मिडियामाथि भ्रमको खेती
यतिबेला मूलधारका व्यावसायिक र स्वतन्त्र मिडियामाथि चौतर्फी आक्रमण भइरहेको छ। यी मिडियामा आएका केही अपूर्ण समाचार र गल्तीलाई आधारित बनाएर समग्र मूलधारका मिडियाको विश्वसनियतामाथि प्रश्न उठाई उनीहरूको साखलाई खत्तम पार्ने प्रयास भइररेको छ। कतिपयले विषयवस्तुलाई यसरी प्रस्तुत गरिरहेका छन् कि अब मूलधारका मिडियालाई कसैले अब पत्याउँदैन्, विश्वास गदैन भनी भ्रम फैलाउने काम भइरहेको छ।
मूलधारका मिडियाले पहिला र अहिले समाजमा व्याप्त विकृति र विसंगतिलाई बाहिर ल्याएका कारण पनि केही व्यक्ति योजनावद्ध रूपमा आक्रमण गरिरहेछन्। निश्चय नै सूचना प्रविधिमा आएको व्यापक क्रान्तिले सूचनाको स्रोतमाथि जनताको सिधै पहुँच स्थापित गरेको छ। अनि नयाँ–नयाँ सामाजिक सञ्जालले पनि सामान्य जनतालाई सूचना प्राप्तिका लागि सहज बनाइदिएको छ। परम्परागत मिडियाको विकल्पमा आएका नयाँ मिडिया स्थापित हुँदै गएका छन्। अखबारलाई अनलाइनले र टेलिभिजनलाई युट्युब च्यानलले र रेडियोलाई अनलाइनले चुनौती थपेका छन्।
अखबारी पत्रकारिता यतिबेला पाठक, स्रोत र पहुँच सबै हिसाबले कठिन अवस्थामा छ। तर, यसको अर्थ यो होइन कि यी सञ्चारमाध्यमको उपादेयता सकिएको छ। बरु यी माध्यमको आवश्यकता र औचित्य पहिलेको तुलनामा झनै बढिरहेको छ। यतिबेला जनताको हातहातमा मोबाइल पुगेको छ। प्रत्येक दिन उनीहरूले सूचना, विश्लेषण र समीक्षाको बाढी आएको छ। जसले गर्दा के सत्य हो वा गलत भन्ने खुट्याउन सर्वसाधारणलाई निकै कठिन छ। यतिवेला धेरै सर्वसाधारण गलत र मिथ्या सूचनाको शिकार भइरहेका छन्।
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमका सम्बन्धमा यथार्थ जानकारी र विश्लेषण पाउन भने मुस्किल परिरहेको छ। किनकि जनताले उपयोग गरिरहेका सामाजिक सञ्जालहरूमा यथार्थ सूचनाभन्दा बढी भ्रामक सूचना फैलिरहेको छ। कुनै पनि विषयको पृष्ठभूमि, सन्दर्भ र यथार्थमा जानेभन्दा पनि केही शब्द र छोटो संक्षित शब्द र भिडियोलाई आधार बनाएर सर्वसाधारणले कुनै पनि घटना र व्यक्तिप्रति धारणा बनाइरहेका छन्। कुनै पनि नेता र व्यक्तिले कुनै पृथक सन्दर्भमा बोलेका कुरालाई बंग्याएर प्रस्तुत भइरहेको छ। धेरैले त्यसलाई नै अन्तिम सत्य ठानिरहेका छन्। जसले कतिपय विषयमा गलत जनमत बनिरहेको छ, जुन प्रजातन्त्रका लागि घातक छ।
सामाजिक सञ्जालमा आएका विषयवस्तुको फिल्टर कसैले गरेको हुँदैन, न त कुनै गल्ती र अपराधका लागि कसैलाई जिम्मेवार नै बनाउन सकिन्छ। कसैको चरित्रहत्या र मानहानिमा भएमा त्यसको कानुनी उपचार खोज्ने सहज प्रक्रिया छैन। यस सन्दर्भमा मूलधारका स्वतन्त्र र स्वायत्त मिडियाको आवश्यकता झनै बढेर गएको छ, घटेको होइन। यसका लागि सबैभन्दा पहिला सर्वसाधारणमा मूलधारका मिडिया र न्यु मिडिया र सामाजिक सञ्जाल कसरी सञ्चालन हुन्छ भन्ने विषयलाई खुट्याउनु पर्ने हुन्छ। नेपालमा मात्र होइन, मूलधारका मिडियाका कमजोरी हुने हुन्छन्। हालै अमेरिकाको