नगर खानेपानी कार्यालयमा तालाबन्दी
बागलुङ : राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तालाबन्दी गरेको छ।
संस्थालाई व्यक्तिगत स्वार्थको कृडास्थल बनाएको, आर्थिक मन्दी र चरम महँगीले जनताको दिनचर्या जटिल भएको अवस्थामा खानेपानीको न्यूनतम् महसुल बढाएको भन्दै संघका अध्यक्ष बुद्ध बोहोराको टोलीले बिहीबार संस्थाका अध्यक्ष, सचिव र प्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेको हो।
संघले समितिले महँगीको मारमा रहेका उपभोक्तालाई थप मार पर्ने गरी न्यूनतम् महसुल वृद्धि गरेको, पानीको बक्यौता महसुल असुल गर्नुपर्नेमा थप गरेको, फोहोर पानी धारामा पठाएको, अघिल्लो आर्थिक वर्षको व्ययभार चालू आर्थिक वर्षमा ल्याएको र जिम्मेवार व्यक्तिहरूबाटै मिटर बिना पानीको प्रयोग गर्ने गरेको लगायतका आरोप लगाउँदै तालाबन्दी गरेको हो।
संघका अध्यक्ष बोहोराले हस्ताक्षर गरेको ज्ञापनपत्रमा संस्थाका जिम्मेवार पदाधिकारी आफैंले आफ्नो घरको मिटर वर्षौदेखि झिकेर विना मिटर पानीको दुरुपयोग गरेको, विभिन्न शीर्षकमा पेस्की लिएर त्यसको गत आर्थिक वर्षभित्र फर्स्यौट नगरी झनै थप्ने काम गरेको र समितिले संस्थालाई आम जनसरोकार र उपभोक्ता मैत्री बनाउने भन्दा समग्रमा तहसनहस पार्ने प्रवृत्ति देखाएकाले त्यसका विरुद्धमा सचेत गराउन तालाबन्दी गर्न बाध्य भएको उल्लेख छ।
युवा संघले उपभोक्ता हितको लागि तालाबन्दी गरेकाले आफ्ना माग सम्बोधन नगरी कुनै पनि क्रियाकलाप गरे जस्तोसुकै कदम चाल्न बाध्य हुने अध्यक्ष बुद्ध बोहराले बताए। नियमित खानेपानी उपलब्धताका लागि प्राविधिक र अन्य कर्मचारीको कार्यकक्षमा भने ताला नलगाएको उनले बताए।