नुवाकोटमा ९६ प्रतिशत धान रोपाइँ
नुवाकोट : समयमै मनसुन भएका कारण यस वर्ष नुवाकोटमा गत वर्ष भन्दा धेरै क्षेत्रफलमा बर्खे धान रोपिएको छ। आकाशे पानीको भर पर्नुपर्ने स्थानमा भने धान रोप्न बाँकी रहेको छ।
नुवाकोटमा साउनको तेस्रो सातासम्म कुल ९६ प्रतिशत खेतमा धान रोपाइँ गरिएको छ। हालमा ११ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ।
सिँचाइ तथा पानीको उपलब्धता भएका खेतहरूमा धान रोपाइँ सकिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नुवाकोटमा कुल १४ हजार २ सय ८३ हेक्टर जमिनमा बर्खे धानको खेती हुने गरेको कार्यालयकी अधिकृत रुक्मिणी अधिकारीको भनाई छ।
उनका अनुसार नुवाकोटमा लगभग रोपाइँ अन्तिम चरणमा पुगेको र आकासे पानीको भर हुने केही टारी खेतहरूमा रोपाइँ गर्न बाँकी रहेको छ। यसवर्ष समयमै मनसुन भएको र यसको अवधि लामो रहेका कारण धान खेती गर्ने किसानहरूलाई समस्या नपरेको कृषि विकास कार्यालयका प्रमुख केशव खनालको भनाई छ।