विराटनगरमा आज राधाकृष्ण रथयात्रा, कोशी प्रदेशमा सार्वजनिक बिदा

विराटनगरमा आज राधाकृष्ण रथयात्रा, कोशी प्रदेशमा सार्वजनिक बिदा
फाइल तस्बिर।

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक राधाकृष्ण रथयात्रा आज (मंगलबार) निकालिँदै छ। प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ। विराटनगरसहित प्रदेशका विभिन्न स्थानमा रथयात्रा निकाल्ने गरिन्छ। रथयात्रालाई लक्षित गरेर कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। 

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिँदै आएको छ। यो विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो। २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो। आज निकालिने रथयात्रा खटको ९३ औं र रथको ५६ औं संस्करण हो। 

विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ दिउँसो ३:३० बजेतिर निकाल्ने तयारी छ। रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ। रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ।

यात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम गराइने छ। राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आउने गरेका छन्। रथयात्रा समारोह समितिले करिब ५ लाख भक्तजनले रथयात्राको अवलोकन गर्ने अपेक्षा गरेको छ। 

रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहानैदेखि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। 

उनका अनुसार सादा पोसाकमा मात्रै १३ वटा अलगअलग टोली परिचालन गरिएको छ। प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो। विशेष गरेर यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट केन्द्रित गरेर प्रहरी सक्रियता बढाइएको कार्की बताउँछन्।

विगतमा अवाञ्छित गतिविधि गर्दै आएका र केही शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाइएको जानकारी उनले दिए। रथयात्रामा मानवीय चहलपहल अत्यधिक हुँदा सुरक्षा चुनौती पनि बढ्ने गरेको छ। सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउँदै भक्तजनको सुरक्षामा प्रहरी चनाखो रहेको जानकारी एसपी कार्कीले दिए। 

शंकास्पद व्यक्तिलाई निगरानीमा राख्दै कुनै घटना, अपराधिक र उच्छृङ्खल गतिविधि भएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाउने प्रहरीको तयारी छ। एसपी कार्कीले विगतमा चोरी तथा लुटपाट मुद्दा चलेर छुटेकाहरुमाथि पनि सूक्ष्म निगरानी भइरहेको बताए। कुनै किसिमका अपराधिक गतिविधि हुन लाग्यो वा भइहाल्यो भने तत्कालै प्रहरीलाई खबर गर्न उनले सबैमा आग्रह गरेका छन्।

प्रहरीले आइतबार र सोमबार राति केही भारतीयसहितलाई नियन्त्रणमा लिएको छ। प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको हो। मध्य रातमा बिना काम हिँड्डुल गर्ने र चोरी गर्ने उद्धेश्य देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार रथयात्रालाई शान्त, सभ्य, सुरक्षित र भव्य बनाउन प्रहरीले सबैमा अपिल गरिएको छ। 

सुरक्षा व्यवस्था कडा पारिएका कारण सबै जना ढुक्क भएर रथयात्रामा सहभागी हुनसक्ने डीएसपी बस्नेतको भनाइ छ। ‘भीडभाडमा आउँदा बहुमूल्य गरगहना नलगाउन, बहुमूल्य वस्तु नल्याउन तथा स्वयं आफू पनि सचेत र चनाखो हुन आग्रह गरिएको छ,’ उनले भने, ‘सबै जना रथयात्रामा केन्द्रित हुँदा चोरी हुने सम्भावना रहेकाले भक्तजनले आफ्नो डेरा वा घरको सुरक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.