भन्सार छलेको कन्टेनर छानबिन गर्दै राजस्व
झापा : झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालय भित्रबाट लाखौं राजस्व छलेको आशंकामा प्रहरीले सामानसहित नियन्त्रणमा लिएको कन्टेनरमाथि राजस्व अनुसन्धान कार्यालय इटहरीले छानबिन सुरु गरेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कांकडभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका मेचीनगर–६ स्थित फाइरिङ चोकमा पार्किङ गरी राखिएको ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको थियो।
मेची भन्सार परिसरबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौं सामान रहेको विशेष सूचनाका आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो। कन्टेनरभित्र भन्सारमा राजश्व तिरेको भन्दा बढी परिमाणको सामान फेला परेपछि आवश्यक कारबाहीका लागि शनिबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
प्रहरीले बरामदी मुचुल्कासहित पठाएको सामानसहितको कन्टेनर कार्यालयभित्रै राखिएको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले जानकारी दिए। ‘सामानको धनी सम्पर्कमा आइसकेको छ, अहिले प्रारम्भिक अनुसन्धानमै छौं’, राजस्व प्रमुख आचार्यले भने, ‘कन्टेनरभित्रै सामान छ, हामीले कन्टेनर खोलेका छैनौं, प्रक्रिया पूरा गरी सामान हेर्ने छौं।’ प्रहरीको बरामदी मुचुल्का र भन्सार प्रज्ञापनपत्र दुवै केलाएर छानबिन गर्ने बताउँदै उनले भने, ‘छानबिन गरीसकेपछि मात्र थप कुरा भन्न मिल्छ।’ अहिले नै केही भन्ने अवस्था नभएको उनको भनाइ छ।