प्राकृतिक उपचार, रजहरबाट सिकौं

चिकित्सालयमा माटो, पानी, सूर्यको किरण, हावा, आकाशलगायतका तत्त्वहरूलाई आवश्यकता हेरेर विभिन्न रूपमा रोगीसँग जोडेर उपचार गरिन्छ।

प्राकृतिक उपचार, रजहरबाट सिकौं

कोरोना महामारीको समयमा बिरामीलाई निको पारेर घर फर्काउनु अस्पतालहरूका लागि ‘युद्ध जिते सरह’ नै हुन्थ्यो। अस्पतालमा खुट्टा राख्ने ठाउँ थिएन। चिकित्सक स्वयं संक्रमित भएकाले बिरामीका नजिक पर्नै डराउँथे। 

तर, यसै समयमा बिरामीका लागि खुसीको केन्द्र बन्यो नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय। जहाँ पुगेका संक्रमितले मृत्युको मुख देख्नु परेन। अर्थात् यो चिकित्सालयले मृत्यु शून्यमा राख्न सफल बन्यो। जहाँको उपचार नमुना बन्यो। त्यो अवस्था सम्झँदै चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटा भन्छन्, ‘हामीले कोरोना महामारीको अवस्थालाई चुनौतीभन्दा पनि अवसर ठानेर काम गर्‍यौं। अनि त्यो सफलता चुम्न सफल भयौं।’

यो त एउटा उदाहरण हो। त्यसपछि र अघि पनि विभिन्न रोगको उपचारमा यो चिकित्सालय नमुना नै थियो र छ पनि। यहाँ अन्य अस्पतालले उपचार गर्न नसकेका जटिल प्रकृतिका रोगी पनि निको भएका उदाहरण सैयौं छन्। अझै रोचक त के छ भने कोरोना महामारीको समयमा यहाँ औषधि नै प्रयोग नगरी प्राकृतिक रूपमा संक्रमितलाई निको पारिएको थियो। अहिले पनि यहाँ आहारविहारमा ख्याल गर्दै योग र प्राकृतिक पद्धतिमा बिरामीलाई निको पारिन्छ। एक पटक पुगेर निको भएकाहरू भन्छन्, ‘कुन रूपमा यसको व्याख्या गरौं। यस्तो उपचारमा सरकारले ध्यान दिए नागरिकलाई निरोगी बनाउन अन्य स्वास्थ्यको क्षेत्रमा खर्च नै गर्नु पर्दैन।’ 

कोरोना महामारीमा आमा संक्रमित भएर त्यहाँ उपचारका लागि पुगेकी झापा पृथ्वीनगरकी संगीता राई अब कुनै पनि उपचारमा टाढै भए पनि त्यही पुग्ने गरी आफ्नो विश्वास चिकित्सालयले जितेको बताउँछिन्। अस्पतालका निर्देशक डा. विनोद पौडेल यहाँबाट धेरैले पुनर्जीवन पाएर फर्किएको अनुभव सुनाउँछन्। भन्छन्, ‘यहाँ पस्नसाथ बिरामीको मनोबल बढेको पाएको छु। हामीलाई उपचार गर्नमा हौसला बढेको छ। विस्तारै सबैले प्राकृतिक चिकित्साको विषयलाई बुझ्दै जानु भएको छ।’

बिरामी भए फार्मेसीको औषधि खाने। निको नभए अस्पताल जाने र त्यहाँ पनि पार नलागे मात्रै प्राकृतिक चिकित्सालय खोजेर समस्या देखाउने चलन अझै पनि छ। जब समय र पैसा सकिन्छ अनि मात्रै प्राकृतिक उपचार खोजिन्छ। 

तर, यसरी जटिल अवस्थामा पनि बिरामीलाई प्राकृतिक उपचार पद्धतिबाट निको बनाएर घर फर्काएको उदाहरण केन्द्र बाहिर भए पनि नवलपुरको प्राकृतिक चिकित्सालय बनेको छ। चर्चा भन्दा काममा रमाएको यो चिकित्सालयले यहाँ पुगेकालाई घाटमा होइन, घर फकाएको छ। 

आफूले भ्याएसम्मको अस्पतालमा डुलेर निराश बनेर आउने बिरामीलाई सुरुमा नै निको हुने हौसला दिने र त्यसपछि प्राकृतिक जडीबुट्टीको सहायतामा उपचार गर्ने गरेको चिकित्सालयका निर्देशक डा. पौडेल बताउँछन्। ‘हामीले विश्वमा नै नभएको काम त गरेका होइनौं। रोगलाई प्राकृतिक पद्धतिबाटै उपचार गरेर निको परेको हो,’ उनले भने, ‘अहिलेको समयमा क्याप्सुल र सुईंलाई उपचार मानिन्छ। विश्वास गरिन्छ। त्यो पनि कुनै रोगमा आवश्यक होला। तर, धेरै रोग प्राकृतिक पद्धतिबाटै निको हुन्छ जुन हामीले प्रमाणित नै गरेर देखाएका छौं। अहिले त सुरुवातमा नै उपचार गर्न आउने चलन चलेको छ।’ खानपान र जीवनशैली नमिल्दा लाग्ने रोगहरू ८० प्रतिशतभन्दा बढी छन्। चिकित्सक भन्छन्, ‘संक्रामक रोगभन्दा खराब जीवनशैलीको कारण लाग्ने रोग बढी छन्।’ 

