किन कराउँछ कान ?
त्यस्ता ध्वनिहरू सुन्नु, जुन शव्द वस्तुत उत्पन्न नै भइरहेको छैन। यही हो कान कराउनु वा बज्नु भनेको। यसलाई अंग्रेजीमा ‘टाइनिटस’ भनिन्छ। मानौं तपाईंं कुनै बस स्टपमा उभिरहनु भएको छ। यस्तो लाग्छ अपरिचितले तपाईंंलाई गाली गर्यो। रिसले चुर भएर छेउमा पुग्नु हुन्छ। आक्रमणको मुद्रामा सोध्नु हुन्छ, ‘ए ! मलाई किन गाली गरेको ?’ अमुक व्यक्ति आश्चर्यचकित हुन्छ। गाली गरेको छैन भन्दा पनि तपाईं पत्याउनु हुन्न। आफ्नै कुरामा अडिग रहनुहुन्छ, उसले मलाई गाली गरेको थियो भनेर। आखिरमा उसको पनि धैर्यको बाँध टुट्छ। भन्छ– तपाईं कान राम्ररी सुन्नु हुन्न भने म के गर्न सक्छु ?
जुन शब्द वस्तुतः बोलेकै छैन। त्यस शब्दलाई सुन्नुभयो। टाइनिटस अर्थात् कान कराउने समस्या भएमा तपाईं यस्ता–यस्ता शब्द–ध्वनिहरू सुन्नुहुन्छ। जुन शब्द आवाजहरू वस्तुत उत्पन्न भएकै छैन। जस्तै– घन्टी बज्नु, खोलामा छाल उर्लेको, स्याँ–स्याँको, सिटी बजेको, गीत गुनगुनाएको वा अरू नै प्रकारका आवाज कानमा निरन्तर वा बन्द हँुदै आउँदै गर्छन्। यस किसिमको आवाज एक वा दुवै कानमा हुनसक्छ। जब आसपास सुनसान वातावरण हुन्छ भने त्यसबेला कानमा हुने आवाज असैह्य रूपले बढ्छ।
श्रवण शक्ति : कसैको कान बज्छ भने सुन्ने शक्ति कमजोर हँुदैछ या भइसकेको छ। तर वास्तविकता यसको ठिक विपरीत छ। कान कराउने र श्रवणशक्ति यी दुवैको परस्पर कुनै सम्बन्ध हँुदैन। कान कराउने रोगबाट पीडित व्यक्तिहरूलाई सुन्नमा कुनै अप्ठ्यारो हँुदैन। केही कुरामा त कान बज्ने समस्याबाट ग्रस्त व्यक्तिहरू अन्य आवाज अरूको तुलनामा एकदमै चाँडै सुन्छन्। कान कराउनु श्रवण शक्ति कम हुनेको पूर्वसंकेत अवश्य हुन सक्छ।
कान किन कराउँछ : टाइनिटस अर्थात् कान कराउनुको कारण हो– कानमा (इन्फेक्सन) संक्रमण हुनु। कानभित्र रुकावट (ब्लकेज) हुनु। प्रायः यस्तो पनि देखिएको छ, कानको इन्फेक्सन वा ब्लकेजको राम्रोसित उपचार गरिएको छ भने–कान कराउने समस्याबाट पनि व्यक्तिले मुक्ति पाउँछ। यदि उपरोक्त चिकित्सा गराएपश्चात पनि कान कराउने समस्या भइरह्यो भने यसको उपचार गराउन आवश्यक हुन जान्छ।
कारण– कान बज्ने यही नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन। किनभने यसका अनेकौं कारणहरू हुनसक्छन्। जस्तै (१) टाउकोमा चोटपटक लाग्नु (२) कानमा इन्फेक्सन (संक्रमण) हुनु (३) कानमा जाम (ब्लकेज) हुनु (४) कानैनिर ठुलो आवाज धमाका या बिस्फोट हुनु (५) सर्दी–जुकाम, पिनासदेखि मधुमेहसम्मको कुनै पनि रोग लाग्नु। (६) रक्तअल्पता (एनिमिया) हुनु (७) मुटुको रोग (८) ऊच्च रक्तचाप ( ९) रगतमा थाइराइड (हार्मोन्स) को स्तर कम हुनु (१०) कानमा कानेगुजी भरी हुनु आदि।
कामको अत्यधिक चापका साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुनसक्छ। यसबाहेक एन्टिबायोटिक औषधिहरूको प्रयोग, स्प्रिन ट्याबलेट, कुनैनको गोली, मूत्रबर्धक (पिसाब लगाउने) औषधि, एन्टी डिप्रेसनको औषधि तथा अत्यधिक रक्सीको सेवनले पनि व्यक्तिमा कान कराउने (टाइटिनस) समस्या सुरु हुन्छ। यो सूची यहीँ समाप्त हँुदैन। वृद्धावस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आउनाले पनि कान कराउने हुनसक्छ। भित्री कानको रोगका कारण तथा मध्यकानको हड्डीमा क्षयजनित रोग पनि कान कराउने कारण बन्नसक्छ। अन्तमा एउटा कुरा के भने– यदि तपाईं कान कराउने समस्याबाट हैरान हुनुहुन्छ भने टेन्सन नलिनुस्। मन–मस्तिष्कलाई दबाबबाट मुक्त राख्ने प्रयास गर्नुस्। अन्यथा स्थिति
