लन्डनको आइम्याक्स सिनेमामा पहिलोपटक नेपाली चलचित्र प्रिमियर

कलाकार र अतिथिलाई रेड कार्पेटमा स्वागत

लन्डनको आइम्याक्स सिनेमामा पहिलोपटक नेपाली चलचित्र प्रिमियर
तस्बिर सौजन्य: गोर्खा मिडिया
सुन्नुहोस्

लन्डन : ब्रिटिश गोर्खा सैनिकहरूको कथामा निर्मित नेपाली चलचित्र ‘गोर्खा वारियर’ एक भव्य समारोहबीच लन्डनमा वर्ल्ड प्रिमियर गरिएको छ। लन्डनको केन्द्र लेष्टर स्क्वायरस्थित आइम्याक्स सिनेमा हलमा आइतबार गरिएको रेड कार्पेट प्रिमियरमा ७ सय बढी दर्शकले चलचित्र हेरे। 

बलिउड र हलिउडका चलचित्रहरू प्रदर्शन हुने बेलायतको प्रतिष्ठित सिनेमामा कुनै नेपाली चलचित्रको प्रिमियर गरिएको सम्भवत: यो नै पहिलो अवसर थियो। सिनेमाको प्रिमियरअघि चलचित्रका कलाकार तथा प्राविधिक टीम र विशेष अतिथिहरूलाई रेड कार्पेटमा स्वागत गरिएको थियो। सो अवसरमा ब्रिगेड अफ गोर्खाजको ब्यान्ड र पाइपरबाट विशेष म्यूजिकल प्रस्तुति गराइएको थियो।

सेन्ट्रल लन्डनको अत्याधिक व्यस्त लेष्टर स्क्वायरको केन्द्रमा बाजागाजा र तामझामसहित नेपाली चलचित्र प्रदर्शन भइरहंदा त्यहां घुम्न आएका सयौं पर्यटक एवम् विदेशीहरुको प्रशस्त ध्यान खिचिएको देखिन्थ्यो।

 ‘गोर्खा वारियर’ को लन्डन वर्ल्ड प्रिमियरपछि चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो दुई दशकदेखिको प्रयास सफल बनेको महशुस् गरेका छन्। 

प्रिमियरकै लागि डेढ करोड रुपैयाँ खर्च गरेको दावी गर्दै उनले भने,‘नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने हाम्रो लक्ष्य हो। भावी दिनमा अरु थुप्रै नेपाली फिल्महरू आइम्याक्स सिनेमामा आउनेछन्, अन्तरराष्ट्रिय स्तरमा पुग्नेछन् भन्ने मेरो विश्वास छ।’ 

null

पूर्वगोर्खा चाम्स निर्देशित गोर्खा वारियरले बेलायतको लागि मलायाका जंगलमा गोर्खा सैनिकहरूले लडेको ७० वर्षअघिको युद्धलाई पर्दामा उतारेको छ। युद्धका क्रममा गोर्खाले व्यहोरेका सास्ती, देखाएको वीरता र नेपालमा रहेका परिवारसँगको कारुणिक वियोगका बाध्यताहरुलाई चलचित्रले चित्रण गरेको छ।

चलचित्रमा पूर्वगोर्खा रितेश चाम्सको प्रमुख भूमिका छ भने विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देललगायतका कलाकारले पनि अभिनय गरेका छन्। निर्माता सुमन राई र सुस्मिता वाइबा तथा सहनिर्माता सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा छन्। 

मलेसियाकै जंगलमा छायांकन गरिएको र नेपाल तथा भारतका प्राविधिकले काम गरेको चलचित्रको निर्माणमा १४ करोड रुपैयाँ लगानी भएको निर्माता बताउँछन्। 

चलचित्र प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायतको उपल्लो सदन ’हाउस अफ लर्ड्स’ सदस्य लर्ड माइकल हवार्ड, बेलायती सेनाका गोर्खा ब्रिगेडका उच्च अधिकारीसहित यहाँस्थित नेपाली तथा बेलायती समुदायबाट समेत कयौं विशिष्ट अतिथिहरु सहभागी थिए। प्रिमियरकै लागि नेपालबाट समेत चलचित्रका कलाकार, प्राविधिक र सञ्चारकर्मीहरु आएका दिए।

null

गोर्खाको कथामा निर्मित चलचित्र हेर्न आउनेमध्ये ठूलो हिस्सा पूर्व तथा बहालवाला गोर्खा सैनिक र तीनका परिवारका सदस्यको थियो। प्रिमियर समारोहलाई शुभकामना दिँदै ब्रिगेड अफ गोर्खाजका मेजर डिल्लीकुमार राईले बेलायती सेनामा गोर्खालीहरूले रचेको वीरता र गौरवको कथालाई चलचित्र ‘गोर्खा वारियर’ले इतिहासमा सुरक्षित गरेको भन्दै खुशी व्यक्त गरे। निर्माता सुमन राईले चलचित्र वीर गोर्खालीहरूप्रति समर्पित रहेको जनाए। 

गोर्खा वारियर प्रिमियरका अवसरमा गोर्खाको गौरव बढाउन महत्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वलाई ‘गोर्खा आइकन अवार्ड’ प्रदान गरिएको थियो। सम्मान प्राप्त गर्नेमा बेलायती सेनामा सेवाका क्रममा दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी पूर्व गोर्खा हरि बुढामगर, सगरमाथा आरोही पूर्व गोर्खापुत्री नायिका दिया पुन, दुवै खुट्टाबिना विभिन्न अन्तराष्ट्रिय खेलकुदमा पदक जित्ने पूर्वगोर्खा कुशल राई र पूर्वगोर्खा मास्टर राष्ट्र राई, बेलायतमा नेपाली मूलका पहिलो काउन्सिलर पूर्व गोर्खा धनकिरण गुरुङ थिए। 

null

तस्बिर सौजन्य: शिव भण्डारी

गोर्खा वारियर आगामी चैत महिनाभित्रै नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा ल्याउने तयारी रहेको गोर्खा वारियरका मिडिया संयोजक आकाश सुनुवारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.