युवाहरू राष्ट्र निर्माणमा आउन जरूरी छ : मन्त्री सिंह
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रादेशिक नीति संवाद तथा युवा महोत्सवलाई आइतबार सम्बोधन गर्दै मन्त्री सिंहले देशको समग्र विकास र परिवर्तनका लागि युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताएका हुन्।
समाजमा मौलाउन खोजेको नकारात्मक भावको अन्त्य गरी सकारात्मक र सिर्जनात्मकताको विकासका लागि युवाहरू अघि बढ्नुपर्ने मन्त्री सिंहको भनाइ छ। सकारात्मक सोच र कर्मले नै सही दिशामा अघि बढ्न सक्ने भन्दै मन्त्री सिंहले भने, 'यसका लागि युवाहरूलाई शुभकामना दिन्छु। शैक्षिक बेरोजगारी अन्त्य गर्न, युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन प्रदेश सरकार लागि पर्नेछ। '
प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट युवामैत्री आउने उनले बताए। 'समृद्ध नेपाल निर्माणका लागि कर्णालीबाटै सुरुआत गर्ने जिम्मेवारी तपाईं–हाम्रो काँधमा छ। ' उनले भने, 'त्यसकारण प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति, कार्यक्रम, बजेट युवाहरूले महसुस गर्नेगरि ल्याउने कोसिस गर्नेछौं।'
मन्त्री सिंहले कर्णालीमा रहेको गरिबी, बाल विवाह, सबै किसिमका भेदभाव र समस्यालाई न्यूनीकरणका लागि युवाहरुको भुमीका महत्वपुर्ण रहेको बताए। समुन्नत कर्णालीका लागि साझा अठोट भन्ने नारासहित सुरु भएको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव सोमबार सकिने आयोजक संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए।