हुल बाँधिएर होहल्ला गर्दै रमाइलो प्रदर्शन गरेको आनन्दले आफूलाई खुसी लागेको उनको भनाइ छ। उनकै छेउमा कोही हनुमानको भेषमा त कोही जोगी यसै जबर्जस्ती मागिरहेको भेटिए। शुक्रबार साँझपखको समयमा नेपाली युवा भने ‘जय शम्भो !’ भन्दै जोगीहरूसँग तर्किएको दृश्य पनि रोचक थियो।

तिलगंगा निवासी दुर्गा खड्का दिदीकी ६ बर्से नातिनीसँग पाशुपत क्षेत्रमै भेटिइन्। काभ्रे नमोबुद्धकी उनले आफू तिलगंगामै बूढी भएको बताइन्। ‘पशुपतिमा हुने शिवरात्रि, तीज, बालाचतुर्दशीजस्ता सबै चाडपर्वमा सहभागी हुन्छु तर शिवरात्रिको रमझम छुट्टै लाग्छ’, उनले भनिन्, ‘युवाले जोगीहरूसँग गाँजा तानेको दृश्यले नराम्रो लाग्छ। यहाँ जोगीदेखि भोगीसम्म भेटिन्छन्।’

उनले रात बढ्दै गएपछि केटाहरूले गाँजाले लट्ठ भएका केटीहरूलाई घिसार्दै घरतिर लगेको दृश्य दयनीय लागेको बताइन्। नेपाल कुशवाह कल्याण संघका संस्थापक सूर्यबहादुर कोइरीले शिवरात्रिमा पशुपति आउने अधिकांश भक्तजन शिवको भजन–कीर्तनमा रमाउनु पर्नेमा गाँजा र होहल्लामा रमाउने गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.