भरतपुर- ११ मा किन रोकियो मतदान ?
उनीहरुले माफी नमागेसम्म मतदान कार्य अघि नबढाउन निर्वाचन अधिकृतलाई आग्रह गरेका छन्।
चितवन : चितवनको भरतपुर- ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेका छन्।
उनीहरुले माफी नमागेसम्म मतदान कार्य अघि नबढाउन निर्वाचन अधिकृतलाई आग्रह गरेका छन्। रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरी आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाएका छन्।
होहल्ला गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै सत्ता साझेदार दल र एमालेका कार्यकर्ताले उच्छृखंल गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ।
मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र हो-हल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको थियो।
रास्वपा केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर -११ मा आफूहरुमाथि आक्रमण भएको बताए। रवि लामिछाने मतदानस्थल पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए। रास्वपाका समर्थकले नाराबाजी गरेपछि अन्य दलका समर्थकहरूले मतदान भइरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद सिर्जना भएको थियो। त्यसपछि करिब १ घन्टा मतदान अवरुद्ध भएको थियो।
सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने तयारी भइरहेका बेला कांग्रेस र नेकपा एमालेले प्रतिनिधि बस्न मानेनन्। प्रतिनिधिबिना मतदान सञ्चालन गर्न खोज्दा कांग्रेस र एमालेले अवरोध गरेपछि अहिले मतदान रोकिएको हो।