भीमेश्वर मन्दिरको शिलामा पसिना

भीमेश्वर मन्दिरको शिलामा पसिना
सुन्नुहोस्

दोलखा : दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा २१ औँ पटक पसिना आएको छ। शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका थिए। 

उनीहरूले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए। त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजासमेत गरिएको भीमेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठले बताए।

भीमेश्वरको शिलामा शनिबार दिउँसो १:४७ बाट  पसिना आउन सुरु भएर  ३:५१ मा रोकिएको थियो। लगतै ३:५१ पछि एकैछिन रोकिएर फेरि आउन सुरु गरेको पसिना ४:१५ मा रोकिएको थियो। मन्दिरमा सुरुमा शिलाको बाँयातर्फबाट पसिना आउन सुरु गरेकोमा पछि शिलाको बीचबाट पसिना आएको थियो। 

शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको थियो। शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगब्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहेको छ। मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए। 

प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१औँ पटक पसिना आइसकेको स्थानीयले बताएका छन्। पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका सचिव राजेन्द्र श्रेष्ठले बताए। भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानीयहरूको भनाइ छ।

शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा  नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ। शनिबार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो। भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँया पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ। 

शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठको भनाइ छ। ‘अहिले नयाँ सरकार गठनको अवसर पनि भएकोले सकारात्मक सन्देश कै लागि हो भनेर हामीले भगवानप्रति विश्वास गरौं’, उनले भने।

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलन समेत रहेको छ। ‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए। भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रूपमा लिने जनविश्वास रहेको छ। 

शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने चलन छ। जसका लागि राष्ट्रपतिबाट हुने क्षमा पूजाका विषयमा आइतबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भीमेश्वर मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसहित  १० जना  राष्ट्रपति कार्यालयमा सुरुमा पसिना पुछेको कपास लिएर जाने निर्णय भएको सचिव श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.