वैदेशिक रोजगारीको पीडा

वैदेशिक रोजगारीको पीडा

नेपालबाट बाहिरिने जनसंख्या संख्या करिब एक करोडको हाराहारीमा पुग्ने देखिएको छ। नेपालबाट रोजगारीका लागि खाडी मुलुकका साथै युरोपका मुलुकहरूका साथै अध्ययनको लागि भन्दै अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायत आदि देशमा गएको तथ्यांक छ। दुई/तीन दशकको तथ्यांकलाई नियाल्ने हो भने रोजगारीका लागि विदेश जाने नेपालीको कारण नेपालले बर्सेनि ११/१२ खर्ब रुपैयाँ विप्रेषण(रेमिट्यान्स) आर्जन गरिरहेको छ। जसले नेपालीको जीवनस्तरमा समेत परिवर्तन आएको छ।

पछिल्लो समयमा सार्वजनिक भएको तथ्यांक हेर्दा नेपालीको प्रतिव्यक्ति आय १,४५६ अमेरिकी डलर पुगेको छ। नेपाल जस्तो निर्यातजन्य उद्योग नगन्य जस्तै भएको मुलुकको लागि विदेशी मुद्राको सञ्चितिको प्रमुख स्रोत विप्रेषण हुन पुगेको छ। जसलाई सकारात्मक नै मान्न सकिएला। तर, मुलुकबाट यति ठूलो संख्यामा प्रत्येक वर्ष युवा एवं सिर्जनशील जनशक्ति मुलुकबाट पलायन हुनुले नेपाललाई कति दीर्घकालीन रूपमा असर पर्छ ? भविष्यमा कति पीडादायी होला सहजै अनुमान गर्न कठिन छैन। पछिल्लो समयमा नेपालबाट विदेशमा रोजगारी र अध्ययन भन्दै बिदेसिने कार्यले नेपालको कृषि क्षेत्र तहसनहस हुन पुगेको छ। विगतमा नेपालबाट धानलगायतका अन्न निर्यात गर्ने मुलुक नेपाल, अहिले करिब ५० अर्बबराबरको खाद्यान्न आयात गर्ने अवस्थामा पुगेको छ। युवा जनशक्तिको बहिर्गमनले नेपालका गाउँ/गाउँहरू रित्ता बन्न पुगेका छन्। युवा जनशक्ति रोजगारीको खोजीमा खाडीका मुलुकमा जाने कार्यले गाउँगाउँमा रहेका खेतीयोग्य जमिनमा कार्य गर्ने जनशक्ति अभाव देखिएको छ। जसका कारण गाउँका खेतबारीहरू बाँझो बनेका छन्। 

त्यतिमात्र होइन, खाडी मुलुक तथा अन्य मुलुकमा अध्ययन र रोजगारी गर्न भन्दै मुलुकबाट बाहिरिएका युवाका परिवारले समेत गाउँ छोड्नाले नेपालको डेमोग्राफिक (जनसांख्यिक) अवस्थासमेत खल्बलिएको छ। वैदेशिक रोजगारीमा गएका युवाका परिवारसमेत गाउँबाट बसाइँसराइ गर्दै सहरमा बसोबास गर्न थालेका छन्। घरमा युवाको अभाव र सामाजिक सञ्जालको गलत प्रयोगले सामाजिक विकृति निम्त्याउन थालेको छ। सामाजिक सञ्जालको गलत प्रयोगका कारण डरलाग्दा घटनाहरूको समाचार हरेक दिनजसो छ्यापछ्याप्ती हुन थालेका छन्। जसले गर्दा नेपालको सामाजिक संरचनामा समेत ठूलो असर पुगिरहेको छ। यस्तो अवस्था बढ्दै गयो भने कतै समाज विघटनको अवस्थामा मुलुक पुग्ने हो कि भन्ने त्रास उत्पन्न हुन थालेको छ।

