मोरङमा २ नाबालिका मृत्यु प्रकरण : झापामा भेटिइन् आमा

मोरङमा २ नाबालिका मृत्यु प्रकरण : झापामा भेटिइन् आमा
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा झापामा फेला परेकी छन् । मृत फेला परेका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले बुधबार बिहान फेला पारेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । 

प्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला परेका थिए । तर, आमाको अवस्था हालसम्म अज्ञात थियो । 

स्थानीय र प्रहरीले निरन्तर खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । उनीहरुका नाबालिका छोरीहरु आइका र अपर्णा सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए ।

पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नीको विवाद भएपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएको जानकारी प्रहरीले पाएको थियो । नाबालिकाहरु भोलिपल्ट मृत फेला परे पनि आमा हालसम्म बेपत्ता थिइन् । 

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । तर, अस्मिता भने जीवितै रहेको पुष्टि भएको छ । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भइसकेको छैन ।  

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट आइनसकेका कारण पुष्टि भइसकेको छैन । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । 

प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको प्रहरीले जनाएको छ । 

डीएसपी बस्नेतले अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको बताए । अनुसन्धानपछि वास्तविकता खुल्ने उनले बताए । भने, ‘नाबालिकाहरुको मृत्यु के कारणले भयो र आमा कसरी झापा पुगिन् भन्नेलगायतका कुरा पत्ता लगाउन विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । धेरै दिन खाना नखाएकाले शारीरिक अवस्था कमजोर छ । आँखा पनि रातो छ ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.