गाउँका जुवाडेलाई तह लगाउँदै आमा समूह

गाउँका जुवाडेलाई तह लगाउँदै आमा समूह
सुन्नुहोस्

गोरखा : जति सम्झाइबुझाइ गर्दा पनि अटेरी गरी घरबुढाहरूले जुवातास खेलेर हैरान पारेपछि लाप्राक गाउँका महिला एकजुट भई जुवातासविरुद्ध अभियानमा उत्रिएका छन्। कामकुरो छोडी लोग्नेमान्छेहरू बाह्रै महिना, चौबीसैघण्टा जुवातासमा भुल्न थालेपछि धार्चे ४ लाप्राकका महिलाले जुवातासविरुद्धको अभियान सञ्चालन गरेका हुन्।

गत दुई महिनादेखि हिमाली आमा समूहले अभियान थालेका वडाअध्यक्ष किसान गुरुङले जानकारी दिए। ‘समूहमा ६० जना महिला छन्। उनीहरूले हरेक दिन जुवातास खेल्ने सम्भावित ठाउँहरूमा गश्ती गर्छन्’, वडाअध्यक्ष गुरुङ भन्छन्, ‘८–९ जनाको अलगअलग टोली बनाएर आलोपालो गरी गस्तीमा हिँड्छन्। उनीहरू गुरुङको मौलिक पोसाकमा ठाँटिएर गस्तीमा हिँड्छन्।’ यो अभियान धेरै प्रभावकारी भएको उनले बताए। जुवातास खेलिरहेको अवस्थामा खालमा भेटे भने नियन्त्रणमा लिएर कारबाही गर्ने गरेका उनले बताए। 

गाउँमा मदिरा सेवन र जुवातास अत्यधिक रूपमा बढेपछि त्यसलाई नियन्त्रणका लागि यस्तो कदम चाल्नु परेको हिमाली आमा समूह लाप्राककी अध्यक्ष स्मृति गुरुङले बताइन्। ‘गाउँमा मदिरा सेवन र जुवातासको बिगबिगी नै बढ्यो। कमाइ सुको नगर्ने, जुवामा हजारौँ हार्ने गर्दा घर परिबारमा द्वन्द्व बढ्न थाल्यो’, गुरुङले भनिन्, ‘२०६४÷६५ सालतिर पनि यसरी नै गाउँ घुम्ने, जुवातास खेल्नेलाई कारबाही गर्ने भनेर लागेका थियौं। त्यतिबेलाको समय परिस्थिति नै अर्कै थियो। समूहमा पनि धेरै सदस्य थिएनौं, सबैजनाले आमा समूहको कामलाई प्रतिकार गरेका थिए। तर, अहिले समय फेरिएको छ, समूहमा ६० जना सदस्य छौं। त्यसैले अहिले भने जुवा नियन्त्रणका लागि बलियो भएर जुटेका छौं।’ वडाका जनप्रतिनिधिहरू, प्रहरीसँग र सचेत पुरुषहरूले पनि अभियानमा पूर्ण साथ र सहयोग गरेका उनले बताइन्। 

अभियान यही साउनदेखि सुरु भएको हो। ‘साउन ३ गतेबाट सूचना जारी गरेर गश्ती लगाउन सुरु गरेका हौं’, उनले भनिन्, ‘समूहका सदस्यहरूको घरायसी कामलाई असर नपार्ने हिसाबले सल्लाहअनुसार टोली विभाजन गरेर काम गरिरहेका छौं।’ आमा समूहले जुवातास खेल्दै गरेको भेटेमा घरबेटीसहित जुवाडे र च्याखे थाप्नेहरूलाई जरिवाना र कारबाहीको व्यवस्था मिलाइएको उनले बताइन्। 

पुनः तिनै व्यक्तिहरू जुवातास खेल्दै र खेलाउँदै गरेको भेटिए सोहीअनुसार जरिवानाको दायरा बढाउँदै लैजाने अध्यक्ष गुरुङको भनाइ छ। ‘कोही कोहीले आमा समूहको कामको बिरोध पनि गरेका छन्, महिला बाठी भएका छन् तर हामी अरूको कुरा नसुनी गाउँको विकृति हटाउने प्रसायका छौं’, उनले भनिन्। 

लाप्राकमा आमा समूहले गस्ती लगाउन सुरु गरेपछि जुवातास खेल्ने लहर करिब बन्द नै भएको वडाअध्यक्ष किसान गुरुङले जानकारी दिए। ‘पहिला र खुल्लम्खुला जुवातास खेलेको भेटिन्थ्यो। जति गरे पनि नियन्त्रण हुन सकेको थिएन। अहिले गाउँकै आमा समूह जुटेर काम गर्नुभएपछि गाउँमा जुवातास करिब बन्द नै भएको छ’, उनले भने, ‘अहिले त पहिलाको जस्तो घरबाहिरै मादक पदार्थ सेवन गर्ने होहल्ला गर्ने जुवातास खेल्ने क्रम धेरै नियन्त्रणमा आएको छ।’ समुदायको विकृति हटाउने प्रयासलाई वडा र प्रहरी प्रशासनको साथ र समर्थन रहेको वडाअध्यक्ष गुरुङको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.