सुनकोशी नदीमा गाडीसहित बेपत्ता अझै भेटिएनन्, पाँचौं दिन पनि खोजी जारी

सुनकोशी नदीमा गाडीसहित बेपत्ता अझै भेटिएनन्, पाँचौं दिन पनि खोजी जारी
फाइल तस्बिर।
सुन्नुहोस्

सिन्धुली : गत शनिवार साँझ सुनकोसी नदीमा खसेको गाडीसँगै बेपत्ता भएका यात्रुहरू पाँच दिन हुँदासम्म फेला पार्न सकिएको छैन। खोटाङको हलेसी दर्शन गरेर भक्तपुर  फर्कँदै गरेको प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिक मध्य पहाडी राजमार्गबाट सुनकोसी नदीमा खसेको थियो।

उक्त गाडीमा सवार चारजनामध्ये तीनजना बेपत्ता छन्। बेपत्ता गाडी सोही दिन नदीबाट पत्ता लगाइ झिकिएको भए पनि चालकसहित तीन यात्रुको कुनै अत्तोपत्तो छैन। उनीहरूको पाँचदिनदेखि लगातार खोजी कार्य भइरहेको छ।

सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि, बेपत्ताका आफन्त र स्थानीयले संयुक्तरुपमा बेपत्ताको खोजी गरिरहेको भए पनि फेला पार्न नसकिएको सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) गोविन्दराज काफ्लेले जानकारी दिए।

गाडीमा चारजना सवार थिए। चार जनामध्ये एकजना गाडीबाट हामफालेर बाँच्न सफल भएका थिए भने गाडीका चालक सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका ३२ वर्षीय अविन बाँके, सोही ठाउँका  वर्ष ३० का प्रनित स्यागु र वर्ष ३७ का बलराम घटुवा बेपत्ता रहेका छन्।

सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिवार यता दिनभर सुनकोसी नदीमा राफ्टीङ्ग मार्फत सुनकोसी नदीको करिव ३२ किलोमिटर तल उदयपुरको घुर्मीसम्म बेपत्ताको खोजी गरिरहेको गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोमप्रसाद बरालको भनाइ छ। 

खोटाङबाट फर्किएको गाडी आफैं अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा खसेको थियो। मध्येपहाडी लोकमार्ग अन्तरगत खुर्कोट–घुर्मी खण्डमा भएको उक्त दुर्घटना सडक मर्मत गर्दा थुपारिएको मसिनो गिट्टीका कारण पनि हुन सक्ने आशंका गरिएको छ। 

नदीमा पानीको बहाव बढेका कारण खोजी कार्य गर्न थप कठिनाइ भएको बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.