अरू जटिल हुनसक्छ।
जोखिम – कलकारखानामा काम गर्ने श्रमिकहरू, संगीतकार तथा होहल्ला हुने वातावरणमा काम गर्ने मानिसहरू विषेशगरी जोखिममा हुन्छन्। धुम्रपान गर्ने व्यक्तिहरूमा पनि कान कराउने समस्या विकसित हुने खतरा बढिरहन्छ। रोगको निदान – ई.एन.टी. (नाक, कान र घाँटी) रोगविशेषज्ञद्वारा यस रोगको परीक्षण हेतु एक किसिमको जाँच गराइन्छ। जसलाई अडियोमेटरी भनिन्छ। यो बहिरोपन नाप्ने तरिका हो। यसको रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनी सल्लाह दिन्छ।
भाविफल (प्रोग्नोसिस) – यसको कुनै औषधि छैन। यसको उपचार भनेको कानमा (हेयरिङ–एड) लगाउने नै हो। जसबाट प्रष्ट आवाज सुनिन्छ।
उपचार – एलोप्याथिक चिकित्सामा यस रोगलाई निको पार्न गाह्रो छ। हेयरिङ एड (कान सुन्ने यन्त्र) कानमा लगाउन सल्लाह दिइन्छ। यस यन्त्रले आवाजलाई ठुलो पारेर कानभित्र पठाइदिन्छ र व्यक्ति राम्ररी सुन्न सक्छ।
होमियोप्याथिक ऊपचार – यस उपचारबाट उपरोक्त सबै समस्यालाई हटाउन सकिन्छ। होमियोप्याथिक औषधिको विशेषता के हो भने यसको कुनै विनाशकारी प्रभाव हँुदैन। जसलाई साइड–इफेक्ट भनिन्छ। होमियोप्याथिक औषधिले सोझै हाम्रो शरीरको मुख्य नियन्त्रक अर्थात् मस्तिष्क स्नायुहरूमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अंग या ग्रन्थीलाई दुरुस्त हुने प्रेरणा पठाउँछ। जुन एक स्वउपचारको सही तरिका पनि हो। यी औषधिहरूलाई नियमानुसार प्रयोग गर्ने हो भने तपाईं यस टाइनिटस अर्थात् कान बज्ने रोगबाट सजिलैसित छुट्कारा पाउन सक्नु हुनेछ।
औषधिहरू – १. कालिआयोड– कानभित्र गीत बज्ने, टिस–टिसको आवाज वा नानाथरिका आवाज आउने लक्षण भएमा– यस औषधिको प्रयोगले फाइदा हुन्छ। २. चिनिनम सल्फ– कानभित्र मौरी कराएको जस्तो भूँ–भूँ को आवाज आउनु, घुरेको जस्तो आवाज आउनु, अत्यधिक जोरले आवाज सुन्नुका साथै रिगँटा पनि लाग्नु यस औषधिको यो विषेश लक्षण हो। यस किसिमको लक्षण भएका रोगीलाई यसको प्रयोगले फाइदा पुर्याउँछ।
३. बेराइटाकार्ब– बढी उमेर भएका मानिसमा चक्कर लाग्नु, कानभित्र आवाज गुन्जनु आदि। यस्तो समस्या देखिएमा यस औषधिको प्रयोग लाभदायक मानिन्छ। ४. नेटर्म–सल्फ– कान कराउनु, रिगँटा लाग्नुका साथै कान नसुन्नु (बहिरोपन) कानमा टन–टन आवाज आइरहनु आदि यसको प्रयोग लाभदायक मानिन्छ।
५. लाइकोपोडियम– यस औषधिमा रोगीको कान पाक्नुको साथै बहिरोपन पनि हुन्छ। कान कराउने वा नकराउने दुवै हुनसक्छ। यस बाहेक अन्य औषधि पनि छन्। जस्तै– चायना, लाइकोपोडियम, कार्बोभेज, कल्केरियाकार्ब आदि। उपरोक्त होमियोप्यथिक औषधिहरूको प्रयोग आफ्नो निकटतम कुनै योग्य तथा अनुभवी होमियोप्याथिक डाक्टरसँग परामर्श लिई गरेमा अत्यन्त लाभदायक हुनेछ। अस्तु! मिश्र होमियोप्याथिक फिजिसियन हुन्।