ऐतिहासिक राष्ट्राध्यक्ष
उनी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६औं महिलामा पर्न सफल भइन्।
विद्यादेवी भण्डारी, देशकै अभिभावक। त्यो पनि एकपटक होइन, दुईपटक देशलाई अभिभावकत्व प्रदान। मुलुकको सर्वोच्च पदमा नारी पुग्ने मात्र होइन, जिम्मेवारी पनि वहन गर्न सक्छन् भन्ने सफल उदाहरणीय व्यक्तित्व। त्यसैकारण राष्ट्रपति भण्डारी बनेकी छिन्– प्रेरणाकी स्रोत।
उनी दोस्रो राष्ट्रपति हुन्। संविधानसभाबाट संविधान बनेपछिको निर्वाचित पहिलो राष्ट्रपति बन्ने मौका पनि पाइन्। उनी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६औं महिलामा पर्न सफल भइन्। २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा उनको जन्म भएको हो। किसान परिवारमा जन्मिएकी हुन्। संघर्षका अनेकौं आरोह–अवरोह पार गर्दै राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल उनको जीवन सबैका लागि प्रेरणादायी र ऊर्जापूर्ण छ।
वामपन्थी–लोकतान्त्रिक गतिविधिमा सहभागी हुने क्रममा उनको राजनीतिक दृष्टिकोण फराकिलो बन्दै गयो। विद्यार्थीका हकहितका विषयका अतिरिक्त उनी निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा सक्रिय सहभागिता भइन्। त्यससँगै उनको जीवनको कठिन र जोखिमपूर्ण राजनीतिक यात्राको आरम्भ भयो। त्यस क्रममा विद्यार्थी हकहितमा समर्पित एक उदीयमान नेताका रूपमा स्थापित हुँदै आठ वर्षसम्म अनेरास्ववियुको पूर्वी क्षेत्र–संगठनको नेतृत्वमा पुगिन्। त्यस अवधिमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अत्यधिक मतसहित कोषाध्यक्ष पदमा निर्वाचित भइन्।
भोजपुरको विद्योदय माविमा अध्ययन गर्ने क्रममै उनी कम्युनिस्ट आन्दोलनमा लागेकी हुन्। २०३५ सालमा माले स्थापनालगत्तै त्यस पार्टीको युथ लिगको कार्यकर्ताका रूपमा उनको संगठित राजनीतिक जीवनको आरम्भ भयो र एक वर्षपछि उनले पार्टीको सदस्यता प्राप्त गरिन्।
यससँगै उनले २०३७ सालमा मालेनिकट अखिल नेपाल महिला संघकी सदस्य भइन्। त्यसदेखि नै उनले नेपाली महिलाले भोग्नुपरेका उत्पीडनविरुद्ध आवाज उठाइन् र महिला समानता र अधिकार प्राप्तिका लागि संघर्ष गर्दै आइन्। विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति संघर्षरत पार्टीको प्रतिबद्ध कार्यकर्ताका रूपमा उनको राजनीतिक जीवन अगाडि बढ्यो।
२०३९ सालमा उनको विवाह लोकप्रिय नेता मदन भण्डारीसँग भयो। तर, नेता मदनको २०५० जेठ ३ गते रहस्यमय सडक दुर्घटनामा निधन भएसँगै उनको दाम्पत्य ११ वर्षमै समाप्त भयो। पतिको अवसानपश्चात् नाबालक छोरीहरू उषाकिरण र निशाकुसुमको लालनपालनको साथै थप राजनीतिक जिम्मेवारीका साथ उनी अगाडि बढिन्।
२०५४ माघमा एमालेको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइन्। त्यसयता लगातार पार्टीको नीतिनिर्माण तहमा रहेर महŒवपूर्ण भूमिका निर्वाह गर्दै आइन्। २०५९ सालमा सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य निर्वाचित भइन्। २०६५ सालमा आठौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भइन्। उनको लोकप्रियता, क्रियाशीलता र निष्ठाकै कारण २०७१ मा नवौं महाधिवेशनमा पुनः उपाध्यक्ष तथा स्थायी कमिटी सदस्य निर्वाचित भइन्।
संसदीय निर्वाचनमा उनको सहभागिता पति मदनको निधनपछि रिक्त पदका लागि गरिएको २०५० सालको उपनिर्वाचनसँगै सुरु भयो। सो उपनिर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित भइन्। २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचन गरी काठमाडौंका विभिन्न क्षेत्रबाट तीनपटक लगातार विजयी भइन्। २०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री भएकी थिइन्।
यसैगरी २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को राष्ट्रिय कमिटी सदस्य तथा केन्द्रीय महिला मजदुर विभागको संयोजकको रूपमा श्रमिक आन्दोलनको नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेकी थिइन्। महिला अधिकारका लागि निरन्तर संघर्षरत उनी २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भइन्। त्यसयता लगातार तीन पटकसम्म उक्त संगठनको अध्यक्ष निर्वाचित भई उनले लैंगिक समानताका लागि आवाज उठाउँदै आइन्। संसद् सदस्यका हैसियतले संसद्भित्र महिला हकअधिकार र समानताका लागि उनले लडेको लडाइँ महŒवपूर्ण छ। लैंगिक समानता, समान ज्याला, महिला शिक्षा र घरेलु हिंसाको उन्मूलनका लागि उनले संसद् र सडकबाट विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्दै आएकी छन्।
२०६२/०६३ को आन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अंगमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने विशेष प्रस्तावको प्रस्तावक पनि भण्डारी नै थिइन्। संसद्ले उक्त प्रस्तावलाई सर्वसम्मत ढंगले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो। सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उनको अहम् भूमिका रहेको थियो।
२०७२ साल असोज ३ गते संविधानसभाबाट पारित संविधानले महिलाको हक र अधिकारका विषयमा महŒवपूर्ण व्यवस्था गरेको छ। राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको सहभागिता सुनिश्चित गरेको छ। यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक–कानुनी उपलब्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्न पुगेको छ। नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ।
उनले २०६६ सालमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। चुनौतीपूर्ण र संवेदनशील रक्षा मन्त्रालयको पदभार सम्हाल्ने उनी नेपालकै पहिलो महिला हुन्। रक्षामन्त्रीका हैसियतले त्यस अवधिमा उनले नेपाली सेनामा पूर्वमाओवादी लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्ने जस्ता महŒवपूर्ण कार्य सम्पादन गरेकी थिइन्। दुर्गम ग्रामीण परिवेशमा सामान्य किसान परिवारमा जन्मेकी एक नारी संघर्ष गर्दै मुलुककै सर्वोच्च पदमा पुग्न सफल हुनुले पनि सबैका प्रेरणाको स्रोत हो।