विराटनगरमा राधाकृष्ण रथयात्राको तयारी
विराटनगर : विराटनगरमा यसवर्षको राधाकृष्ण रथयात्रा यही भदौ ११ गते मंगलबार निकालिँदै छ। ऐतिहासिक रथयात्राको तयारी तीव्र पारिएको छ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिन्छ। राधाकृष्णको युगल जोडीसहितको रथ विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३:३० बजेतिर निकालिने छ। राधाकृष्ण रथयात्रा समारोह समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ९३ औं रथयात्राको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ।
विगतभन्दा भिन्न शैलीमा यसवर्ष रथयात्रा निकाल्ने तयारी छ। रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकाल्ने तयारी भइरहेको जानकारी दिए। ‘रथयात्रामा नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा छ। यो नेपालको सबैभन्दा ठूलो र पुरानो रथयात्रा हो। यसको छुट्टै महत्व रहेकाले भक्तजनको उल्लेखनीय उपस्थिति रहने गरेको छ,’ उनी भन्छन्।
रथयात्राले विराटनगर बजारभित्रको ९ किलोमिटर यात्रा तय गर्नेछ। रथयात्रा सम्पन्न हुन करिब ६ घण्टा लाग्ने रेग्मीको भनाइ छ। समितिका उपाध्यक्ष नन्दकिशोर राठीले भक्तजनहरुलाई पूजाआजाका लागि सहज बनाइने बताए। उनका अनुसार यात्रा अवधिभर ४३ स्थानमा रथलाई विश्राम गराइने छ। रथयात्रामा विगतजस्तो व्यावसायिक प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको राठीले बताए।
विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको यसलाई २०२५ सालदेखि रथयात्राको रूप निकाल्न थालिएको हो। रथयात्राको अवलोक गर्न र रथको पूजा गर्न पूर्वी नेपालका विभिन्न स्थानसहित भारतबाट समेत भक्तजन आउने गरेका छन्।
पछिल्लो समय सुनसरी, झापालगायतका स्थानमा पनि रथयात्रा निकाल्न थालिएपछि विराटनगरको रथयात्रामा भक्तजनको उपस्थिति कम हुँदै गएको छ। रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास छ।
प्रतिक्रिया दिनुहोस !