अझ पछिल्लो समयमा मुलुकमा विकास हुँदै गएको पलायनवादी र निराशावादी चिन्तनले युवाहरूलाई गाँज्न थालेको छ। नेपालमा बसेर केही हुँदैन, नेपालमा भविष्य सुरक्षित छैन भन्ने प्रकारको मनोविज्ञान र त्यस्तै प्रकारका प्रचार सामग्रीले युवालाई विचलित बनाएको छ। जसले गर्दा हरेक घरका अभिभावक छोराछोरीलाई उच्च माध्यमिक स्तरको शिक्षा उत्तीर्ण गर्दा नगर्दै विदेशको कुन मुलुक पठाउने भन्ने चिन्ताले ग्रस्त हुन थाल्छन्। जसले गर्दा नेपालको कृषि क्षेत्र, नेपालको प्राविधिक क्षेत्र, पर्यटन क्षेत्र र औद्योगिक क्षेत्रमा समेत भोलिका दिनमा जनशक्तिको अभाव हुने अवस्था सिर्जना हुन थालेको छ।

त्यतिमात्र होइन, नेपालको राजनीतिक क्षेत्रमा समेत राम्रो सम्भावना भएका शिक्षित, दीक्षित र दूरदर्शी युवाको राजनीतिमा प्रवेश गर्ने सम्भावना समेत टाढा हुँदै गएको छ। यस्तो निराशावादी चिन्तनलाई कसरी आशामा बदल्ने ? आफ्नो मातृभूमि र आफूलाई जन्म दिने र शिक्षादीक्षा दिने अभिभावकप्रति श्रद्धा र जिम्मेवारीबोध कसरी गराउने ? म नेपाली हुँ भन्ने गर्वको अनुभूति गराउने वातावरण कसरी निर्माण गर्ने ? यी र यस्ता समस्याको समाधान के हुन सक्छन् ? भन्ने विषय अहिलेको सबैभन्दा ठूलो चुनौतीको रूपमा देखिएको छ।

उल्लेखित समस्याहरूबाट नेपाललाई कसरी बाहिर निकाल्ने र नेपालको आर्थिक उन्नतिका बाटाहरू के बनाउने भन्ने विषयमा निम्न बाटाहरू नेपालको समृद्धिका साधन बन्न सक्ने देखिन्छ :–

पर्यटन क्षेत्रको विकास : संसारका अत्यन्त सुन्दर मुलुकमध्येमा नेपाल पनि पर्दछ। यहाँको भौगोलिक अवस्था, यहाँका पर्यटकीय क्षेत्रहरू संसारभरका मानिसका लागि अत्यन्त चासो र उत्सुकताको विषय बन्न सक्छन्। यदि हामीले पर्यटनको विकासमा राम्रो ध्यान पु¥याउन सक्यौं र त्यसको प्रचार र प्रसार संसारभर गर्न सक्यौं भने नेपाल भोलिका दिनमा बर्सेनि करोडौं मानिसका लागि पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ। पर्यटनको विकास नेपालको हाल देखिएको समस्याको समाधानको एउटा सूत्र बन्न सक्छ। जसले नेपाललाई समृद्ध बनाउन मद्दत गर्नेछ।

संयुक्त लगानीका उद्योगहरूको स्थापना : सौभाग्यवश ! दुईवटा विशाल छिमेकी राष्ट्र चीन र भारत नेपालको छिमेकीको रूपमा छन्। यी राष्ट्रहरू जनसंख्याको हिसाबले मात्र संसारका ठूला राष्ट्र होइनन्, औद्योगिकरूपमा समेत सबल र सक्षम राष्ट्रको रूपमा रहेका छन्। यी दुईवटा मुलुकको जनसंख्या करिब तीन अर्ब रहेको र संसारकै ठूला औद्योगिक उत्पादन गर्न समेत सक्षम छन्। यस्तो अवस्थामा यदि नेपालले राम्रो कूटनीतिक पहल गरी यी राष्ट्रलाई नेपालमा संयुक्त लगानीका उद्योगहरू स्थापना गर्न समेत सहमत गराउन सक्ने देखिन्छ। यसरी स्वाभाविक रूपमा यी दुईवटा मुलुकका बजारहरू स्वयं ती राष्ट्रहरूका लागि समेत फलदायी सिद्ध हुन सक्छन्। यदि नेपालले यी दुई राष्ट्रबीच व्यापारिक सेतुका रूपमा प्रस्तुत हुन सक्ने हो भने नेपाल दक्षिण एसियाको विशाल अन्तर्राष्ट्रिय बजार बन्न सक्नेछ। यी राष्ट्रका संयुक्त लगानीका उद्योगहरू नेपालको हालको समस्याको अचुक उपाय बन्न सक्छन्। यदि नेपालमा दुईवटा राष्ट्रका संयुक्त लगानीका उद्योगहरू स्थापना हुन सक्ने हो भने नेपालमा रोजगारीको अवसर प्रचुर मात्रामा सिर्जना हुनेछ। नेपालीहरूले खाडीका मुलुकमा गएर ५०/६० डिग्री सेल्सियस तामक्रममा पसिना बगाउनु पर्ने छैन।