खराब जीवनशैलीका कारण वृद्धावस्थामा देखिने स्वास्थ्य समस्या युवा उमेरमै हुने गरेको छ अचेल। ‘१५ वर्षअघि नियमित औषधि सेवन गर्नुपर्ने मान्छे खोज्दा पनि भेटाउन गाह्रो हुन्थ्यो। अहिले औषधि सेवन गर्न नपर्ने भेटिन गाह्रो छ,’ निर्देशक डा.पौडेलले भने ‘३० वर्षअघि नराम्रो कुरा खान्छौं भन्दा पाइँदैनथियो अहिले राम्रो कुरा खान्छौं भन्दा पाइँदैन। यसकारण प्राकृतिक जीवन अहिलेको आवश्यकता हो।’ खानपानकै कारण मानिसको शरीर थला पर्ने गरेको डा. पौडेलले अनुभव बताए। 

प्राकृतिक चिकित्सालयले के खाने ? कति खाने ? कसरी खाने ? जस्ता कुरा सिकाउँछ। तनावमुक्त जीवन कसरी जिउने ? छोटो समयमा शारीरिक र मानसिक रूपमा कसरी आराम गर्ने ?, उमेर समयअनुसार व्यायाम वा योगाको अभ्यास, स्वस्थ रहनका लागि अपनाउनुपर्ने अत्यावश्यक जीवनशैलीको कुरा प्राकृतिक चिकित्सालयमा सिकाउने गरिन्छ। त्यसैले चिकित्सालयभन्दा पनि जीवनशैली सिकाउने पाठशालाको रूपमा यसको चर्चा गरिन्छ। 

उपचारको लागि चिकित्सालय आएका बिरामी जीवनशैली सिकेर फर्कने गर्छन्। प्राकृतिक चिकित्सालयमा  खानपान, व्यायम, तनावको  व्यवस्थापन र आरामबाटै रोग निको पारिन्छ। यसले  मानिसको समग्र स्वास्थ्यको सुरक्षा र सकारात्मक स्वास्थ्यप्रति आकर्षित गर्छ। 

प्राकृतिक उपचार पद्धतिले जीवनशैली परिवर्तन गरेर शरीरभित्र रहेको फोहोर र विकार निकाल्ने हुँदा शरीर स्वस्थ हुने चिकित्सक पौडेल बताउँछन्। थेरापी, माटो चिकित्सा, पानी चिकित्सा, भोजन चिकित्साको माध्यमबाट उपचार हुन्छ। योबाहेक आवश्यक परेकालाई फिजियोथेरापी, अक्युपन्चरबाट समेत उपचार हुन्छ। 

धेरैले प्राकृतिक चिकित्सालाई अझै पनि चासो नदिएर समयमा आउँदैनन्। समयमा आउनु पर्ने रहेछ भनेर पछि पछुताउने गर्छन्। ‘प्राकृतिक चिकित्सामा रोगको कारण शरीरमा फोहोर जम्मा भएर ठूलो समस्या पैदा गर्छ, ‘चिकित्सालयका व्यवस्थापक सापकोटाले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरो प्राकृतिक चिकित्सा मात्र एउटा यस्तो उपचार विधि हो जसमा कुनै प्रकारको औषधिहरू प्रयोग हुँदैन।’ 

सुरुमा अन्यत्र जाँदा भएको कठिनाइ र दुःखले आजित भएकाहरू अन्तिममा मात्रै सामुदायिक प्राकृतिक चिकित्सालय पुग्ने गरेका छन्, औषधिको ठेली बोकेर। यहाँ पञ्च तत्त्व माटो, पानी, हावा, सूर्यकिरण, आकाशको माध्यम बनाएर उपचार गरिन्छ। यसले शरीरमा रहेको फोहोरलाई बाहिर निकाल्नुका साथै शरीरमा जीवनी शक्ति बढाउने काम पनि भइरहेको हुन्छ भन्छन् प्राकृतिक उपचारमा संलग्न चिकित्सकहरू। यो उपचारले कुनै अंग कमजोर छ भने त्यसलाई सक्रिय बनाउँछ।

प्राकृतिक चिकित्सालयमा औषधिको गोलीले होइन बोलीले निको बनाइन्छ। चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवहारले आधा रोग निको बनाउँछन्। माटो, पानी, सूर्यको किरण, हावा, आकाशलगायतका तत्त्वहरूलाई आवश्यकता हेरेर विभिन्न रूपमा रोगीसँग जोडेर उपचार सेवा दिइन्छ। यसैबाट रोगलाई निको पारिन्छ। चिकित्सक पौडेल बिरामीसँग चिकित्सकको भूमिकामा देखिँदैनन्। उनी चिकित्सकभन्दा पनि जीवनशैली सिकाउने शिक्षकको भूमिका निर्वाह गरिरहेका भेटिन्छन्। उनलाई हरेक कुरामा व्यवस्थापक हरिले साथ दिन्छन्। 

छालासम्बन्धी समस्याका कारण चिकित्सालय पुगेकी नारायणगढकी गौरीदेवी प्रधानले उपचारमा सन्तुष्ट भएपछि भवन निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ सहयोग गरेकोसमेत तथ्यांक यो अस्पतालमा भेटिन्छ। अस्पतालका संस्थापकसमेत रहेका व्यवस्थापक हरिप्रसाद सापकोटाका अनुसार अचेल करिब २५ प्रतिशत बिरामी त सुरुआतमै यहाँ आउने पुग्ने गरेका छन्। प्राकृतिक चिकित्साप्रति विश्वास बढ्दो क्रममा रहेको उनको अनुभव छ। 

उनी भन्छन्, ‘अब चिकित्सालयलाई कलेजका रूपमा पनि विकास गर्ने लक्ष्य छ। दिगो बनाउने योजना छ। यसमा सरकारको साथ आवश्यक छ।’ प्राकृतिक उपचारमा सर्जरी बाहेकका सबै रोग निको हुने चिकित्सक बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.