जहाजमा जब आगोको झिल्कोजस्तो देखियो...

जहाजमा जब आगोको झिल्कोजस्तो देखियो...
फ्लाई दुबईको जहाजमा सोमबार बेलुका उड्नेबित्तिकै देखिएको आगोको झिल्को ।  तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : फ्लाई दुबईको जहाज सोमबार बेलुका संभावित दुर्घटनाबाट जोगिएको छ। बायाँ इन्जिनमा समस्या देखिएर आकस्मिक अवतरण गर्ने भनिए पनि पुनः गन्तव्यतिरै गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौैलाले बताए। उक्त घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ मिनेट उडान र अवतरण बन्द गरिएको थियो। फ्लाई दुबईको जहाजको आकस्मिक अवतरणको प्रतीक्षा चलेको थियो। तर, पाइलटले ‘सबै ठीक छ’ भनेपछि जहाज गन्तव्यतिरै लागेको होे। 

एफडीबी५७६ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार राति ९ बजेर २० मिनेटमा दुबईका लागि उडेको थियो। त्यसको एक मिनेटपछि नै समस्यामा परेको जानकारी आएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए। बायाँ इन्जिनमा केही पड्केजस्तो आवाज आएर आगोको झिल्काजस्तो आइसकेपछि पाइलटले ‘इमर्जेन्सी’ भनी एयर ट्राफिक कन्ट्रोल (एटीसी)लाई जानकारी गराएका थिए। उड्डयनमा इमर्जेन्सीलाई कोड भाषामा ‘मेडे मेडे’ भनिने गरेको भुलले बताए। 

एउटा जहाजले इमर्जेन्सी भनेपछि अरू जहाजका लागि त्यो विमानस्थल बन्द हुन्छ। अन्यले उडान र अवतरण गर्न पाउँदैनन्। विमानस्थल ९ बजेर २१ मिनेटदेखि अन्य जहाजका लागि बन्द गरिएको थियो। ‘जहाज स्टार्ट गरेका, ट्याक्सी गरेका जहाजलाई रोक्यौं। तर, फ्लाई दुबईको जहाजको आकस्मिक अवतरणका लागि तयार भयौं’, भुलले भने। 

आगोको झिल्का आएको बायाँ इन्जिन बन्द गरेर दायाँ इन्जिनबाट मात्रै अर्थात् सिंगल इन्जिनले उडाएर पाइलटले जहाजलाई धादिङ पुर्‍याए। धादिङमा पुगेर जहाजले उचाइ लिँदै २० हजार फिटमा गएर ‘होल्ड’ गर्‍यो। ‘त्यत्तिन्जेल म काठमाडौं फर्किन्छु। मेरो एउटा इन्जिनमा आगोजस्तो देखिएको छ भनेर पाइलटले भनिरहेका थिए’, भुलले भने। 

तर, धादिङमा पुगेर १० मिनेटजति होल्ड गराइयो। भुलका अनुसार होल्ड गराई एउटै लेबलमा राखेर सबै उपकरण जाँच गरेपछि जहाजले ‘मेरो सम्पूर्ण कुरा ठीक छ, सबै चेक गरेँ, म उडान निरन्तर गर्दै गन्तव्यमा जान्छु’ भन्यो। पाइलटले दुवै इन्जिन ठीक छ भनेका थिए। 

‘एभरिथिङ नर्मल आइ विल कन्टिन्यु माइ फ्लाइट भनेपछि राति ९ बजेर ५९ मिनेटमा काठमाडौं विमानस्थलको इमर्जेन्सी हटाई खुला गरियो’, उनले भने। अन्य जहाजका लागि उडान र अवतरण खुला गरियो उनले सुनाए। इमर्जेन्सी भनिसकेपछि विमानस्थलमा फायर ब्रिगेड, सेना, प्रहरीलगायत सुरक्षाका सम्पूर्ण युनिटलाई खबर गरेर लोकल स्ट्यान्ड बाइ (सबै सुरक्षा संयन्त्रको उपस्थिति) गराइएको थियो। केही समय सबै त्रसित बनेको 
भुलले सुनाए। 

‘जहाजमा आगो झिल्का देखिएको भनिएको थियो। सिंगल इन्जिनमा पनि जहाज सजिलै अवतरण हुन्थ्यो। तर, दुवै इन्जिनमा समस्या हो कि भन्ने डर थियो,’ उनले भने। किनभने दुबईका पाइलटलाई यहाँको डाँडाकाँडाका बारेमा विस्तृत ज्ञान नहुने हुँदा डर थपिएको उनले सुनाए। 
‘पाइलटले कोड वर्डमा मेडे मेडे (समस्यामा छु) मात्र भनेका थिए। के भएको हो अनुसन्धानपछि थाहा हुन्छ’, त्रिभुवन विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले भने। जहाजमा १ सय ६८ यात्रु र चालकदलसहित १ सय ७५ यात्रु सवार थिए। 

यूएई (दुबई)को सरकारी निकायले ट्विट गर्दै फ्लाई दुबईको जहाज उडानपछि चरासँग ठोक्किएको जानकारी दिएको छ। दुबई मिडया अफिसले फ्लाई दुबईको प्रवक्ताको भनाइ उद्धृत गर्दै ट्विट गरेको छ, ‘काठमाडौं विमानस्थलबाट दुबई इन्टरनेसनल (डीएक्सबी) का लागि उडेको फ्लाइ दुबईको उडान चरासँग ठोक्किएको थियो। मानक प्रक्रियापछि उडान दुबईका लागि सामान्य रूपमा जारी रहनेछ र स्थानीय समय १२ बजेर १४ मिनेटमा दुबई विमानस्थलमा अवतरण गर्ने तालिका छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.