मदन भण्डारी राजमार्ग भासिँदा सिन्धुलीमा सिँगो बस्ती नै जोखिममा

मदन भण्डारी राजमार्ग भासिँदा सिन्धुलीमा सिँगो बस्ती नै जोखिममा
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-१ स्वाँरामा मदन भण्डारी राजमार्गको भासिँदा बस्ती नै जोखिममा परेको छ। मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा-सिन्धुली खण्डमा पर्ने उक्त स्थानमा लगातारको वर्षातपछि २० मिटर सडक धसिएर गएपछि त्यसमुनिको बस्ती नै जोखिममा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेका अनुसार गत १४ गतेदेखि परेको अविरल वर्षाको कारण राजमार्ग २ फिट तल भासिएको छ। सडक चिरा परेर धसिँदै गएपछि सडक मुनी रहेको ५ घर धुरी समेत जोखिममा रहेको काफ्लेले बताए। 

सडक धसिँदा स्थानीय पाँच घर जोखिममा परेका छन्। सडकका कारण कमलामाई नगरपालिका-१ स्वाँरा का भुवन ध्वज खड्काको एक तले पक्की घर, दूध राज खड्काको ढुंगा माटोले बनेको दुई तले कच्ची घर, हेम बहादुर खड्काको ढुंगा माटोले बनेको दुई तले कच्ची घर, कृष्ण प्रसाद कोइरालाको ढुंगा माटोले बनेको दुई तले कच्ची घर र केदार प्रसाद काफ्लेको ढुंगा माटोले बनेको दुई तले कच्ची जोखिममा परेका छन्।

जोखिममा परेका घरहरूको अनुगमन गरी सम्बन्धित निकायसँग समन्वय गरी चिरा परेको सडक यथाशीघ्र मर्मत  गर्ने र जोखिममा रहेका घरहरूलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने पहल भइरहेको पनि प्रहरी प्रमुख काफ्लेले जानकारी दिए।

सडक भासिएपछि स्थानीयको बस्ती नै जोखिममा परेको खबर आएपछि कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल, प्रहरी प्रमुख काफ्ले, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक धर्मराज खत्री र प्रहरी चौकी डांडिगुराँसेबाट गएको संयुक्त टोलीले जोखिम घरका नागरिकलाई सुरक्षित स्थानमा सार्न पहल गरिएको बताइएको छ। 

पानीले सडक चिरा परेर भासिँदा उक्त स्थानमा सवारी साधनहरू समेत एकतर्फी मात्र आवतजावत भई रहेको बताइएको छ। यसैबीच सिन्धुलीको कमलामाई नगरपालिका-१ डाँडी गुराँसेको कोप्चे स्थित सिमले गाउँ जमिन फाटेर चिराचिरा हुँदा स्थानीय बस्ती जोखिममा परेको छ। लगातारको वर्षाका कारण जमिन नै फाटेर चिराचिरा हुँदा सिंगो कोप्चे सिमले गाउँ जोखिममा परेको छ। 

पहिरोका कारण जमिन नै फाट्दा स्थानीय हायुको १५ घर जोखिममा परेको स्थानीय ज्ञानबहादुर हायुले जनाए। ज्ञानबहादुरका अनुसार उनको सहित चार घर परिवार बस्नै नमिल्ने गरी घरभित्रैबाट जमिन चिराचिरा भएर फाटेको छ। जमिन फाट्दा स्थानीयका घरका खाँबाहरू समेत ढल्किएका छन्। गाउँ नै जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको वडाध्यक्ष नरेश गोलेले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.