अकल्पनीय बाढी आएको देख्दा...

खोला थुनिएपछि सडकको पुलमा थुनिएको हो कि भन्ने आंशका गर्यौं। केहीबेरमा ठूलो आवाज आयो। एकाएक खोला दोस्रोपटक उर्लिएर आयो।
साँझ हामी स्कुलमै थियौं। बाढी आउँदैछ भन्ने हल्ला चल्यो। यो हल्ला कागखोला माथिको गाउँ झोङबाट आएको थियो। त्यतिखेर साँझको साढे ६ बजेको थियो। हल्ला सुनेर हामी खोला हेर्न गयौं। खोला धमिलो हुँदै थियो। बिस्तारै अब खोला बढ्छ भन्ने अनुमान गर्यौं। हामी फर्किएर स्कुलतर्फ आयौं। उता खोलाको वहाब बढ्दै थियो।
स्कुलको गेटभित्र छिर्न नपाउँदै कागखोलाको वहाब बढ्यो। हेर्दाहेर्दै खोला स्कुलको गेटभित्रै पस्यो। त्यसको केहीबेरमा फेरि हेर्दाहेर्दै खोलो सुक्यो। त्यतिबेलासम्म हामीले स्कुलको होस्टलमा बसेर पढ्ने विद्यार्थीलाई ड्रयागन होटलको सुरक्षित स्थानमा राख्यौं। हामी पनि त्यहीँ बस्ने व्यवस्था मिलायौं।
खोला थुनिएपछि सडकको पुलमा थुनिएको हो कि भन्ने आंशका गर्यौं। केहीबेरमा ठूलो आवाज आयो। एकाएक खोला दोस्रोपटक उर्लिएर आयो। खोला बढेपछि हामी अब सतर्क हुनुपर्छ भन्ने लाग्यो। बढेको खोला फेरि कागछोदे गुम्बाको पुलमा थुनियो। खोला थुनिएपछि कागखोला छेउका बस्तीका स्थानीयवासी रुवाबासी गर्दै चिच्याएर कराउँदै बाहिर निस्किए। खोला झनै भीषण रूपमा उर्लिएर आयो। त्यसपछि फेरि १० मिनेटपछि एकाएक खोला थुनिएर सुक्यो। यो क्रम साँझ ६:४५ देखि ८:३० भित्र निरन्तर थुनिने र फुट्ने क्रम ४/५ पटकसम्म जारी रह्यो।
खोलोले तेस्रो र चौथो पटकमा काठ दाउरा र बिजुलीका पोलहरू बगाएर ल्यायो। हाम्रो स्कुलको गेट पनि बाढीले भत्काएर २०/२५ मिटर पर बगायो। खोलो पटक–पटक थुनिँदै आउँदा बाढी सडक र बस्तीभित्रै छिर्यो। खोला गाउँभित्रको सडक र बस्तीमा पस्नु अघि सबै जना घर छोडेर गाउँको पाखो र खेतमा गएर बसे। पानी परिरहेको थियो। निकै कष्टकर र त्रासदीपूर्ण अवस्थामा वर्षाको सामना गर्दै थिए गाउँले।
भोलिपल्ट झिसमिसेमै हामी स्कुल भएको स्थानमा पुग्यौं। कागखोला बस्तीका ३ दर्जन बढी घर बाढीले बगाएको र पुरिएको अवस्थामा थियो। सवारी साधन पनि बगाएको थियो। पक्की पुल, कच्ची अस्थायी पुल र झोलुंगे पुल पनि थिएन। प्रहरी चौकी, क्लब घर, आमा समूह घर, होटल, पसल र धर्मशाला पूरै बगाएर बगरमा परिणत भएको थियो। त्यो दृश्य देखेर सबै गाउँवासीमा रुवावासी र सन्नाटा छाएको थियो। खोलो थुनिएर बढ्छ भन्ने थाहा थियो। तर, यसरी पूरै ध्वंस्त पार्ने गरी बाढी आउँला भन्ने कसैले सोचेका थिएनन्। यो वर्ष अकल्पनीय रूपमा बाढी आयो। मुस्ताङमा बस्दा यति ठूलो विपद् मैले मात्र होइन कसैले पनि कल्पनासम्म गरेका थिएनन्, जुन यसपटक भयो।
कागबेनी श्राद्धस्थलको पूरै भौतिक संरचना बगरमा परिणत भएकाले अब त्यहाँ पूर्वाधार निर्माण गर्न कठिन छ। प्रभावित क्षेत्रमा अहिले पूरै दलदले हिलाम्मे छ। काम गर्न र बचे कुचेको थन्क्याउनसमेत मुस्किल छ। कागबेनी माथिको कागखोलाको शाखा नदीले दुवै तर्फको माटो कटान गरेको र रुखहरू बगाएर थुनिएकाले यति ठूलो क्षति भएको हुन सक्छ। अब गाउँका प्रभावित घरधुरीलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ ३ तहको सरकारले सोच्नु जरुरी छ।
(प्रेम गौतम कागबेनी बाढी प्रभावित क्षेत्रस्थित जनशान्ति माध्यमिक विद्यालयका शिक्षक हुन्।)
प्रतिक्रिया दिनुहोस !
