नेपाल–भारत नागरिक सम्बन्ध सुमधर
नेपालगन्ज : नेपाल–भारत साहित्य सङ्गोष्ठी–२०७९ नेपालगन्जमा सुरु भएको छ।
महेन्द्र पुस्तकालयले आयोजना गरेको तीनदिने सङ्गोष्ठीको शनिबार भाषा आयोगका सदस्य डा.अमर गिरीले उद्घाटन गरे। डा. गिरीले नेपाल–भारतबीच सदियौंदेखि साहित्यिक सम्बन्ध रहेको बताउँदै दुई देशबीच केही समस्या भए पनि नागरिक स्तरमा भने सदियौंदेखिको सम्बन्ध सुमधुर र सदृढ रहेको बताए। ‘हुन त नेपाल–भारतबीच सदियौंदेखिको सम्बन्ध छ। सन् १९५० मा लोकतन्त्रको सेरोफेरोपछि साहित्यिक, सांस्कृतिक, प्राज्ञिक छलफल र विमर्श भइरहेको छ। जसका कारण पनि दुई देशका जनताबीच सम्बन्ध अझ मजबुत बनाउन मद्दत मिलेको छ’, उनले जिकिर गरे, ‘राज्य स्तरमा केही समस्या छन्। जन स्तरको सम्बन्ध सुमधुर छ। नागरिक स्तरमा पारिवारिक, सभ्यता र सांस्कृतिक रुपको सम्बन्ध जोडिएको छ। यस प्रकारको सम्बन्ध बलियो, सौहार्दपूर्ण, अर्थपूर्ण र गहिरो छ।’
कार्यक्रममा भाषा आयोगका अर्का सदस्य गोपाल अश्कले नेपाल र भारतका साझा बोली, भाषा र भाषिका भएकाले सांस्कृतिक रुपमा सम्बन्ध सुमधुर रहेको बताए। उनले नेपालमा भाषा आयोगले एकै जना मात्र बोल्ने भाषा भए पनि संरक्षणको नीति लिएको जानकारी गराए।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीले दुवै देशका साहित्यिक रचनाको अनुवाद गरेर भाषा र साहित्यको विकासमा योगदान गर्न सकिने सुझाव दिएकी थिइन्। भारतीय साहित्यकार रजनीकान्त वशिष्ठले नेपाल र भारतमा बोलिने भाषा एउटै भएको र दुवै देशका नागरिक एक अर्का देशमा काम गर्न जाने भएकाले पनि मिलेर भाषा र साहित्यको विकासमा योगदान दिनुपर्नेमा जोड दिएका थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मीले दुवै देशको भाषा र साहित्यको विकासमा योगदान दिन पनि सङ्गोष्ठी आयोजना गरेको बताएका थिए। उनले साहित्यमार्फत बाँके र बर्दियाको पर्यटनको प्रचार–प्रसार गर्न पनि सङ्गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख कमरुद्दिन राईले नेपाल र भारतका भाषा समान भएकाले भाषा र साहित्यको मिलेर विकास गर्न सकिने बताए।
पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न पहिलो दिनको उद्घाटन कार्यक्रमको मन्तव्य पनि बहुभाषी बनेको थियो। नेपाली, अवधि, मैथिलि, भोजपुरी र हिन्दी भाषामा वक्ताहरूले मन्तव्य राखेका थिए।
सङ्गोष्ठीको दोस्रो दिन आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले नेपाल र भारतका साहित्यिक सांस्कृतिक अन्तर सम्बन्धबारे, आराध्य शुक्लाले नेपाल र भारतका साहित्यिक सांस्कृतिक समन्वय र द्वारिका नाथ पाण्डेले भारत र नेपालका सांस्कृतिक
सौहार्दमा युवा वर्गको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
भाषा आयोगका सदस्य गोपाल अश्कले नेपाल र भारतको साझा बोली र भाषा, डा.रामबहादुर मिश्रले भारत र नेपालको सम्बन्धमा अवधिको योगदान, हंसावती कुर्मीले नेपाली र भारतीय साहित्यको आदान–प्रदानबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। आइतबार नै नेपाल र भारतका डेढ दर्जन कवि तथा कवयित्रीहरूले बहुभाषी गीत, गजल, उर्दू गजल र कविता वाचन गर्नेछन्। जसमा नेपाली, हिन्दी, उर्दू, अवधि, भोजपुरी, मैथिलीलगायतका भाषाका साहित्यिक रचना हुनेछन्। महेन्द्र पुस्तकालयका सचिव मणि अर्यालका अनुसार भारतको महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश राज्यका गरी १८ साहित्यकारको सहभागिता थियो।