फक्स न्यूल च्यानलले सन् २०२० मा राष्ट्रपतिको निर्वाचनको समयमा गरेको एक गल्तीका कारण उसलाई भारी मात्राको जरिवाना तिराइएको छ। गल्तीका कारण विश्वका कतिपय मिडिया बन्दसमेत भएका छन्। मूलधारका मिडियामा एक तहको राजनीतिक र कर्पाेरेट प्रभाव निश्चय नै हुन्छ। त्यसैले पनि मिडियाको राजश्वको वैकल्पिक स्रोतबारे बहस भएका छन्। सिधै कर्पाेरेट स्वार्थ नहुने मिडिया पनि सञ्चालनमा छन्।
तर, मूलधारको मिडियालाई सामाजिक सञ्जालको विषयवस्तुसँग दाँजेर दुबै यस्तै हुन् भन्ने खतरनाक भाष्य निर्माण गर्न खोजिएको छ। यसमा मिडियाका केही विज्ञ नै लागेको देखिन्छ। यसले सर्वसाधारणमा झनै अन्योल सिर्जना गरेको छ। मूलधारका मिडियाका समाचार र विचार विभिन्न तहको निगरानीपछि मात्रै प्रकाशित हुन्छन्। एक संवाददाताले लेखेको समाचार न्यूज डेस्कका विभिन्न तहमा चेकजाँच भएर मात्र प्रकाशित हुन्छ। यहाँ प्रकाशक, सामाजिक र संवाददाताको स्पष्ट परिचय खुलेको हुन्छ।
प्रकाशित सामग्री कसैलाई चित्त नबुझेमा त्यसको खण्डन छाप्न र चित्त नबुझेमा अदालतमा नै जान सकिन्छ। यी सामग्रीको अनुगमन गर्न प्रेस काउन्सिल लगायतका निकायसमेत छन्। आफ्नो विश्वसनियताप्रति चनाख रहेका मूलधारका मिडियाले सामग्री प्रकाशनमा हमेशा होसियारी अपनाउने गर्छन्। यतिमात्र होइन, कुनै पनि समाचार सन्तुलित होस् भन्नेमा सचेत रहन्छन्। सकेसम्म विषयलाई संलग्न सबैलाई विचार राख्न दिन्छन्।
यतिबेला समाजका विभिन्न वर्गबाट मूलधारका मिडियामाथि प्रश्न उठाउने काम भइरहेको छ। यसले पनि यसको महŒवलाई उजागर गर्छ। समाजको अपेक्षा छ कि मूलधारका मिडियाले कम गल्ती गरुन्, उनीहरूका समाचारमा समस्या कम होउन्। नयाँ मिडिया र सामाजिक सञ्जालमा जहाँ निकै समस्याग्रस्त समाचार आइरहेछन्। तिनका बारेमा त्यति बहस भइरहेको छैन। किनकि त्यस्ता प्लेटफर्मको अपनत्व कसले लिएको छ भन्ने विषयमा धेरैलाई जानकारी छैन। त्यसैले यतिबेलाको आवश्यकता भनेको मूलधारका स्वतन्त्र मिडियाको प्रकृति र यसको महŒवबारे अझ बहस गर्न आवश्यक छ। तर, एउटा यथार्थ के हो भने मूलधारका मिडियामा आउने विषयवस्तु र नयाँ विभिन्न प्लेटफर्ममा आउने विषयवस्तुको तुलनै हुन सक्दैन। यसको मतलब सूचना प्रविधिले ल्याएका नयाँ प्लेटफर्मलाई अन्यथा ठानिएको होइन। उनीहरूले मूलधारका मिडियाले कभरेज गर्न नसकेका थुप्रै विषयवस्तु बाहिर ल्याएका छन्।
तर, मूलधारका मिडियामाथि भएका योजनाबद्ध आक्रमण र उनीहरूको साखलाई खत्तम पार्न भएका प्रयासप्रति भने सचेत हुनैपर्छ। पत्रिका बिक्री र सर्कुलेसन घट्यो र टेलिभिजनको दर्शक केही घटे र रेडियोको स्रोता घटे भन्ने आधारमा उनीहरू कमजोर भए र उनीहरूको औचित्य सकियो भन्ने गलत बुझाइ छ। यी मिडियाको लामो इतिहास, विश्वसनियता र यिनले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका छ।
मिडियामाथि भएका योजनाबद्घ आक्रमण र उनीहरूको साखलाई खत्ताम पार्न भएका प्रयासप्रति भने सचेत हुनैपर्छ।