कृषिमा आधुनिकीकरण : यी दुई मुलुकमध्ये विशेषत: चीनले कृषि प्रविधिको क्षेत्रमा अतुलनीय प्रगति गरेको छ। चीनको कृषि प्रविधि विश्वमै अनुकरणीय रहेको छ। चीनको कृषि क्षेत्रमा अपनाइएको प्रविधिलाई नेपालले आयात गर्न सक्ने हो भने नेपाल खाद्यान्न र फलफूल आयात गर्ने राष्ट्रबाट कृषि फसल, फलफूल र ताजा तरकारी निर्यात गर्ने राष्ट्रको रूपमा विकास हुन सक्नेछ।

पानी उद्योगको स्थापना : नेपाल पाँच हजार वटा नदीनाला र हजारौं झरना भएको मुलुक हो। यहाँका झरनाहरू अरब राष्ट्रको तेल जस्तै मूल्यवान् बन्न सक्छन्, यदि हामीले ती झरनाको पानीलाई पिउने पानीको रूपमा बोटलिङ गरी पिउने पानीको अभाव भएका खाडी राष्ट्रलगायतमा निर्यात गर्न सक्यौं भने नेपालको झरनाको पानी नेपालीको जीवनस्तरलाई समृद्ध बनाउने कोशेढुंगा बन्न सक्छन्। जसका लागि सरकारले त्यसतर्फ गम्भीर ध्यान दिन सक्नु प¥यो।

जडीबुटी उद्योगको स्थापना : नेपालको मध्यपश्चिम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔंलेजस्ता जडीबुटी नेपालको आर्थिक उन्नतिका लागि बरदान सावित हुन सक्छन्, यदि हामीले ती जडीबुटीका उद्योगहरू तिनै क्षेत्रमा खोल्न सक्यौं भने। जडीबुटी उद्योगले मध्यपश्चिम जस्तो क्षेत्रमा ठूलो रोजगारीको अवसर सिर्जना गर्नेछ भने नेपालले ठूलो आयआर्जन गर्न सक्ने छ। माथि उल्लेखित पाँचवटा क्षेत्रका साथै नेपालले घोषणा गरिसकेको जलविद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न सक्यौं भने नेपाली निराशाको मानसिकताबाट बाहिर निस्कन सक्ने थिए।

यदि अब पनि देशका जिम्मेवार नेता तथा सरकार सञ्चालकहरू गम्भीर बनेनन् भने नेपालका युवा पलायन भइरहनेछन्। परिणाम: भोलिको नेपाल वृद्धवृद्धाको सहर बन्नेछ। अर्काेतर्फ, भोलिका दिनमा नेपालमा ठूला उद्योगहरू खोल्ने अभियान थाल्दासमेत विदेशबाट जनशक्ति आयात गर्ने अवस्था नआउला भन्न सकिन्न। अर्काेतर्फ भोलिका दिनमा डाक्टर, इन्जिनियर र नर्सजस्ता प्राविधिक जनशक्ति नेपालमा नहुँदा के गर्ने भन्ने अवस्था नआउला भन्न सकिँदैन। राज्य सञ्चालकहरूको यसतर्फ ध्यान जाओस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.