बिदामा सेवा दिँदै प्रशासन कार्यालय
सिन्धुपाल्चोक : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १६ वटा पर्व र जयन्तीजस्ता बिदामा नागरिकलाई सेवा दिने भएको छ।
नेपाल सरकारले २०८० सालको बैशाखदेखि चैत्र मसान्तसम्म सार्वजनिक पर्व, दिवस, जन्मजयन्तीमा पनि सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्ने विशेष व्यवस्था अनुरुप जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १६ वटा पर्व र जयन्तीजस्ता बिदामा नागरिकलाई सेवा दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए। उनले नागरिकलाई जति सक्दो छिटो सेवा दिन बिदाका दिन पनि सेवा दिने काम थालेको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारले दिएका बिदाहरु उधौली, उभौली, बुद्धजयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, कृष्णजन्माष्टमी, घटस्थापना, पृथ्बीजयन्ती, तमु ल्होसार, सोनाम ल्होसार, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय नारी दिवस, ग्याल्बो ल्होसार र इदउल फित्रलगायतका बिदामा पनि प्रशासन कार्यालय खुल्ने भएको छ।
त्यस्ता दिनहहरुमा नयाँ नागरिकता, प्रतिलिपी नागरिकता सम्बन्धी सेवा, राहदानी सम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा प्रदान गरिने उनले बताए।
सहायक प्रजिअ श्रेष्ठले भौगोलिक बिकट्ता भएको पहाडी जिल्लामा एक दिनमै काम सक्न नागरिकलाई असहज हुने र धेरै दिन बस्नुपर्दा सानो काम पनि खर्चीलो हुने भएपछि बिदामा पनि काम गर्ने निर्णय गरिएको बताए।
‘हामीले दालालीमुक्त प्रशासन बनाएका छौं। एकै दिनमा काम सकेर नागरिकलाई दिने हाम्रो लक्ष्य हो,' उनले भने। प्रशासन कार्यालयले मिटरब्याजी सम्बन्धी समस्या समाधान गर्न पीडित पक्षबाट उजुरी, गुनासो संकलन गरी निशुल्क कानुनी सेवा र सहायताको लागि सहजिकरण गर्न सुरु गरेको छ।