गैंडामाथि अपराध
संरक्षित वन्यजन्तु गैंडाको चोरी तस्करी पछिल्लो समय चुनौतीका रूपमा देखा परेको छ। जसै समयको परिवर्तन भएको छ, तस्कर र सिकारीले पनि नयाँ प्रविधि प्रयोग गर्न थालेका छन्। अपराधमा नयाँ आयामहरू देखा परेका छन्।
३०/४० को दसकमा खाल्डो खनेर त्यसमा गैंडालाई पार्नेहरू अचेल करेन्ट लगाएर मार्न उद्यत हुँदैछन्। कति गैंडा त प्राकृतिक रूपमै परेका पानीका खाल्डामा परेर पनि मर्ने गरेका थिए। तर, सिकारीहरू भने पासो थापीथापी गैंडाको ज्यान लिन्छन् र तिनको खाग तथा हड्डी तस्करी गर्छन्। चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन भन्छ– २०७८/७९ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा ३७ वटा गैंडा मरे। ३४ वटाको प्राकृतिक रूपमै मृत्यु भयो भने दुईवटा चोरी सिकारीले मारे। एउटाचाहिँ खाडलमा परी मर्यो।
नेपालमा गैंडा चितवनमा मात्रै होइन, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा आरक्षमा पनि पाइन्छ। मृत्यु पनि सबैतिर छ। धेरै सिकारीचाहिँ चितवनमा भइरहेको छ। सन् २०२२ को गणनाले नेपालमा ७ सय ५२ वटा गैंडा देखाउँछ। योमध्ये पनि ६ सय ९४ चितवनको हो। जहाँ धेरै संख्या त्यहीं धेरै चोरी सिकारी पनि छ। २०७९/८० मा चितवनमा तीनवटा गैंडा चोरीसिकारीले पासोमा पारेर मारे। गैंडा कुन तरिकाले मारिएका छन् र त्यसलाई कसरी रोक्ने भन्ने नै निकुञ्ज र वन्यजन्तु अधिकारीहरूलाई टाउको दुखाइ भएको छ। गैंडा मार्ने काम संगठित गिरोहकै सुनियोजित योजनामा हुने हुँदा गिरोहले नयाँनयाँ जुक्ति लगाइरहेको हुन्छ। अपराधको तौरतरिका बदलिरहन्छ। मुख्य चुनौती भनेकै गिरोह पत्ता लगाउनु पनि हो। संगठित आपराधिक गिरोह पनि नेपाल, भारत र चीनसम्मकै सञ्जाल बनाएर हुने गरेको अनुसन्धानका भुक्तभोगी बताउँछन्। यसको मतलब नेपालको गैंडामा अन्तर्राष्ट्रिय अपराधीहरूकै नजर छ।
गैंडालगायत वन्यजन्तुको सिकार रोक्न देशभित्रै सेना, प्रहरी, सशस्त्र र वन अधिकारीहरूको संगठित सञ्जाल हुँदैन र छैन। तर, तस्कर र सिकारीहरू सञ्जाल बनाएर काम गर्छन्। सरकारले त झन् देशभित्रै सञ्जाल बनाएर अनि अन्तर्राष्ट्रिय सहयोगसमेत लिएर नेपालका वन्यजन्तुको संरक्षणको पहल गर्नुपर्छ। नेपालका वन्यजन्तु राजनीतिक र प्रशासनिक तथा भौगोलिक हिसाबमा नेपालभित्र भए पनि आखिर ती प्राकृतिक सम्पदा र सम्पत्ति हुन्। जसको अभावमा पारिस्थितिकीय प्रणालीमै नकरात्मक असर पर्छ। सिंगो मानव सभ्यता र जीवनको अस्तित्वमा चुनौती देखा पर्छ।
प्राकृतिक सन्तुलन खल्बलिन नदिन र निरपराध वन्यजन्तुको संरक्षणमा नेपालले अन्तर्राष्ट्रिय संघसंस्था पनि हातेमालो गर्न जरुरी छ।